ad ad

समाज


कोरोना जोखिमकै बीच यसरी बढ्न थाल्यो उपत्यकामा भीडभाड

कोरोना जोखिमकै बीच यसरी बढ्न थाल्यो उपत्यकामा भीडभाड

नेपालखबर
असोज १३, २०७७ मंगलबार १०:१२,

कोभिड-१९ को जोखिमकाबीच काठमाडौँ उपत्यकामा सवारी तथा मानवीय चाप बढ्न थालेको छ।

सवारीसाधान झण्डै साविकको तुलनामा सञ्चालन हुन थालेका छन् भने ट्राफिक जामसमेत हुन थालेको छ।

बाहिरी जिल्लाबाट सवारी साधन उपत्यका प्रवेश गर्ने क्रम बढेकाले पनि उपत्यकामा मानिसको आवागमनसमेत बढेको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ। सवारी भित्रिने क्रम बढेकाले मानिसको चहलपहलमा वृद्धि भएको हो। मानिस र सवारीको चाप हुँदा कोभिड–१९ को जोखिम भने अझ बढेको छ।

उपत्यका नगरपालिका फोरमका सचिवसमते रहेका मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अन्य जिल्ला र उपत्यकाको हकमा एउटै नियम लागू गर्दा कोरोनाको सङ्क्रमण दर बढेको बताए।

‘हामी उपत्यकाको नाका खोल्न नहुने पक्षमै थियौँ, सरकारलाई सुझाव पनि दिएको हो, तर कार्यान्वयन नहुँदा भीडभाड र सङ्क्रमण दर बढेको छ,’ उनले भने, ‘उपत्यका र अन्य जिल्लामा एउटै नियम लागू गर्नुहुन्न भन्ने पक्षमा हामी छौँ।’

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अहिले झण्डै २० हजार सवारीसाधान उपत्यका भित्रिने र सोही हाराहारीमा बाहिरिने गरेका छन्।

सोमबार उपत्यकामा चार हजार ५ सय ८३ सवारीमा १९ हजार ९ सय यात्रु भित्रिएका थिए । त्यस्तै चार हजार ६ सय ९८ सवारीमार्फत २० हजार भन्दा बढी यात्रु बाहिरिएका छन्। भीडभाड बढेपछि भने विशेष आदेशको पूर्ण कार्यान्वयनमा लागेको ट्राफिक प्रहरीले जनाएको छ।

काठमाडौँ उपत्यकामा जोर बिजोर प्रणालीअनुसार सवारी सञ्चालनमा छ। सार्वजनिक सवारी साधनले पनि आधा मात्रै यात्रु राखेर हिँड्न पाउँछन् । सवारीले ५० प्रतिशत बढी भाडा लिन पाउने व्यवस्था गरिएको छ।

आवश्यक स्वास्थ्य सुरक्षा मापदण्डअनुसार सवारी चलाउन भनिएको छ। सबै सवारीले पूर्णरुपमा आदेश लागू गरेका छैनन् भने जोर बिजोर प्रणालीमासमेत बेपरवाह भएको पाइएको प्रहरीले जनाएको छ। श्रेष्ठले जोरबिजोर प्रणाली अहिले कागजमै सीमित भएको बताए।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमखु प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले एक÷दुई दिन केही खुकुलो हुँदा सवारीको चाप बढेको पाइएकाले आजदेखि जोरबिजोरको पूर्ण कार्यान्वयनमा प्रहरी परिचालन गरिएको जानकारी दिए। आज मध्याह्नसम्ममा मात्रै उपत्यकामा एक हजार १०० सवारीलाई कारवाही गरिएको उनको भनाई छ।

सामाजिक र भौतिक दूरी कायम नगर्ने सवारी साधानलाईसमेत कारवाही गर्न थालिएको छ। तोकिएभन्दा बढी भाडा लिएको, बढी यात्रु राखेको तथा स्वास्थ्य मापदण्ड प्रयोग नगरेको पाइएमा पनि सवारीलाई कारवाही गरिने उनले जानकारी दिए।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक रुपमा सार्वजनिक गर्ने गरेको विवरण अनुसार देशभर कोरोना सङ्क्रमित मानिसको झण्डै आधा उपत्यकाका व्यक्ति छन्।

त्यसैले उपत्यकाको भीडभाड रोक्न विशेष व्यवस्था गर्नुपर्ने जनस्वास्थ्य विज्ञको सुझाव छ । त्यसका लागि पहिलो शर्त भनेको भीडभाड रोक्नु, भौतिक दूरी कायम गराउनु र स्वास्थ्यमापदण्ड पूर्णरुपमा लागू गराउनु नै हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .