समाज


५० प्रहरीको घेराबाट उम्किएका महताब आलम चौथो अप्रेसनमा यसरी परे पक्राउ

५० प्रहरीको घेराबाट उम्किएका महताब आलम चौथो अप्रेसनमा यसरी परे पक्राउ

उजिर कार्की
मंसिर २२, २०७७ सोमबार १४:२२,

आफ्नै कार्यकर्तालाई जिउँदै इँटा भट्टामा जलाएर पनि १२ वर्ष राजनीतिमा रजगज गरेका आफताब आलम गत वर्ष पक्राउ परेका थिए। हाल उनी पुर्पक्षका लागि कारागारमा छन्। तर, पूर्वमन्त्री आलमलाई भन्दा उनको भाइलाई पक्रिन प्रहरीलाई बढी मुस्किल पर्‍यो।

प्रहरीको चौथो प्रयासमा आइतबार राति भारतको मोतिहारीबाट आलमका भाइ महताब आलम समातिएका छन्। ५५ वर्षीय महताबलाई सोमबार बिहान नेपाल ल्याइएको छ।

यसअघि महताबलाई पक्राउ गर्न प्रहरीले तीन वटा अप्रेसन चलाएको थियो। तर, प्रहरी उनलाई पक्रिन असफल भएको थियो।

गत जेठ ८ गते राति १ बजे घर प्रहरीले आलमको घर घेरा हाल्यो। प्रदेश नं २ र सिमराबाट गरी डीएसपीको कमान्डमा ५० जनाको टोली अप्रेसनमा खटिएको थियो।

तर, प्रहरीले घरमा पस्नेबित्तिकै उनको परिवारका सदस्यहरु ‘चोर आयो चोर भन्दै’ चिच्याए। गाउँलेहरुले जम्मा भएर ढुंगा बर्साउन थाले। प्रहरीहरु आफ्नै ज्यान बचाउनतिर लागे। त्यसक्रममा प्रहरीले १२ राउण्ड हवाई फायर समेत गर्‍यो।

महताब भने सुटुक्क भाग्न सफल भए। त्यसपछि उनी नेपाल बसेनन्। तर, प्रहरीले महताबलाई भारतमा पनि पछ्याउन छाडेन।

प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) धिरजप्रताप सिंहले उनलाई पक्रिने जिम्मा दिएर एउटा टोली नै गठन गरे। त्यो टोलीले महताबको पिछा गरिरह्यो।

प्रहरीले भारतमा समेत महताबलाई पक्रिन दुई पटक छापा मारेको थियो। तर, दुवै पटक उनी उम्किन सफल भएका थिए।

गत साउनमा दिल्लीको एउटा अपार्टमेन्टमा महताब रहेको जानकारी पाएपछि स्थानीय प्रहरीसँग मिलेर प्रहरीले त्यहाँ छापा मार्‍यो।

‘तर, अपार्टमेन्ट ठूलो भएका कारण उनलाई फेला पार्न सकिएन,’ प्रहरी श्रोत भन्छ।

दिल्लीमा नेपाल प्रहरीको टोली सात दिन बसेको थियो।

गत असोजमा नेपाल प्रहरीको टोली उनलाई पक्राउ गर्न पटना पुग्यो। पटनामा उनी बस्ने घरमा स्थानीय प्रहरीसँग मिलेर छापा मारियो। तर, आलमले एक दिन पहिले नै त्यो घर छाडिसकेका रहेछन्।

पछिल्लो समय महताब मोतिहारीमा रहेको खबर पाएपछि डीआईजी सिंहले बिहार प्रहरीसँग सहकार्य बढाए। जसबाट पत्ता लाग्यो– महताब मोतिहारीको ब्लु डाइमन्ड होटलमा बसिरहेका छन्। त्यसपछि शुक्रबारदेखि नै त्यो होटल प्रहरीको निगरानीमा थियो।

आइतबार राति १० बजे प्रहरीले होटलमा छापा मार्‍यो। तीन जना बडीगार्डसहित बसेका महताब पक्राउ परे। त्यसपछि प्रहरीले उनलाई बिहान ३ बजे नै सीमा कटायो।

प्रारम्भिक अनुसन्धानम महताबले दाजु आफताव आलमको निर्देशनमा घटना लुकाउन विस्फोटमा परी मृत्यु भएका तथा घाइतेलाई ट्याकटरमा इँटाभट्टा लगेर जलाएको स्वीकार गरेको प्रदेश २ प्रहरीले जनाएको छ।

आलम दाजुभाइसहित ५ जनाविरुद्ध मृतकका परिवारले हत्याको आरोप लगाउँदै किटानी जाहेरी दिएका थिए। श्रीनारायण सिंह राजपुत र रोक्साना खातुनले आफ्ना छोरालाई जिउँदै जलाएर हत्या गरेको भन्दै जाहेरी दर्ता गराएका थिए।

आफताव र महताबका साथै मोहम्मद मोविन आलम, शेख भदई र शेख सेराजविरुद्ध जाहेरी परेको थियो।

  आफताव आलम

उनीहरूविरुद्ध ओसी अख्तर मिया र त्रिलोकप्रताप सिंह राजपुतलगायत दर्जनौं व्यक्तिलाई जिउँदै जलाएर मारेको अभियोग छ।

२०६४ चैत २८ गतेको संविधानसफा निर्वाचनको अघिल्लो साँझ उनका काकाको घरमा बम विस्फोट हुँदा केही नेपाली र भारतीय नागरिकको घटनास्थलमै ज्यान गएको थियो। बम पड्काएर चुनाव एकलौटी पार्ने नियतले उनीहरुले बनाउँदै गरेको बम विस्फोट भएको प्रहरीको भनाइ छ। तर, विस्फोटपछि घटना लुकाउन मृतक र घाइतेलाई उनीहरुले इँटाभट्टामा लगेर जलाएका थिए।

प्रहरीले घटनामा घाइते भएका १५/१६ जना घाइते र मृतक दुईतीन जनालाई इँटाभट्टामा जलाइएको बताएको छ।

घटना लामो समयसम्म गुपचुप राखिएकाले मृतकको संख्यासमेत एकिन छैन। घटना लुकाउन तत्कालीन प्रहरी प्रशासनदेखि सरकारी वकिलको कार्यालय र महान्यायाधिवक्ता कार्यालयको समेत संलग्नता रहेको पीडित परिवारको आरोप छ।

घटनाको दुई महिनापछि २०६५ असार १ गते शेख भदईलाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउपछि अदालतबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाइयो।

उनीविरुद्ध अनुसन्धान भइरहेकै बेला अन्य आरोपितहरू २०६५ असार ९ गते जिल्ला प्रहरी कार्यालयमा संयुक्त निवेदनसहित हाजिर भए। प्रहरीले सोही दिन पक्राउपूर्जी थमाएर बयान लियो।

बयान सकिएलगत्तै त्यही दिन पूर्वमन्त्री आलमसहित पाँचै जनालाई तत्कालीन मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नं विपरित १३ ९१० नं बमोजिमको परिभाषित कसुर अपराध गरेको भन्दै प्रतिवादीहरूलाई केस फाइलसहित जिल्ला सरकारी वकिलको कार्यालय रौतहटमा प्रहरीले पेस गरेको थियो।

तर, सरकारी वकिल कार्यालयको च.नं. ७५६ असार ९ गतेको पत्रले सबुत प्रमाणको अभाव देखाउँदै कोही कसैउपर मुद्दा नचलाउने निर्णय गरेपछि प्रतिवादीहरूलाई सोही दिन हाजिरी जमानीमा छाडिएको थियो।

२०६५ साउन २७ गते जिल्ला सरकारी वकिल कार्यालयको पत्र चलानी नं ६५ मा रोक्साना खातुन समेतको जाहेरीले उक्त मुद्दामा तत्काल प्रमाण नपुगेको र कर्तव्य देखिएमा पछि मुद्दा चलाउन सकिने भन्दै तत्काल कोही कसैविरुद्ध मुद्दा नचलाउने निर्णय गरी महान्यायाधिवक्ताको कार्यालयको चलानी नं ३७, २०७५ साउन २ गते मिसिल प्रहरीलाई नै फिर्ता पठाएको थियो।

त्यसपछि मृतकका परिवार श्रीनारायण सिंह राजपुत र रोक्साना खातुनले उत्प्रेषण समेतको रिट सर्वोच्च अदालतमा दर्ता गराए।

सर्वोच्च अदालतले २०६९ जेठ १६ गते महान्यायाधिवक्ता कार्यालयबाट समेत भएको निर्णय बदर गर्दै मुद्दाको गम्भीर रुपले अनुसन्धान गरी बुझ्नु पर्ने थप बुझी प्रचलित कानुनबमोजिम कारबाही गर्नु भन्दै आदेश दियो। त्यसपछि उक्त घटनामा संलग्नहरु कारबाहीको दायरामा आएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad