ad ad

समाज


कैलालीका केही स्थानीय तहले दिए माघीमा ३ दिनसम्म बिदा

कैलालीका केही स्थानीय तहले दिए माघीमा ३ दिनसम्म बिदा

नेपालखबर
पुस २९, २०७७ बुधबार ३:२३,

माघी पर्वको अवसरमा कैलालीका स्थानीय तहले आ–आफ्नै तवरले बिदा दिएका छन्। कैलालीका केही पालिकाले दुई त केही पालिकाले तीन दिनसम्म बिदा दिने निर्णय गरेका छन्।

कैलालीको भजनी नगरपालिका, जानकी गाउँपालिकाले दुई दिन अर्थात् माघ १ र २ गते सार्वजनिक बिदा दिने निर्णय गरेका छन् भने कैलारी र जोशीपुर गाउँपालिकाले तीन दिन बिदा दिने निर्णय गरेका छन्।

सरकारले यसअघि नै माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ। सरकारी निर्णयपछि कैलालीका केही पालिकाले थप एक वा दुई दिन बिदाको निर्णय गरेका हुन्। कैलारी गाउँपालिकाले पुस २९, माघ १ र २ गते गरी तीन दिन बिदा दिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशीले जानकारी दिए।

यता जोशीपुर गाउँपालिकाले भने १, २ र ४ गते बिदा दिएको गाउँपालिकाका अधयक्ष रामकृष्ण चौधरीले बताए। कैलालीका केही पालिकामा थारू बाहुल्यता भएको क्षेत्र भएकाले थारू समुदायले माघीमा तीन दिन बिदा दिनुपर्ने माग गरेका थिए।

‘एक दिन बिदा पर्याप्त भएन भनी माग गरेपछि हामीले थप दुई दिन बिदा दिने निर्णय गरेका हौँ’, जोशीपुर गाउँपालिकाका अध्यक्ष चौधरीले भने, ‘माघीमा थारू समुदायमा महत्वपूर्ण निर्णय, नयाँ कामको योजना बन्ने भएकाले हामीले बिदा थपेका हौँ।’

थारू समुदायमा माघीको अवसरमा गाउँमा बडघर भल्मन्सा छनोट गर्ने, गाउँमा अर्को वर्ष गरिने कामका वार्षिक योजना बनाउने काम हुन्छ। यसका साथै समुदायका समस्याबारे छलफलसमेत हुने भएकाले यो पर्व महत्वपूर्ण रहेको टीकापुरका छेदुलाल चौधरीले बताए।

‘माघीमा घर छुट्टिनेहरुको भागबण्डासमेत हुने चलन छ। यो पर्वसँग धार्मिक, पारिवारिक र सामाजिक महत्व जोडिएको छ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .