नेपाल प्रहरीले दशैं तिहारलाई लक्षित गरी सुरक्षा योजना तयार पारेको छ। ट्राफिकसहितको संयुक्त चेकिङ र यात्रु सहायता कक्ष सञ्चालन गर्ने प्रहरीले जनाएकाे छ। देशभर ४८ हजार ८ सय ३० जना प्रहरी जनशक्ति परिचालन गर्ने योजना छ।
यस्तै सुरक्षा जोखिम मानिएका क्षेत्रमा कुकुर र ड्रोनको समेत प्रयोग गर्ने सुरक्षा योजनामा उल्लेख छ।
यसबाहेक हरेक क्षेत्रमा आपतकालीन फोर्ससमेत रहने प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले बताए। ‘हरेक प्रदेशमा डीआईजीको नेतृत्वमा कमान्ड फोर्स रहन्छ, जिल्लामा पनि प्रहरी प्रमुखको कमान्डमा रहन्छ। आपतकालीन अवस्थामा त्यो फोर्स पनि परिचालन गर्नुपर्ने हुन्छ’, प्रवक्ता कडायतले भने, ‘प्रदेश र जिल्लाले आफ्नो क्षेत्रको अवस्था हेरेर कोरोना संक्रमणबाट बचाउँदै अन्य गतिविधि गर्नेछन्।’
यस्तै सीमको निगरानीमा समेत कुकुरसहितको टोली परिचालन गर्ने प्रहरीको तयारी छ। कालोबजारी, मेला, झै–झगडाजस्ता कुरालाई मध्यनजर राखेर प्रहरी परिचालन गरिने छ।
प्रहरीले उपत्यकालाई एक प्रदेश मानेर अन्य सात वटा प्रदेशका लागि खटिने जनशक्ति, संयुक्त चेकिङ र यात्रु सहायता कक्षको तय गरिसकेको छ। उपत्यकामा चाडपर्वको समयमा ७ हजार ५ सय ५० जना प्रहरी परिचालन गरिने छ।
उपत्यकामा ५४ स्थानमा ट्राफिकसहितको संयुक्त चेकिङ हुनेछ। यस्तै २९ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिनेछ।
प्रदेश १ मा ७ हजार ९ सय २२ जना प्रहरी खटाउने, ८३ स्थानमा चेकजाँच गर्ने र ३५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन हुनेछन्। प्रदेश २ मा ७ हजार ३ सय १० प्रहरी, ५४ स्थानमा चेकजाँच र ३३ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन हुनेछन्।
बागमती प्रदेशका उपत्याकाका तीन जिल्लाबाहेक ४ हजार १ सय ५३ प्रहरी, ६२ स्थानमा चेकजाँच र ३९ स्थानमा सहायता कक्ष रहनेछन्।
गण्डकी प्रदेशमा ५ हजार ३ सय ३ जना प्रहरी परिचालन, ७३ स्थानमा चेकजाँच र ३६ स्थानमा सहायता कक्ष सञ्चालन गर्ने प्रहरीले जनाएको छ।
लुम्बिनी प्रदेशमा ७ हजार ८ सय २५ प्रहरी, ७ स्थानमा चेकजाँच र ४२ स्थानमा सहायता कक्ष रहनेछन्। कर्णाली प्रदेशमा सबैभन्दा कम जनशक्ति खटिनेछन्। यहाँ ३ हजार ७ सय १७ प्रहरी, २ स्थानमा चेकजाँच र १० स्थानमा यात्रु सहायता कक्ष रहने छन्।
सुदूरपश्चिममा ५ हजार ५० प्रहरी परिचालन गरिनेछ भने ४९ स्थानमा चेकजाँच हुनेछ। यात्रुसहायता कक्ष ४० स्थानमा रहनेछन्।
देशभर ४ सय ९० स्थानमा चेकजाँच हुनेछ भने २ सय ६४ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गर्ने नेपाल प्रहरीको सुरक्षा योजना छ।
यस्तै सुरक्षा संवेदनशीलता हेरी आवश्यकता अनुसार कुकुर र ड्रोनको समेत प्रयोग गरिने छ।

प्रतिक्रिया