समाज


‘रअ’ प्रमुखको रहस्यमय काठमाडौं यात्रा

‘रअ’ प्रमुखको रहस्यमय काठमाडौं यात्रा

दीपक खरेल
साउन ७, २०७६ मंगलबार १३:४०,

२०७६ साउन ४ गते नेपाल एयरलाइन्सको दिल्ली–काठमाडौं उडान नं. २१८ साँझ ६ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्‍यो। सो उडानबाट आएका विशिष्ट पाहुनालाई स्वागत गर्न भारतीय दूतावासको एउटा टोली पहिल्यै विमानस्थलमा उपस्थित थियो।

अघिपछि एयर इन्डियाबाट आउने भारतीय भीआइपीहरु त्यो दिन नेपाल एयरलाइन्सबाट आएका थिए।

‘दूतावासले सचिवस्तरीय टोली आउँदैछ भनेर भीआइपी लाउन्ज प्रयोगका लागि अग्रिम अनुमति लिएको थियो’, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा स्रोतले नेपालखबरसँग भन्यो, ‘अघिपछि एयर इन्डियाको उडान प्रयोग गर्ने भारतीय विशिष्ट पाहुना त्यो दिन नेपाल एयरलाइन्सको उडानबाट आए। हामीले केही अपर्झट पर्‍यो होला भन्ने ठान्यौं। तर उनीहरूले भीआइपी लाउन्ज समेत प्रयोग गरेनन्।’

नेपाली राष्ट्रिय ध्वजाबाहकमा सवार भएर काठमाडौं अवतरण गर्ने त्यो भीआइपी टोली भारतीय बाह्य गुप्तचर संस्था रिसर्च एन्ड एनलाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसहितको भएको खुलेको छ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र जिम्मेवारी बाँडफाँटको विषय पेचिलो बनिरहेको, विप्लव समूहले प्रभाव बढाउन प्रयास गरिरहेको अवस्थामा भारतीय खुफिया संस्था ‘रअ’ को टोलीले रहस्यमय रुपमा काठमाडौं भ्रमण गरेको हो।

शनिबार साँझ काठमाडौं अवतरण गरेको टोली सोमबार दिउँसो १ः४५ बजे नेपाल एयरलाइन्सकै जहाजबाट नयाँ दिल्ली फर्किएको छ। यो बीचमा काठमाडौंमा रहँदा ‘रअ’को उच्चस्तरीय टोलीले राजनीतिक पार्टीका शीर्ष नेताहरुसँग भेटवार्ता गरेको छ। सुरक्षा अंगका व्यक्तिहरुसँग छलफल गरेको छ।

सामन्तकुमार गोयल ‘रअ’ प्रमुखमा नियुक्त भएको २५ औं दिन दक्षिण एशियाली क्षेत्रीय शक्ति सन्तुलनमा महत्वपूर्ण मानिने नेपाल भ्रमणमा आएका हुन्। उनी २०७६ असार ११ मा ‘रअ’ प्रमुखमा नियुक्त भएका हुन्।

सुटुक्क राजनीतिक भेटवार्ता
टोली फर्किएसँगै उनको भ्रमण उद्देश्य पुष्टि गर्न सुरक्षा अंग सक्रिय भएका छन्।

सरकार एवं अन्य राजनीतिक शीर्ष नेताहरुका लागि पनि ‘रअ’का नवनियुक्त प्रमुख गोयल नयाँ अनुहार हुन्। भारतीय खुफिया संस्थाले नेपालको राजनीतिलाई सधैँ नजिकबाट हेर्ने गर्छ। गोयलले काठमाडौंमा रहँदा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाका बरिष्ठ नेता माधव नेपाल, शेखर कोइरालासहितका नेताहरुसँग भेटवार्ता गरेका छन्।

नेपाली नेताहरुका लागि टोलीमा सँगै आएका शशी भुषण सिंह तोमर पुरानै अनुहार हुन्। उनी लामो समयसम्म काठमाडौंस्थित ‘रअ’को स्टेशनमा बिताएका अधिकारी हुन्। उनी हाल रअका लागि स्वतन्त्र विज्ञका रूपमा चीन हेर्छन्। यस्तै नेपालमा रअकै सेकेण्ड म्यान भएर काम गरेका अरूण जैनले दिल्लीमा बसेर नेपाल डेस्क हेरिरहेका छन्। 

‘सम्बन्ध विस्तार र चिनजानका लागि आएको भन्ने छ,’ गृह मन्त्रालयका एक उच्च अधिकारीले नेपालखबरसँग भने, ‘काठमाडौंमा रहँदा टोलीले महत्वपूर्ण राजनीतिक भेटघाट गरेको छ। पूर्वयोजना र तयारी बिनै अलि हतारमा आएको देखिन्छ। सुरक्षा अंगहरुले त्यसको विश्लेषण गरिरहेका छन्।’

टोलीमा गोयल र तमोरसँगै जैन  समेत महत्वपूर्ण भेटवार्तामा सँगै रहेका थिए। सुरक्षा स्रोतका अनुसार टोलीमा तीनजना बाहेक अर्का ‘रअ’ अधिकारी ज्ञानचन्द्र जैन समेत थिए। यस्तै रअ प्रमुख गाेयल श्रीमती सहित आएका थिए। 

खुफिया पाहुनाका लागि भारतीय दूतावासले बौद्धस्थित हायात होटलमा कोठा बुक गरेको थियो। काठमाडौं अवतरण भएसँगै उनीहरु सिधै होटल पुगेका थिए। त्यहाँ केही समय बिताएर टोली लैनचउरस्थित भारतीय दूतावास पुगेको थियो। भीआइपी पाहुना भए पनि टोलीले निजी नम्बर प्लेट भएको गाडी प्रयोग गरेको थियो। खुफिया शैलीमै काठमाडौंको जीवनशैली अवलोकन गर्दै घुमफिर गरेको थियो।

स्राेतका अनुसार टाेलीले राष्ट्रपति बिद्यादेबी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र सुरक्षा निकायका प्रमुखहरूसँग भेटघाट गरेकाे थियाे। याे भ्रमण र भेटघाटकाे तालिका टाेली नेपाल आउनु अघि नै तय भएकाे थियाे। 

उद्देश्य रहस्यमय
‘रअ’को टोली काठमाडौं अवतरण हुनुभन्दा केही दिन अगाडिदेखि एक जना बंगलादेशी मूलका भारतीय नागरिक काठमाडौंमा सक्रिय भएका थिए। उनले नेपाली राजनीतिक नेताहरुसँग टोलीको सबै भेटवार्ता समय मिलाएको सुरक्षा स्रोतहरुको बुझाइ छ।

‘रअको टोलीले सबैभन्दा लामो भेटवार्ता भारतीय दूतावासमै कांग्रेस सभापति शेरबहादुर देउवासँग गरेको देखिएको छ’, सुरक्षा स्रोतले भन्यो, ‘त्यो बाहेक कांग्रेसकै शेखर कोइराला लगायतका नेतासँग पनि कुराकानी गरेको छ।’

गोयलको टोली नेकपा अध्यक्ष प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेको थियो, जहाँ करिब दुई घण्टा कुराकानी भएको थियो। ‘रअ’ को टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटे नभेटेको प्रष्ट छैन तर नेकपाका बरिष्ठ नेता माधव नेपालसँग भने भेट भएको स्रोतहरूले दाबी गरेका छन्।

टोलीले नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धानका अधिकारीहरुसँग समेत छुट्टाछुट्टै भेटवार्ता गरेको थियो।

‘भ्रमण र भेटवार्ता सामान्य भए पनि यतिबेला भएको भ्रमण नियमित होइन। भेटघाट, आवागमन र प्रस्थान सबै गोप्य राखिएका छन्’, स्रोतले भन्यो।

‘टोलीले काठमाडौं रहँदा सवारी साधन समेत दूतावास बाहेक निजी नम्बर प्लेटको प्रयोग गरेको छ,’ ती सुरक्षा अधिकारी भन्छन्, ‘भ्रमणको उद्देश्य राजनीतिक र भारतीय इच्छाविपरित नेपाल भित्रिने लगानी हुनसक्ने देखिन्छ।’

गोयल भारतले पाकिस्तानविरुद्ध गत फागुनमा गरेको सर्जिकल स्ट्राइकका एक मास्टर माइण्ड हुन्। उनीसँगै आएका तोमर नेपालमै सहायक स्टेशन म्यानेजर भएर बसेका ‘रअ’ कै पूर्व अधिकारी हुन्। तेस्रो ब्यक्ति अरुण जैनको परिचय कतै खुलाइएको छैन।

तोमर सन् १९९९ मा काठमाडौंबाट उडेको इन्डियन एयरलान्यसको विमान अपहरण हुँदा सो विमानभित्रै रहेका ‘रअ’ अधिकारी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .