चीनको आन्हुई प्रान्तको हपेईमा बिहे गरेर बसेकी नेपाली चेली सकुन्तला राई शनिबार दिनभर व्यस्त रहिन्। उनको व्यस्तता अरुबेला भन्दा पृथक थियो। सेल पकाउने र घरलाई सयपत्री फूलले सिँगार्ने उनको व्यस्तताले चीनमा पनि तिहार आएको छनक दिएको छ। उनले शुक्रबार नै सेलरोटी पकाएकी थिइन्। शनिबार बिहानदेखि आलुको तरकारी, अकबरे खुर्सानी हालेको अचार, पुरी पकाएर थुप्रै परिकार तयार बनाइन्।
शनिबार दिनभर पकाएका परिकार खुवाउने उनले साँझ चिनियाँ साथीहरुलाई बोलाएकी थिइन्। उनका चिनियाँ महिला साथीहरु एक दर्जनजति भेला भए। चिनियाँहरुलाई तिहारका अवसरमा सकुन्तलाले सेलरोटी खुवाउँदै लक्ष्मी पूजा गरिन्। सबैलाई सयपत्रीको फूलको माला लगाइ दिइन्। अनि उनको आँगनमा घन्कियो ‘तिहारै आयो लौ झिलीमिली ... ।’
तिहारका अवसरमा नेपालीका घरघरमा घन्किने यो लोकप्रिय गीत चिनियाँका घरमा पनि घन्किँदा छिमेकीहरु अचम्म मान्दै सकुन्तलाको घरतिर भेला भए। उनले चिनियाँहरुलाई कम्मर मर्काइ मर्काइ नेपाली गीतमा नाच्न सिकाइन्।
गीतमा रमाइलो माने पनि चिनियाँका लागि नेपाली नृत्य निकै कठिन थियो। कठिन भए पनि फास्ट बिटमा चल्ने भएर नाच्न सजिलो थियो।
त्यसपछि बजेको गीत ‘भैलेनी आयौँ आँगन गुन्यू चोलो मागन’ बोलको गीत स्लो बिटमा भएकाले चिनियाँलाई नाच्न अझ कठिन भयो। उनीहरुले नेपाली नृत्यका स्टेपहरु अपनाउन सकेनन् र चिनियाँ स्टाइलमा नाच्न थाले। नेपाली गीतमा चिनियाँ तरिकाको नृत्य गजब्बको सांस्कृतिक संगम।
नेपालको समयभन्दा चीनको समय दुई घण्टा १५ मिनेट चाँडो भएकाले सकुन्तलाले लक्ष्मीपूज्दा चीनको छ बजे अर्थात् नेपालको चार नबज्दै गरिसकेकी थिइन्। दुई घण्टा चिनियाँलाई नचाएर उनले बेलुका नौ बजे चिनियाँ पाहुनाको विदाइ गरेको सुनाइन्।
त्यसो त सकुन्तला आफैँ नेपाल र चीनबीचको सांस्कृतिक संगमको नमूना हुन्। सन् २००८ मा उनी चिनियाँसँग प्रेम बिबाह गरी चीनमा आएर बस्न थालेकी हुन्। सोलुखुम्बुकी सकुन्तलाले माइतिदेशबाट सयपत्री फूल, अकबरे खुर्सानी, कोदो लगायतका थुप्रै बालीनाली ल्याएर रोपेकी छन्।
आफ्ना कामको चिनियाँले प्रशंसा गरेको र आफ्नो माइतिगाऊँ सम्झाउने केही कोसेली पनि आफूले ल्याएको बताउँछिन्। उनले दशैँ, तिहार र तीजमा चिनियाँसँग नाचगान गरेर नेपाली संस्कृति चिनियाँलाई परिचय गराउने प्रयास गर्दै आएकी छन्।
सकुन्तलाले पकाएका सेल र उनेका सयपत्रीका मालाहरु आन्हुई प्रान्तदेखि सयौँ किलोमिटर टाढा रहेको चच्याङ प्रान्तको निङपोमा रहेकी माया मगरलाई ख्वाइती गरेर पठाइदिइन्। चीनमा सामान ढुवानी गर्ने कार्यलाई ख्वाइती भनिन्छ र निजी क्षेत्रका कयौँ ख्वाइती कम्पनीहरु चीनमा छ्यासछ्यास्ती छन्।
चिनियाँ भाषामा ‘ख्वाइ’ भनेको चाँडो र ‘ती’ भनेको पुर्याउनु हुन्छ। ती कम्पनीहरुले सस्तो मूल्यैमा एक दुई दिनमै चीनभरी सामान पुर्याउने गर्छन्। मायाले शनिबार दिउँसो एक बजे सकुन्तलाले पठाएको सयपत्री फूलको माला र सेलरोटी पाइन्। प्राप्त गर्दा उनले ख्वाइती कम्पनीलाई १८ चिनियाँ युआन शुल्क तिरिन्। चीनमा सामान पठाउँदा शुल्क पठाउने अथवा पाउने व्यक्ति जसले तिरे पनि हुन्छ। मायाले पैसा आफैँले तिर्ने बताएकीले सकुन्तलाले शुल्क नतिरी सामान ख्वाइती गरेकी थिइन्।
चीनमा साना आकारका सयपत्री फूलहरु पाइन्छन्। नेपालमा जस्तो ठूलो बटमा हत्केलाभरिका थुङ्गा फुल्ने सयपत्री नपाइने हुनाले सकुन्तलाले नेपालबाट ल्याएको सयपत्री फूलको बिउबाट आफ्नै करेँसा बारीमा मनग्गे सयपत्री फूल फुलाएकी छन्। त्यही सयपत्री फूलका माला र आफूले पकाएको सेलरोटी साथीहरुलाई पनि बाँडेको उनले नेपालखबरलाई बताइन्।
‘चिनियाँहरु पनि मैले रोपेको सयपत्री फूल देखेर छक्क पर्छन्’, उनले भनिन् ‘चीनमा सयपत्रीका पोथ्रा दुई तीन भित्ताका मात्र हुन्छन् र फूलका थुङ्गा पनि साना हुन्छन्। मैले रोपेका सयपत्रीका बोट त मान्छेभन्दा अग्ला भएका छन् र ठूलठूला थुङ्गाहरु ढकमक्क फुलेका छन्।’
आन्हुईबाट झन्डै दुई हजार किलोमिटर टाढा रहेको उत्तरपूर्वी प्रान्त हैलुङचाङमा रहेकी नेपाली चेली लिजी शेर्पालाई पनि सेलरोटी र यसपत्रीका माला पठाइदिएको सकुन्तलाले सुनाइन्। टाढा भएकाले लिजीले चाहिँ आइतबार मात्र पाउने संभावना रहेको छ।
प्रतिक्रिया