ad ad

समाज


जसलाई सय रुपैयाँ दिएर गाँजा किन्न पठाए, उसैलाई खान नदिएपछि साथीको हत्या

जसलाई सय रुपैयाँ दिएर गाँजा किन्न पठाए, उसैलाई खान नदिएपछि साथीको हत्या

उजिर कार्की
असोज २९, २०७७ बिहिबार ९:२५,

झापाको कन्काई नगरपालिकामा गाँजा खाने क्रममा विवाद हुँदा एक युवाको हत्या भएको छ।

बुधबार २२ वर्षीय अभिषेक चौधरीको उनकै साथीले हत्या गरेका हुन्। हत्या अभियोगमा प्रहरीले सोही ठाउँका २२ वर्षीय टल्के भन्ने रविन राजवंशीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले बताए।

रविनले बन्चरो प्रहार गरी अभिषेकको हत्या गरेको प्रहरीले जनाएको छ। मंगलबार राति साढे ९ बजे झापाको कन्काइ नगरपालिका ३ एकान्त टोलस्थित सुरुंगा खोलाको बाँध र बाँसघारीको बीचमा चौधरीको हत्या भएको थियो। चौधरीको शव बुधबार बिहान स्थानीयले फेला पारेर प्रहरीलाई खबर गरेका थिए।

रविन र अभिषेक लगायतका साथीहरुका बीचमा गाँजा खाने क्रममा झगडा हुँदा हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार मंगलबार साँझ रविन र अभिषेक लगायतका केही युवाहरु भेला भए। त्यसक्रममा उनीहरुले एक सय रुपैयाँ दिएर रविनलाई गाँजा किन्न पठाएका थिए। तर, रविनले गाँजा ल्याइसकेपछि उनलाई खान भने दिएनन्।

अभिषेशले तँलाई नदिने भनेर गाली गरेको र अन्य साथीहरु पनि उसैको पक्षमा लागेर आफूलाई गाँजा खान नदिएको र गालीगलौज तथा थप्पड हानेको रविनले प्रहरीलाई बताएका छन्।

उनले गाँजा खान नदिए पछि आफू घर फर्किएको र बन्चरो लिएर अभिषेकको बाटो ढुकेर बसेको बताए।

‘बाटो रुँघेर बसेको थिए, राति मोवाइल बालेर आउँदै गरेका अभिषेकलाई देखेँ। अभिषेश फेरि बाटोमा बसेर गाँजा बनाउन थाले। त्यही बेला बन्चरोले हानेर उनको हत्या गरेको हुँ’, रवीनको भनाइ उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो। रविनले टाउको र अनुहारमा बन्चरो प्रहार गर्दा अभिषेकको घटना स्थलमै ज्यान गएको हो।

त्यसपछि फरार भएका रविनलाई प्रहरीले बुधबार साँझ कन्काइ नगरपालिका ७ त्रिवेणी विकास टोलबाट पक्राउ गरेको हो। उनले घटनाका क्रममा लगाएका लुगा र रगत लागेको बन्चरो प्रहरीले बरामद गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .