नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको जीवनरक्षाका लागि सरकार गम्भीर नभएको र वार्ता र संवादलाई औपचारिकतामात्रै सीमित गरेको भन्दै आपत्ति प्रकट गरेको छ।
शनिबार साँझ एक विज्ञप्ति प्रकाशित गर्दै संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक र कोभिडबाहेकका सबै सेवा बहिष्कार गर्ने घोषणा गरेको छ।
‘२२ गते बिहीबारको वार्ता सकारातमक रुपमा अगाडि बढेको हुनाले असोज २३ गते शुक्रबार स्थगित गरिएको कार्यक्रम २०७७ असोज २५ गते आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड १९ का सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बहिष्कार गर्ने निर्णय गरिएको छ’, चिकित्सक संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
संघले आइतबारसम्म पनि सत्याग्रहको अन्तय नभएमा कडाभन्दा कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत सरकारलाई दिएको छ।
चिकित्सा शिक्षाको सुधारको माग गर्दै २७ दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीलाई यसअघि आजै सरकारी वार्ता टाेलीले अनशन अन्त्य गर्न आग्रह गरेको थियो।
Shares

प्रतिक्रिया