ad ad

समाज


नेपालले ६० लाख डोज कोरोना खोप निःशुल्क पाउने

नेपालले ६० लाख डोज कोरोना खोप निःशुल्क पाउने

यज्ञराज जोशी
मंसिर २१, २०७७ आइतबार ८:११,

नेपालले कोभ्याक्स सुविधाबाट ६० लाख डोज कोरोना खोप निःशुल्क पाउने भएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ), युनिसेफ, खोपको विश्वव्यापी गठबन्धन (गाभी), सेपी (द कोलिसन अफ इपिडेमिक प्रिपेर्डनेस इनोभेसन्स)ले संयुक्त रुपमा कोभ्याक्स सुविधा निर्माण गरेका हुन्।

कोरोना भाइरसविरुद्धको खोप निर्माणपछि त्यसमा सबै देशको समान पहुँच होस् भन्ने उद्देश्यसहित सो संयन्त्र गठन गरिएको हो।

‘कोभ्याक्सले नेपाली जनसंख्याको २० प्रतिशतलाई खोप दिने भनेको थियो। त्यो भनेको ६० लाख हुन्छ,’ स्वास्थ्य मन्त्रालयको कोभिड खोप सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतीले भने, ‘त्यो बराबरको खोप उसले हामीलाई निःशुल्क उपलब्ध गराउने भएको छ।’

यसअघि कोभ्याक्सले सहुलियत दरमा खोप उपलब्ध गराउने जनाएको थियो। कोभ्याक्सले सहुलियतमा प्रतिखोप १.६ देखि २ डलरसम्म उपलब्ध गराउने जनाएको थियो। तर, पछिल्लो समय नेपाललाई कोभ्याक्सले निःशुल्क खोप उपलब्ध गराउने निर्णय गरेसँगै करोडौं रुपैयाँ जोगिने खोपविज्ञ उप्रेतीले बताए।

नेपालले कोभ्याक्सलाई आवेदन पत्रसमेत बुझाई सकेको छ। कोभ्याक्सले डिसेम्बर ७ सम्म नेपाललाई खोप आपूर्तिका लागि आवश्यक सम्पूर्ण विवरणसहितको आवेदन प्रस्ताव माग गरेको छ।

‘हामीले तीन दिनअघि नै सम्पूर्ण विवरणहरु कोभ्याक्सलाई बुझाई सकेका छौं’, उप्रेतीले नेपालखबरसँग भने, ‘त्यसमा उनीहरुले उपलब्ध गराउने जनसंख्या कति हुन्छ। त्यसमा को–को हुन्छन्? भण्डारण गर्ने क्षमता के छ? भ्याक्सिन आयो भने नेपालमा प्रयोग गर्ने कानुनी अवस्था कस्तो छ? भन्ने कुरा समेटिएको छ।’

कोभ्याक्स फेसिलिटीले अहिलेसम्म अक्सफोर्ड, सेनोफी र सेरम इन्स्टिच्युटसँग खोपको सम्झौता गरिसकेको छ। उक्त खोप उपलब्ध हुनेबित्तिकै पहिलो खेपमा नेपालले पाउनुपर्ने दाबी आफूले आवेदनमार्फत् गरेको उप्रेतीले बताए।

कोभ्याक्सलाई बुझाएको आवेदनमा नेपालले पहिले स्वास्थ्यकर्मी, केही सुरक्षाकर्मी, ५५ वर्षमाथिका जेष्ठ नागरिक र ४४ देखि ५५ वर्षका दीर्घरोगीलाई प्राथमिकता दिइने उल्लेख गरेको छ।

नेपालले १५ वर्षमुनिका २८ प्रतिशत बालबालिकालाई छाडेर ७२ प्रतिशत नागरिकलाई खोप दिनुपर्ने आँकलन गरेको छ। कोभ्याक्सले प्रतिबद्धताभन्दा बढी खोप उत्पादन भए आवद्ध देशहरुलाई थप खोप दिने पनि जनाएको छ।

अहिलेसम्म खोप निर्माण सुरु गरेको घोषणा गर्ने कम्पनीमा फाइजर–बायोएनटेक, अक्सफोर्ड–एस्ट्राजेनेका र मोर्डना छन्। अक्सफोर्डले निर्माण गरेको खोप २ देखि ८ डिग्री र बाँकी दुईका खोप माइनस २० देखि ७० डिग्री तापक्रममा राख्नुपर्छ।

नेपालले कोभ्याक्सलाई पठाएको आवेदनमा माइनस २ देखि २० डिग्री तापक्रममा राख्न मिल्ने खोपलाई प्राथमिकता दिएको छ। डा. उप्रेतीका अनुसार माइनस २ देखि २० डिग्री तापक्रममा राख्ने खोप उपलब्ध भए नेपालले अहिलेकै पूर्वाधारले धान्छ।

माइनस २० डिग्री तापक्रममा राख्नुपर्ने खोपका लागि पूर्वाधारलाई सुदृढीकरण गर्नुपर्ने हुन्छ। तर माइनस ७० डिग्रीमा राख्नुपर्ने खोपका लागि नेपालसँग पूर्वाधार नभएको कुरा आवेदनमा समेटिएको उनले बताए।

उप्रेतीका अनुसार अब पाँच महिनाभित्र कोभ्याक्स सुविधामार्फत नेपालले कोरोना भाइरसविरुद्धको खोप प्राप्त गर्ने विश्वास गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .