समाज


नेपालमा कोरोना संक्रमण नरोकिनुका ६ कारण

नेपालमा कोरोना संक्रमण नरोकिनुका ६ कारण

सागर न्यौपाने
भदौ २१, २०७७ आइतबार १६:५३,

नेपालमा कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै चैतदेखि १ सय २० दिन लामो लकडाउन गरियो। लकडाउन खुला भएलगत्तै संक्रमणको ग्राफ उकालो चढ्न थालेपछि उपत्यकासहित देशका विभिन्न स्थानमा पुनः निषेधाज्ञा लगाइएको छ। तैपनि संक्रमण नियन्त्रणको कुनै संकेत देखा परेको छैन। किन त?

सरकारले भाइरस नियन्त्रणको प्रभावकारी रणनीति नै तय गर्न नसकेको विज्ञहरुको भनाइ छ। प्रधानमन्त्री कार्यालय, स्वास्थ्य मन्त्रालय र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाटै उचित र प्रभावकारी काम नभएको उनीहरुले औँल्याएका छन्। विज्ञहरुको टोली बनाएर नियन्त्रणको उचित रणनीति तयार नगरे संक्रमणको अवस्था झनै भयावह हुँदै जाने चेतावनी पनि उनीहरुले दिए।

बनेन एकीकृत रणनीति
सरकारले संक्रमण नियन्त्रणका लागि बनाउनुपर्ने रणनीति र योजना नै बन्न नसकेको बताउँछन् जटिल रोग विज्ञ डा. प्रभात अधिकारी।

‘हाम्रोमा संक्रमण फैलिनुको कारण पत्ता लगाएर त्यसलाई कम गर्ने रणनीति बनेको छैन,’ डा. अधिकारीले भने, ‘अहिले समुदायमा कोरोना फैलिएको छ कि छैन भनेर समेत निर्क्यौल गर्न सकेका छैनौं, जबकि वीरगञ्ज लगायतमा संक्रमण समुदायमा फैलिसकेको छ, काठमाडौंमा पनि बढ्दैछ।’

प्रधानमन्त्रीले नै कुरा बुझेनन्
कोरोना भाइरस महामारीका सम्बन्धमा प्रधानमन्त्री र उनको कार्यालयमै गलत बुझाइ रहेको एक विज्ञले बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि संसदमा कोरोना भाइरस केही पनि होइन, यो रुघाखोकीजस्तो मात्र हो, नेपालीको रोगप्रतिरोधी क्षमता राम्रो छ, बेसारपानी खाएपछि यो आफैँ ठिक हुन्छ भनेका थिए। विज्ञहरुले उनको भनाइ अपुष्ट र गलत भएको बताएपछि पनि ओलीको ‘बेसार बखान’ रोकिएन।

देशको कार्यकारी प्रमुखले नै यसरी बोलेपछि नागरिक भ्रममा पर्ने र अनुशासन नमान्ने जोखिम बढेको एक जनस्वास्थ्य विज्ञले बताए। यसमा प्रधानमन्त्रीलाई ब्रिफिङ गर्ने विज्ञहरुको समेत दोष रहेको उनको ठहर छ।

‘देशको कार्यकारी प्रमुखलाई जसरी कोरोना भाइरसको असर, प्रभाव बारेमा ब्रिफिङ हुनुपर्थ्यो त्यो भएन,’ ती डाक्टरले भने, ‘त्यसैले नै उहाँले अपुष्ट र मिथ्या दाबी गर्दै हिँड्नुभयो। प्रधानमन्त्री कार्यालय, मन्त्रालय तहमै भएको गलत बुझाइ, गलत ब्रिफिङका कारणले अहिलेको यो अबस्था आएको हो।’

यो गल्ती सुधार नगरे समस्या झन् बढ्ने उनले बताए।

उसो त प्रधानमन्त्री ओलीले बेलाबखत विज्ञहरुलाई बोलाएर सल्लाह लिने गरेका छन्।

योजनाविहीन मन्त्रालय र महाशाखा
तर, स्वास्थ्य मन्त्रालयमा विज्ञको कमी छैन। त्यहाँ डाक्टरको टोली नै छ। स्वास्थ्यमन्त्री भानुभक्त ढकालका स्वास्थ्य सल्लाहकार जनस्वास्थ्य विज्ञ डा. खेम कार्की छन्। तर मन्त्रालयले महामारी नियन्त्रणको नेतृत्व गर्न सक्छ भन्ने विश्वास आर्जन गर्न सकेको छैन। न त त्यसका लागि कुनै प्रभावकारी योजना र कार्यक्रम नै अघि सार्न सकेको छ। बरु, महामारीको सुरुमै स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको आरोप मन्त्रालयमाथि लाग्यो। र, खरिदको जिम्मेवारी सेनाले पायो।

अर्काेतर्फ रोकथामको योजना र रणनीति बनाउने निकाय महाशाखा हो। महाशाखा प्रमुख डा. वासुदेव पाण्डे भाइरोलोजिस्ट हुन्।

‘महाशाखाको प्रमुख भाइरालोजिस्ट छन् जबकि त्यहाँ चाहिने इपिडिमियोलोजिस्ट हो,’ एक डाक्टरले भने, ‘तर राजनीतिक नियुक्ति गर्ने परिपाटीले जसलाई जहाँ पनि लगेर राखियो।’

त्यसैकारण महाशाखाले कामै गर्न नसकेको उनको तर्क छ।

‘कोरोना महामारी नियन्त्रणको अभियान हाँक्नुपर्ने निकायमा रहेका व्यक्तिहरुले बनाएको योजना नै गलत भयो,’ उनले नेपालखबरसँग भने, ‘यो रोगकै बारेमा विज्ञता हासिल गरेको व्यक्तिले नेतृत्व नपाउँदा संक्रमणको बढ्दो ग्राफमा कसरी काम गर्ने भन्ने ठोस योजना बनेन। त्यसैले ६ महिना भइसक्दा पनि संक्रमण नियन्त्रण उन्मुख हुने छाँट देखिएन।’

अर्का एक विज्ञले संक्रमण नियन्त्रणको सबैभन्दा प्रभावकारी कदम अर्थात कन्ट्याक्ट ट्रेसिङ नै महाशाखाले ठिकसँगले गर्न नसकेको बताए।

‘कोरोना संक्रमितबाट अरुलाई सर्न नदिन कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्छ’, ती डाक्टरले भने, ‘महाशाखाले कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी बनाउन तयार गरिएको एप पनि प्रयोगमा ल्याएको छैन।’

अर्का एक विज्ञले महाशाखा सुरुदेखि निकम्मा देखिएको टिप्पणी गरे।

‘कहाँ, कति, कसरी परीक्षण भइरहेको छ? कसकसको सहयोग चाहिन्छ भन्ने त इडीसीडी हो नि, त्यसले किन सुझाव नदिएको?’ उनले प्रश्न गरे, ‘सुरुमा आरडीटी गर्न थालियो, त्यसमा पोजिटिभ देखिएका मानिसहरुको तथ्यांक समेत राखिएन। न इडीसीडीले लकडाउन खोल्ने मोडालिटी नै दिन सक्यो।’

विज्ञकै मत बाझियो
उसो त सरकारलाई सुझाव दिने ठाउँमा रहेका विज्ञ डाक्टर र कोरोना संक्रमितको उपचार गरिरहेका डाक्टरहरुको कुरा पनि मिल्न सकेको देखिँदैन। यतिबेला पनि केही डाक्टरले लकडाउन जरुरी रहेको बताइरहँदा अन्यले लकडाउन हटाइहाल्नुपर्ने तर्क अघि सारेका छन्।

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले विज्ञहरुको बीचमा रहेको फरकफरक धारणालाई एकत्रित गरेर ठोस योजना र रणनीति बनाउन प्रधानमन्त्री नै चुकेको बताए।

‘भिन्न विज्ञहरुका आफ्ना क्षमता र योग्यता छन्, उनीहरुको एउटा स्वतन्त्र टीम बनाएर नेपालको कारोना भाइरसको बारेमा अध्ययन गर्न लगाएको भए त्यसबाट ठोस योजना पनि आउँथ्यो र नियन्त्रण गर्न पनि आइडिया हुन्थ्यो,’ डा.पाण्डेले भने, ‘यहाँ त सरकारका मन्त्री, कर्मचारी सबै जान्ने भए। उनीहरुले आफूले जति कसैले बुझेको छैन जस्तो गरे, अनि यही विषयका एक्सपर्टलाई अलग राखियो जसले एक्स्पर्टको क्षमता प्रयोग हुनै पाएन।’

मानिस अनुशासित भएनन्
कान्ति अस्पतालका प्रमुख डा. कृष्ण पौडेलले भने आम मानिस अनुशासनमा नबस्दा समस्या आएको दाबी गरे।

‘सर्वसाधारण पनि अनुशासनमा बस्नुपर्‍यो। यहाँ त कसैले कसैलाई टेर्दैन,’ डा. पौडेलले भने, ‘सरकार पनि संक्रमण फैलनबाट रोक्न त्यति सफल भएन।’

कन्ट्याक्ट ट्रेसिङ र क्वारेन्टिन व्यवस्थापनमा चुक्यो सरकार
धेरैजसो विज्ञहरु भने संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउन र निषेधाज्ञा राम्रो भएको बताउँछन्। तर, कन्ट्याक्ट ट्रेसिङ र क्वारेन्टिन व्यवस्थापनमा सरकार चुकेको उनीहरुको भनाइ छ।

जटिल रोग विशेषज्ञ अधिकारी एयरपोर्टबाट आएका मानिसको कन्ट्याक्ट ट्रेसिङ नगरेको र भारतबाट नेपाल प्रवेश गरेकाहरुलाई क्वारेन्टिनमा राख्न नसक्दा नेपालमा भयावह अवस्था आएको बताउँछन्।

‘एयरपोर्टबाट आएका कसैको कन्ट्याक्ट ट्रेसिङ गरिएन, इन्डियाबाट नेपाल प्रवेश गर्नेहरुलाई क्वारेन्टिन गरिएन र उनीहरुको पीसीआर परीक्षण नै गरिएन जसले संक्रमण बढायो,’ डा.अधिकारीले भने।

त्यस्तै सरकारी निकायबीच समन्वय नभएको, सरकारले सहयोग लिनुपर्ने निकायबाट समेत सहयोग लिन तत्परता नदेखाएको उनी बताउँछन्।

डा. पाण्डेले अहिलेको कामको तौरतरिका पूरै बदल्नुपर्ने बताए।

‘सरकारले अहिलेपनि सजिलोको लागि निषेधाज्ञा लगाएको छ,’ डा.पाण्डेले भने, ‘यो लकडाउन विकल्प होइन। यसले अर्काे समस्या निकाल्छ, मुख्य कुरा संक्रमण फैलिन रोक्ने हो भने त्यो ठाउँ र मानिस पहिचान हुनुपर्‍यो।

तर, स्वास्थ्य मन्त्रालयका जनस्वास्थ विज्ञ डा. खेम कार्कीले नेपालमा कोरोना संक्रमण चिन्ता गर्नुपर्ने अवस्थामा नपुगेको दाबी गरे।

‘हामीले आजसम्मको तथ्यांक हेरेर बोल्नुपर्ने हुन्छ’, डा. कार्कीले भने, ‘अहिलेसम्म नियन्त्रणउन्मुख नै छ, संक्रमण पनि जुनरुपमा फैलने प्रेडिक्सन थियो, त्यो कन्ट्रोलमै छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .