ad ad

समाज


नगरपालिका र प्रहरी कार्यालयकै मुखमा ठूलो अवैध मदिरा भट्टी, दैनिक हजारौं लिटर उत्पादन

नगरपालिका र प्रहरी कार्यालयकै मुखमा ठूलो अवैध मदिरा भट्टी, दैनिक हजारौं लिटर उत्पादन

शैलेन्द्र महतो
कात्तिक ६, २०७७ बिहिबार ५:११,

धनुषाको सहिदनगर नगरपालिका ३ यदुकोहा बजारको चर्चित ठाउँ हो भट्टी चोक।

चोकमा ठूलो सिमेन्टको पिलर बनाएर त्यसमाथि विद्यार्थी सहिद कामेश्वर कुशेश्वरको स्मारक राखिएको छ। तल पिलरसंगै टाँसिएर इलाका प्रहरी कार्यालय यदुकोहाको प्रहरी पोस्ट छ।

जहाँ चौबीसै घण्टा प्रहरीको गस्ती हुन्छ। त्यसको करिब २० मिटरपूर्व छेउमा सहिदनगर नगरपालिकाको मुख्य कार्यालय रहेको छ। प्रहरी पोस्ट र नगरपालिका कार्यालयको करिब १०० मिटरको दुरीमा अयोधी चौधरीको आकर्षक भवन देखिन्छ जुन ठूलो अवैध मदिरा भट्टी हो।

भवनभित्र २० हजार लिटर तरल कच्चा पदार्थ भण्डारण गर्ने आधुनिक तरिकाले ट्यांकी निर्माण गरिएको छ। गोदाम घरमा मदिरा उत्पादनमा प्रयोग हुने ठूलो मात्रामा सक्खर, चामल, युरिया खाद्यलगायत ठूलो मात्रामा भण्डारण गरिएको छ।

Janakpur bhatti 1

त्यहाँ पुग्दा मदिरा बनाउन प्रयोग हुने ठूलठूला भाँडाकुडा, चुलो देख्न सकिन्छ। रातभरि मदिरा उत्पादन गर्ने कार्य हुन्छ।

धुँवाको मुस्लो र उत्पादन भइरहेको रक्सीको गन्धबाट पीडित स्थानीयहरुले नियमित गुनासो गरिरहेका हुन्छन्।

चौधरीले वर्षौदेखि अवैध घरेलु मदिरा उत्पादन गर्ने गरेकै कारण ठाउँको नाम समेत भटटीचोक रहन गएको छ। हालसालै नगरपालिकाले भट्टीचोक नाम फेरेर चोकको नाम आदर्शचोक राखिएको छ।

चोकको नाम फेरिए पनि चौधरीको भट्टीलाई भने कसैबाट कुनै असर छैन। उनले निर्वाध रुपमा प्रहरी प्रशासनलाई महिनाबारी दिएर दैनिक हजारदेखि दुई हजार लिटरसम्म घरेलु मदिरा बनाएर विक्री वितरण गरिरहेको स्थानीयहरु गुनासो गर्छन्।

चौधरी धनुषा जिल्लाकै ठूला मदिरा भट्टी संचालक हुन्। मदिराबाटै उनले मासिक लाखौं कमाउँछन्।

वार्षिक करोडौंको कारोबार
एक स्थानीयले भने २० वर्षअघिसम्म आर्थिक अवस्था कमजोर भएका चौधरीले भट्टी चलाएरै करोडौंको सम्पति जोडेका छन।
उनले अहिले ठूला घर तथा शहरहरुमा महङगा जमिन जोडेका छन।

प्रहरीले अवैध मदिरा भट्टी बन्द गराउने तथा भत्काउने अभियान चलाएको हुन्छ। तर सो भट्टीकै अगाडी प्रहरी पोस्ट छ भने एककिलोमिटर पश्चिमतर्फ इलाका प्रहरी कार्यालय यदुकोहा पनि छ।

तर प्रहरीकै मुखमा रहेको चौधरीको भट्टी आजसम्म न कुनै प्रहरी प्रशासनले भत्काउन सकेको छ नत बन्द गराउन।

चौधरीले तलदेखि माथिसम्मका प्रहरीलाई महिनाबारी दिएरै सो अवैध भट्टी चलाइरहेको स्थानीयहरु बताउँछन्।

सो रक्सी सेवनबाट स्थानीयको ज्यान गएको गुनासो आउन थालेपछि प्रहरीले कहिलेकाहिँ जनतालाई देखाउन चुलो भत्काउने र केहि थान भाँडो लिएर जाने गरेका छन्। तर केहि दिनपछि पूर्ववत् चल्ने गरेको भट्टी नजिकैका स्थानीयले बताए।

Janakpur bhatti 4प्रहरी र नगरपालिका कार्यालय (दायाँ)को बीचमा रहेको छ अवैध भट्टी।

एक स्थानीयले नाम उल्लेख नगर्ने सर्तमा भने ‘तीनदिन अघिमात्र धनुषाकै वरिष्ठ प्रहरी अधिकारी समेत चौधरीको घरमा पुगेर फर्किएका थिए। त्यहाँ प्रहरीहरु आउजाउ गरिरहन्छन। तर भट्टी चलिरहन्छ। कारण के हो? चौधरीले प्रहरी प्रशासनका स्थानीयदेखि उच्चपदस्थलाई महिनाबारी दिएरै यहाँ अवैध भट्टी चलिरहेको छ।’

एक स्थानीय जनप्रतिनिधिले पनि एसपी रमेश बस्नेत समेत तीनदिन अघि चौधरीकै घरमा पुगेर फर्केको नेपालखबरलाई बताए।
चौधरीले दैनिक उत्पादन गर्ने हजार लिटरभन्दा बढी मदिरा जिल्लाको विभिन्न स्थानदेखि प्रदेश तथा काठमाडौंसम्म प्रहरी

प्रशासनसँग सेटिंग मिलाएर विक्री वितरण हुने गरेको स्थानीयको दाबी छ।

यस्ता अवैध भट्टीहरुबाट उत्पादन गरिने गुणस्तरहीन मदिरा सेवनबाट कैयौं व्यक्तिको ज्यान जाने गरेको गुनासो पटक पटक आउँदा पनि यस्ता उत्पादन रोक्नका लागि कुनै ठोस कदम नउठाएको भनी प्रहरी तथा स्थानीय प्रशासनसँग स्थानीयले गुनासो गर्दै आएका छन्।

फागुन २०७६ मा घरेलु मदिरा खाएर धनुषा क्षिरेश्वरनाथ नगरपालिकाको रम्दैया, जनकपुरको मुसहरीटोल र महोत्तरीको मनरासिसवामा दुईदर्जन व्यक्तिको ज्यान गएको थियो।

Janakpur bhatti

त्यतिबेला पनि जनप्रतिनिधि र प्रहरीले सो भट्टीका केही चुलाचोका, कच्चा पदार्थ नष्ट गरेका थियो।

तर त्यतिबेला पनि भट्टी दुई दिन मात्र बन्द रह्यो। तर पुनः प्रहरी प्रशासनकै संरक्षणमा चल्दै आएको स्थानीयले बताएका छन्।

नगरपालिका कार्यालयकै पछाडिमा रहेको भट्टी बन्द गराउन जनप्रतिनिधिले पनि खासै चासो नदिएको स्थानीयको गुनासो छ।
यता नगरपालिकाका जनप्रतिनिधले भने पटक पटक गएर चौधरीलाई भट्टी बन्द गर्न भनेपनि प्रहरीकै सहयोगले चलाएको बताएँछन्।

प्रहरी प्रशासनले खासै चाँसो नदिँदा चौधरीले भट्टी बन्द नगरेको सहिदनगरका मेयर उदयकुमार बरबरियाको तर्क छ।

मेयर बरबरियाले नेपालखबरसंग भने ‘हामीले पटक पटक गएर भट्टी बन्द गर्न भनेका छौं। कति दिन त समानहरु नै उठाएर ल्यायौं, चुलो भत्कायौं। तर प्रहरीले नै चासो नदिएका कारण चौधरीको मनोबल बढेको छ। उनले आफ्नो धन्दा चलाइरहेका छन्।’

इलाका प्रहरी कार्यालय यदुकोहाका प्रहरी निरीक्षक संदीप भण्डारीले आफु आएको तीनसाता मात्र भएकोले भट्टीको विषयमा आफूलाई जानकारी नभएको बताए।

‘म आएको तीनसाता जति मात्रै भयो त्यसैले चौधरीको भट्टी विषयमा मलाई जानकारी छैन। अब अनुसन्धान गर्छौं। अवैध मदिरा भट्ट चलाउन मिल्दैन। त्यस्तो छ भने भत्काउँछौं। बन्द गराउँछौं,’ उनले भने।

Janakpur bhatti 3

धनुषाका प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार वस्नेतले ६–७ महिना अघि चौधरीको भट्टी भत्काएको तर अहिले संचालन रहेकोबारे आफूलाई जानकारी नभएको दाबी गरे।

आफु तीनदिन अघि सहिदनगर नगरपालिका कार्यालयमै मेयरसंग भेट्न गएको तर चौधरीको घरमा नगएको उनको दावी छ।

‘एकपटक भत्काएका थियौं। तर अहिले संचालनमा छ भन्ने जानकारी छैन। म अहिले नै फेरी भट्टी भत्काउन प्रहरी टोलि पठाउँछु,’ एसपी बस्नेतले नेपालखबरसंग भने ‘तीनदिन अघि उता गस्तीमा पुगेको बेला नगरपालिका कार्यालयमा मेयरसंग भेट्न गएको थिएँ। तर चौधरीको भट्टीमा म पसेको छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .