ad ad

समाज


म्याग्दीको घारखोला जलविद्युत आयोजनाको काम तीव्र

म्याग्दीको घारखोला जलविद्युत आयोजनाको काम तीव्र

नेपालखबर
असोज २३, २०७७ शुक्रबार ७:२,

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित घारखोला जलविद्युत आयोजनाको ६५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ।

म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको १४ मेगावाट क्षमताको घारखोलाको बाँध, सुरुङ, विद्युत्गृह, पेनस्टक पाइप जडानलगायत पूर्वाधार निर्माणको काम धमाधम भैरहेको छ। सन् २०१८ जनवरीदेखि सुरु भएको आयोजनाको हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको म्याग्दी हाइड्रोपावर लिमिटेडका आवासीय इञ्जिनीयर जोसेब बज्राचार्यले बताए।

अन्नपूर्ण गाउँपालिका–५ शिख र ६ घारको सिमानामा पर्ने कुरिलाबगरमा बाँध निर्माण भैरहेको छ। जगदेखि १२ मिटर अग्लो बाँध र पानी थिग्राउने ‘डिसेन्डर’ निर्माण अन्तिम चरणमा पुगेको छ।

डिसेन्डरदेखि सुरुङसम्म ३८.३ मिटर लामो ‘डिसेन्डर एप्रोच क्यानल’ जडानको काम पनि अन्तिम चरणमा छ। तीन हजार पाँच मिटर लामो सुरुङमध्ये हालसम्म दुई हजार १७५ मिटर सुरुङ खनिएको छ। बाँधतर्फबाट एक हजार २१८ र किराथाप्ने स्थित ‘आउटलेट’ बाट ९५७ मिटर सुरुङ खनिएको हो। नेपाली सेनाको श्रीबक्स गुल्मअन्तर्गत घारस्थित बेस क्याम्पका सैनिकको निगरानीमा सुरुङ खन्न विस्फोटक पदार्थ प्रयोग गरिएको छ।

पोखरेबगरस्थित गोजेखोल्सीमा विद्युत्गृह बनाउन माटो खन्ने काम भइरहेको छ। आउटलेटदेखि विद्युत्गृहसम्म ४९० मिटर पेनस्टक पाइप जडान गरिँदैछ। कारखानामा तयार भएको पेनस्टक पाइप ढुवानीको तयारी भएको छ। दशैँलगत्तै पाइप जोड्न सुरु गर्ने इन्जिनियर बज्राचार्यले बताए।

घारखोलाको सिभिल ठेकेदार साउथ एसियन इन्फ्राइन्ट्रक्चर प्रालि हो। इलेक्ट्रिकल ठेकेदार सिमर इनर्जी प्रालि र हाइड्रोमेकानिकल ठेकेदार सिई हाइड्रोमेकानिकल वर्क प्रालिले उपकरण तयार पार्ने काम धमाधम गरिरहेका छन्।

सिभिल ठेकेदारका १४४ जना मजदूरले काम गरिरहेका छन्। कोरोनाका कारण बाहिरबाट मजदूर ल्याउन समस्या भए पनि उपलब्ध मजदूरलाई परिचालन गरिएको हो। लकडाउन घोषणा लगत्तै करिब २० दिन आयोजनाको काम रोकिएको थियो। भौगोलिक विकटता, कोरोनाको जोखिम र लकडाउनको असहज अवस्थाका बीच पनि कामलाई निरन्तरता दिएको आयोजनाले जनाएको छ।

सन् २०२१ को सेप्टेम्बर अन्तिमसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाले पोखरेबगरदेखि २२० केभी क्षमताको दाना सव स्टेसनसम्म साढे सात किलोमिटर प्रशारणलाइन निर्माण गर्नेभएको छ। यो आयोजनाको अनुमानित कूल लागत रु दुई अर्ब ४१ करोड ५८ लाख २५ हजार हो। अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ४२ मेगावाट क्षमताको मिस्ट्रिखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छ। पाँच मेगावाट क्षमताको घलेम्दी जलविद्युत् आयोजनाले विद्युत् उत्पादन सुरु गरेको छ।

जम्मा ११० मेगावाट क्षमताको निलगिरि र निलगिरि क्यासकेट जलविद्युत् आयोजना निर्माण पनि धमाधम भैरहेको छ। त्यस्तै १० मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाले बेशी गाउँदेखि लेकगाउँ हुँदै बाँधतर्फ पहुँचमार्ग निर्माण गरिरहेको छ। कालीगण्डकी र आसपासका नदीमा सञ्चालित आयोजनामा उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न नेपाल विद्युत् प्राधिकरणले अन्नपूर्ण–३ दानामा सबस्टेशन र त्यहाँदेखि खुर्कोट जोड्ने प्रशारणलाइन निर्माण अन्तिम चरणमा पुगेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .