ad ad

समाज


अब सवारी चलाउने लाइसेन्स सजिलै लिन सकिने, ट्रायल परीक्षामा गरिँदैछ यस्तो फेरबदल

अब सवारी चलाउने लाइसेन्स सजिलै लिन सकिने, ट्रायल परीक्षामा गरिँदैछ यस्तो फेरबदल

नेपालखबर
पुस २९, २०७७ बुधबार २:३२,

सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिने मापदण्ड परिवर्तन गर्ने तयारी गरेको छ।

ट्रायल (प्रयोगात्मक परीक्षा) जटिल हुँदा लाइसेन्स लिनकै लागि बिचौलियालाई घुस खुवाउनुपर्ने विकृतिको अन्त्य नभएपछि यातायात व्यवस्था विभागले लाइसेन्सको प्रयोगात्मक परीक्षा निर्देशिका परिवर्तन गर्ने तयारी गरेको हो।

विभागले लाइसेन्स प्राप्त गर्ने अहिलेको कडा मापदण्ड परिमार्जन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव पेश गरेको छ।

सवारी चालक अनुमतिपत्र लिन लिखित र प्रयोगात्मक दुबै परीक्षा उतीर्ण हुनुपर्छ। हालको मापदण्ड अनुसार लिखितमा ५० प्रतिशत अंक प्राप्त गरे पनि उतीर्ण हुने व्यवस्था छ। तर ट्रायलमा भने तोकिएका सबै प्यारामिटर सतप्रतिशत पार गर्नुपर्ने प्रावधान छ।

जसको कारण ट्रायलमा धेरै फेल हुँदै आएका छन्। ट्रायलमा फेल हुनेले बिचौलियालाई मागे जति रकम दिएर लाइसेन्स बनाउने गरेको पाइन्छ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालका अनुसार बिचौलियालाई रकम दिएर लाइसेन्स बनाउने विकृति रोक्न सवारी चालक अनुमतिपत्र लिने मापदण्ड परिवर्तन गर्न लागिएको हो।

यसको तयारी अन्तिम चरणमा पुगेको उनले जानकारी दिए। ‘हालको मापदण्डअनुसार लाइसेन्स लिने प्रक्रियामा सामेल २५ प्रतिशत मात्र पास हुँदै आएका छन्। अब लागू गर्न खोजिएको नयाँ मापदण्ड अनुसार ६० प्रतिशत परीक्षार्थी पास हुनेछन्,’ हमालले भने।

ट्रायलमा विभिन्न प्यारामिटर तोकिएका छन्। सबै पार गर्नेले मात्रै लाइसेन्स पाउने व्यवस्था छ। कुनै एउटामा थोरै त्रुटी गर्नेबित्तिकै परीक्षार्थी फेल हुने व्यवस्था छ। अब ट्रायलका विभिन्न प्यारामिटरलाई निश्चित अंकभर दिएर नम्बरिङ गर्ने र कुनै एउटामा फेल हुँदा अर्कोमा पास हुन समस्या नहुने गरी नयाँ व्यवस्था गर्न लागिएको हमालले बताए। ‘उनले भने, ‘नयाँ व्यवस्थाअनुसार सबैको नम्बर जोड्दै जाँदा कम्तिमा ६० नम्बर ल्याउने परीक्षार्थी पास हुनेछन्।’

हालको व्यवस्था अनुसार सडकमा राम्रो सवारी चलाउन नसक्नेले पनि ट्रायलमा जाँदा सबै प्याराममिटर सजिलै पार गर्न नसक्ने अवस्था छ। ‘ड्राइभिङ सेन्टरमा पाँच दिन सिक्ने बित्तिकै त्यस्ता परीक्षार्थीले सजिलै ट्रायल उतीर्ण गर्ने गरेका छन्। तर, उनीहरु सडकमा सवारी चलाउन निपूर्ण भने हुँदैनन्। सडकमा राम्रो सवारी चलाउनेलाई ट्रायलमा एउटा सामान्य गल्ती गरेकै आधारमा फेल गर्नु जायज होइन भन्ने मान्यताअनुसार यस्तो व्यवस्था गर्न लागिएको हो,’ हमालले भने।

अब प्रयोगात्मक परीक्षामा गाह्रो मानिने प्यारामिटरलाई बढी अंकभार र सजिला प्याराममिटरलाई कम अंकभार छुट्याइनेछ। त्यसका आधारमा तयार हुने १०० पूर्णाङ्कमा कम्तिमा ६० प्रतिशत अंक ल्याउनेले चालक अनुमतिपत्र पाउने छन्।

ट्रायलमा फिंगर टेस्ट, एट (८), न्यारो प्ल्यान्क टेस्ट, यू टर्न टेस्ट, ट्राफिक लाइट टेस्ट, स्पिट ब्रेकर टेस्ट, र्‍याम्प टेस्ट, ग्यारेज पार्किङ टेस्ट लगायतका प्यारामिटर राखिएको छ। अब ती सबै प्यारामिटरलाई फरक-फरक अंकभर दिएर परीक्षा लिइनेछ। त्यसमध्ये कुनै प्यारामिटरमा गल्ती गरेपनि तोकिएको अंकभार (६० प्रतिशत) पार गर्ने व्यक्तिले लाइसेन्स पाउने छ।

त्यसैगरी विभागले लिखित परीक्षाको ढाँचा पनि केही परिवर्तन गर्ने तयारी विभागले गरेको छ। त्यसका लागि ५ सय वा एक हजार प्रश्नका सेट सुरूमै सार्वजनिक गर्ने हमालले बताए। त्यस्तै विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन आवेदन फारम भर्न लागू गरिएको कोटा सिस्टम पनि हटाउने तयारी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .