ad ad

समाज


चितवनका लागि प्रचण्ड-विरोधी एसपी खोज्न हेडक्वार्टरलाई दबाब

चितवनका लागि प्रचण्ड-विरोधी एसपी खोज्न हेडक्वार्टरलाई दबाब

उजिर कार्की
पुस २२, २०७७ बुधबार १५:०,

२०७६ पुस ४ गते प्रहरी प्रधान कार्यालयले २४ प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरिएको सूचना निकाल्यो। २२ एसपीले सरुवा भएको ठाउँमा पुगेर काम सुरु गर्दा पनि चितवनबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा भएका दानबहादुर मल्ल डेग चलेनन्।

पुष्पकमल दाहाल प्रचण्डको पूर्व पीएसओ (पर्सनल सेक्युरिटी अफिसर) मल्लले त्यही आडमा आफ्नै नेतृत्वको निर्देशन अटेर गरे। हेडक्वार्टरको पुनः निर्देशनपछि मात्रै उनी सरुवा भएको स्थान विमानस्थल आउन तयार भए। उता एसपी गंगा पन्त भने चाहेर पनि सरुवा भएको स्थान चितवनमा जान पाइनन्।

कारण थियो, उनलाई प्रचण्डले नरुचाउनु। त्यसैले पन्तलाई पछि काजमा पर्सा सरुवा गरेर नान्तिराज गुरुङलाई चितवन पठाइएको थियो। त्यतिबेला प्रहरीभित्र प्रचण्डको राम्रै प्रभाव थियो।

त्यतिबेला पर्साबाट काठमाडौं सरुवा भएका सोमेन्द्रसिंह राठौर फेरि मकवानपुर प्रहरी प्रमुखमा सरुवा भएका छन्। पर्सा प्रमुख भएकी पन्त केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) आइन्।

हालका प्रहरी महानिरीक्षक शैलेश थापाले भन्ने गरेका छन्, ‘संगठनका सरुवा बढुवामा बाहिरबाट दवाव दिन पाइने छैन।’ उनले आफ्नो कार्ययोजनामा पनि यस्तो उल्लेख गरेका थिए। तर काम भने कार्ययोजनाभन्दा ठिक उल्टो गरिरहेको हालको सरुवाले देखाउँछ।

मंगलबार प्रहरी महानिरीक्षकले ३० एसपीलाई सरुवा गरेका छन्। झापामा प्रधानमन्त्री केपी ओलीका पूर्व पीएसओ सानुराम भट्टराईलाई सरुवा गरिएको छ।

२०७५ जेठमा एसपीमा बढुवा भएका भट्टराई त्यसअघि ओलीका पीएसओ थिए। यो दुई वर्षको बीचमा दुई जिल्लाको इन्चार्ज पाउनुमा भट्टराईलाई ओलीकै आशीर्वाद छ। यसअघि बारा जिल्लाको प्रमुख भएका भट्टराई हाल अख्तियारमा कार्यरत थिए। झापामा कार्यरत कृष्णप्रसाद कोइरालालाई महानगरीय अपराध महाशाखामा सरुवा गरिएको छ।

ओलीका पूर्वपीएसओले पुनः जिल्ला इन्चार्ज पाउँदा प्रचण्डका पूर्वपीएसओ दानबहादुर मल्ल भने विमानस्थलमै थन्किएका छन्। उनीसँगै सरुवा भएका एसपीहरुले जिल्ला इन्चार्ज पाइसकेका छन्।

दानबहादुर मल्लको मात्रै सरुवा रोकिएको होइन। यसपटकको सरुवामा प्रचण्डको गृह जिल्ला चितवन नै छुटेको छ। सँगै सरुवा गरिएका अन्य जिल्लाका प्रहरी प्रमुख परिवर्तन भएका छन्।

श्रोतका अनुसार चितवनमा कसलाई पठाउने भन्ने विषयमा हेडक्वार्टर उचित पात्र खोजिरहेको छ। चितवन जान केही अधिकृतले जोडबल गरिरहेका थिए। तर हेडक्वार्टरलाई यतिबेला चितवनमा पठाउने प्रहरी प्रचण्डको ‘एन्टी’ हुनुपर्ने दबाब रहेको श्रोतले बतायो।

प्रचण्डले चाहेको पात्र खोजिने चितवनमा यसपटक उनले नचाहेको पात्र हेरिने हेडक्वार्टर श्रोत बताउँछ। जसका कारण सरुवा हुन नसकेको हो।

यसपटकको सरुवामा प्रधानमन्त्रीनिकट नेता, उच्च प्रहरी अधिकारीसँगै, आईजीपी थापा र एआईजी निरज शाहीको बोलवाला चलेको छ।

सिरहा प्रमुखबाट सात महिनापहिले मात्रै सीआईबी आएका उमाप्रसाद चतुरवेदी पनि कन्चनपुर प्रहरी प्रमुखमा सरुवा भएका छन्। तर एक वर्ष बढी हुँदा पनि ईश्वर कार्की र रेवती ढकालको भने सरुवा हुन सकेको छैन।

सरुवा बढुवामा शक्ति केन्द्र धाए कारबाही गर्ने चेतावनी दिएका आईजीपी थापा आफैं शक्ति केन्द्रको दबाबमा अपारदर्शी काममा संलग्न रहेको प्रहरीहरुको गुनासो छ।

प्रहरी महानिरीक्षक थापाले मंगलबार ६९ डीएसपी र ३० एसपीको सरुवा गरेका थिए। जसमा विवादित प्रहरीलाई आकर्षक स्थान दिएको गुनासो छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .