ad ad

समाज


संस्कृत क्याम्पसमा १७ प्राध्यापक १९ विद्यार्थी, किन घट्दैछ आकर्षण?

संस्कृत क्याम्पसमा १७ प्राध्यापक १९ विद्यार्थी, किन घट्दैछ आकर्षण?

गोकुल जोशी
साउन १५, २०७६ बुधबार ९:७,

पछिल्लो समय संस्कृत शिक्षाप्रतिको आकर्षण घट्दै गएको छ। संस्कृत पढाइ हुने विद्यालय तथा कलेजमा संस्कृत अध्ययन गर्ने विद्यार्थी संख्या ज्यादै कम छन्। 

सुदूरपश्चिम प्रदेशको एक मात्र संस्कृत भाषाको पढाइ हुने नेपाल संस्कृत विश्वविद्यालयको आंगिक क्याम्पस शारदा विद्यापीठ महेन्द्रनगरमा शिक्षक र विद्यार्थी करिब बराबर छन्। संस्कृत भाषा, भाषाहरूको जननी भएपनि संस्कृत शिक्षाका बारेमा गलत बुझाइले संस्कृत शिक्षाप्रतिको आकर्षण घट्दै गएको जानकारहरू बताउँछन्।

‘यो बिषयलाई कुनै वर्ग विशेषले मात्रै पढ्नुपर्छ भन्ने मान्यताले पनि यसप्रतिको आकर्षण घट्दै गएको छ। संस्कृत शिक्षामा भएका सकारात्मक कुराको प्रचारप्रसार नहुनाले पनि संस्कृत शिक्षाप्रतिको आकर्षण घट्दैछ’, शारदा विद्यापीठका श्याम प्रसाद पण्डितले भने, ‘संस्कृत शिक्षा पढ्नु हुँदैन भनेर द्वन्दकालमा किताब जलाउने काम पनि भए। यसले गर्दा संस्कृत विषय पढ्ने विद्यार्थीको संख्या क्रमशः न्यून हुँदै गयो।’

संस्कृत शिक्षाले नेपाली भाषाको पठन र लेखनमा समेत शुद्धता ल्याउने भएपनि संस्कृत शिक्षा पढ्नेको संख्या घटेसँगै शुद्धसँग नेपाली भाषाको पठन र लेखन गर्न सक्ने नागरिक पनि घट्दै गएका छन्।
‘संस्कृत शिक्षामा नैतिकता र अनुशासनका पाठ भएकाले संस्कृत पढेका विद्यार्थी अन्यको तुलनामा सभ्य र शालिन हुन्छन्। संस्कृत शिक्षाले समाजमा योग्य नागरिक उत्पादनमा जोड दिन्छ’, आचार्य तर्कराज भट्टले भने, ‘संस्कृत भनेको भाषा हो। यो भाषाको उपयोगिताको बारेमा धेरैले नबुझ्दा यो प्रतिको आकर्षण घट्दै गएको छ।’ उनले भने, ‘संस्कृत शिक्षाको महत्वका बिषयमा बुझाउन नसक्दा पनि विद्यार्थीको आकर्षण घट्दै गएको हो। हिन्दू धर्मका वेद पुराणलगायतका ग्रन्थ समेत संस्कृत भाषामा लेखिएका छन्। भोलिका दिन ती ग्रन्थहरू पढ्न सक्ने मानिस पाउन पनि गाह्रो हुन्छ। वेद विज्ञान पनि भएकाले वेदको अध्ययनका लागि संस्कृत शिक्षा अनिवार्य छ।’

संस्कृत शिक्षाले अनुशासन र नैतिकताको पाठ समेत सिकाउने गरेको यसका जानकारहरू बताउँछन्। ‘पछिल्लो समयमा गुरु र चेलाको सम्बन्ध बिग्रँदै गएको छ। यसको मुख्य कारण संस्कृत शिक्षा, नैतिक शिक्षा जस्ता विषयको पढाई नहुनु पनि हो’, आचार्य केशवदत्त अवस्थीले भने, ‘समाजलाई सत्मार्गमा डोर्याउन संस्कृत शिक्षा अनिवार्य छ। यो भाषाको विषयमा सबैलाई जानकारी गराउन सकियो भने यसले समाजलाई सकारात्मक दिशामा अघि बढाउन मद्दत गर्दछ।’

१७ प्राध्यापक, १९ विद्यार्थी

वि.सं. २०४८ मा स्थापना भएको शारदा विद्यापीठमा विद्यार्थीको संख्या ज्यादै न्यून छ। शारदा विद्यापीठमा संस्कृत भाषा अध्ययन गर्ने विद्यार्थीको संख्या मात्र १९ जना रहेको छ। कलेज प्रशासनका अनुसार शास्त्री प्रथम वर्षमा १३ जना, द्धित्तीय वर्षमा ४ जना र तृतीय वर्षमा २ जना गरी जम्मा १९ जना मात्र विद्यार्थी रहेका छन्। जसमध्ये पनि अधिकाँस नियमिति कलेज नआउने रहेका छन्।

हालसम्म दुई जनाभन्दा बढी विद्यार्थी नियमित विद्यालयमा उपस्थित भएका छैनन्। कलेज प्रशासनका अनुसार ती १९ जना विद्यार्थीलाई पढाउनका लागि १७ जना प्राध्यापक रहेका छन्। ११ जना स्थायी तथा ६ जना अस्थायी आंशिक प्राध्यापकहरु रहेका छन्। बिगतको तुलनामा संस्कृत भाषा अध्ययन गर्ने विद्यार्थीेको संख्या घट्दै गएको छ। संस्कृत अध्ययन गर्ने विद्यार्थीको संख्यामा नै कमि आउन थालेपछि प्राध्यापकहरुले समेत मन लगाएर पढाउन आनाकानी गर्ने गरेको शारदा विद्यापीठका विद्यार्थी भानदेव भट्टले बताए।

‘विद्यार्थीको संख्या नै कम छ, त्यसमा पनि नियमित रुपमा कोही आउँदैनन्। एक दुई जना मात्र विद्यार्थी हुन्छौँ।’ उनले भने, ‘विद्यार्थी नै कम भएपछि शिक्षकहरुलाई समेत पढाउन अल्लि मन नलाग्ने गरेको छ।’ संस्कृत शिक्षाप्रति विद्यार्थीहरुको आकषर्ण घट्दै जाँदा विद्यार्थीको संख्या स्वतः घटेको हो।

उत्तरमध्यमाका कक्षा खारेज गरे पश्चात् आधारभूत संस्कृतका विद्यार्थी उत्पादन हुन छाडेपछि संख्या घट्दै गएको हो। यस्तै नेपाली बजारमा संस्कृत सम्बन्धी पुस्तकहरु सजिलै उपलब्ध नहुने भएकाले समेत विद्यार्थीको कमि रहेको बताइन्छ। संस्कृत बिषयप्रति युवापुस्ताको आकर्षण थोरै रहेको छ। संस्कृत बिषय अध्ययन गर्नेहरु युवा भन्दा पनि पाको उमेरका बढी रहेका छन्।

दोहोरो प्राध्यापनको समस्या

भीमदत्त नगरपालिका–४ महेन्द्रनगरस्थित शारदा विद्यापीठमा विश्वविद्यालय दोहोरो प्राध्यापकनको समस्याले ग्रसित छ। दोहोरो तथा तेहोरो प्राध्यापनले ग्रसित शारदा विद्यापीठका अधिकाँस स्थायी प्राध्यापकहरु नियम विपरित जिल्लाका अन्य कलेजमा अध्यापन गराउने, प्रमुख जिम्मेवार पद सम्मालेका पाइएका छन्। जसले गर्दा संस्कृत भाषा अध्ययनका लागि सुदूरपश्चिमको प्रमुख थलोका रुपमा रहेको शारदा विद्यापीठ थला परेको छ। कलेजका अनुसार स्थायी दरबन्दीधारी ११ जना प्राध्यापकहरुमध्ये अधिकाँस प्राध्यापकहरु अन्य कलेजमा अध्यापन गराउने तथा अन्य कलेज, विद्यालयको नेतृत्व लिएका भेटिएका छन्। यद्यपि नियमानुसार कुनै पनि स्थायी प्राध्यापकहरुले अन्य कलेजमा अध्यापन अथवा जिम्मेवार पद सम्हाल्न पाउँदैनन्।

कलेजका प्राध्यापकहरु समयमा कलेज नआउने, आएपनि नपढाउने, हाजिर लगाउन मात्र आउने, हाजिर लगाएर जाने गरेको विद्यार्थीहरुले गुनासो गरेका छन्। ‘हाजिर लगाउन मात्र शिक्षक आउँछन्। कलेजमा आएर पनि एक घण्टीको थोरै पढाएर जान्छन्।’ एक जना विद्यार्थी योगेश भट्टले भने, ‘कस्तो अचम्म, आज सम्म मैले कलेजका सम्पूर्ण प्राध्यापकलाई देखेको छैन। फागुनमा परीक्षा हुन्छ, आजसम्म पनि अंग्रेजी बिषय पढाइनै भएको छैन।’

कलेजका स्थायी प्राध्यापकहरुले अन्य कलेजमा समेत अध्यापन गराइरहेको प्राचार्य भोजराज जोशी स्वीकार्छन्। विश्वविद्यालयबाट नै स्वीकृति लिएर कलेजमा असर नपर्ने गरी अध्यापन गर्न दिने बारेको पत्र लिएर नै प्राध्यापकहरुले अन्यत्र समेत अध्यापन गराइरहेको उनले दाबी गरे।

‘कलेजका आफ्ना बिषयलाई असर नपर्ने गरी बाहिर समेत पढाउन पाउने बारे विश्वविद्यालयबाट स्वीकृति सहित पढाइरहेका हुन।’ उनले भने, ‘यताको बिषयलाई केही असर पारेको छैन।’ यद्यपि कलेजका स्थायी शिक्षकहरु आफ्नो कलेजलाई उपेक्षा गर्दै बाहिर पढाउने कलेज तथा संस्थाको प्रचार प्रसारमा समेत लिप्त रहेको विद्यार्थीहरुको आरोप छ। प्राध्यापकहरु सबै आफ्नो समयमा नै आउने तर विद्यार्थी संख्या न्यून तथा नियमित उपस्थित नहुने भएकाले कहिले काँही केही बिषय पढाइ नहुने गरेको प्राचार्यको दाबी छ।

हाजिर लायो, तलब खायो!

शारदा विद्यापीठमा विद्यार्थीको संख्या ज्यादै न्यून हुँदा प्राध्यापकहरुलाई ‘हाइ सन्चो’ भएको छ। कलेजका केही बिषयमा एक विद्यार्थी पनि नहुँदा प्राध्यापकहरु हाजिर लगाएर मात्रै तलब बुझिरहेका छन्।

केही प्राध्यापकहरु आफ्नो बिषयका विद्यार्थी नहुँदा बेकामे जस्तै भएर तलब पचाइरहेका छन्। केही प्राध्यापकका बिषयका विद्यार्थी नहुँदा उनिहरु खाली रहेको कलेज प्रशासनले समेत स्वीकारेको छ। विद्यार्थी नभएर बसिबसि तलब बुझेर सरकारी ढुकुटी दुरुपयोग भइरहेकाले ती प्राध्यापकहरुलाई अन्यत्र नै व्यवस्थित गर्न जरुरी रहेको कलेज स्रोत बताउँछ।

 तलबबापत वार्षिक एक करोड बढी खर्च
कलेजमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरुमा वार्षिक झण्डै एक करोड भन्दा बढी रकम खर्च भइरहेको छ। कलेजमा कार्यरत स्थायी र अस्थायी गरी १७ जना प्राध्यापक तथा १२ जना स्थायी र २ करारका गरी १४ जना कर्मचारीमा झण्डै एक करोड पाँच लाख वार्षिक रुपमा खर्च भइरहेको कलेजका लेखा अधिकृत श्याम प्रसाद पण्डितले बताए। न्यून विद्यार्थी रहेको कलेजमा प्राध्यापकहरु विद्यार्थी नभएर खाली बसिरहँदा पनि वार्षिक एक करोड भन्दा बढी प्राध्यापक तथा कर्मचारीलाई तलबबापत खर्च भइरहेको छ।

राज्य गम्भीर हुनुपर्छः प्राचार्य जोशी

संस्कृत बिषयप्रतिको आकर्षण घट्दै गएका बेला शारदा विद्यापीठका प्राचार्य भोजराज जोशीले भने यसको जिम्मेवार सरकार रहेको बताएका छन्। सरकारले संस्कृत बिषयलाई महत्व दिँदै आधारभुत तह देखिनै पाठ्यक्रममा समावेश गर्नु पर्ने सुझाएका छन्। संस्कृत बिषयप्रति आकर्षण कम हुनुको प्रमुख दोषि सरकार रहेको उनको ठहर छ।

‘हालका युवाहरुको यस बिषयप्रति आकषर्ण छैन। यस शिक्षामा विश्वास नै छैन।’ उनले भने, ‘यस बिषयलाई पनि आधारभुत तहदेखि पाठ्यक्रममा समावेश गर्नु जरुरी छ।’ संस्कृत बिषय पढेकाहरुका लागि सरकारले छुट्टै व्यवस्था गर्दा यसप्रति सबैको लगाब बढ्ने उनको धारणा छ।

‘उत्तरमध्यमा भए केही विद्यार्थी हुन्थे, अहिले त यो पनि खारेज भएको छ। विद्यार्थी नै उत्पादन हुदैनन् भने संस्कृत पढ्ने कहाँबाट आउँछन्?’ उनले भने, ‘आधारभुत तहबाट नै बिषय समावेश भए विद्यार्थीहरु आफै उत्पादन हुन्छन्।’ संस्कृत बिषयप्रति युवापुस्ताको आकर्षण थोरै रहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .