प्रहरीले ट्राफिक जवानमाथि निर्घात कुटपिट गर्ने व्यक्तिहरुको खोजी सुरु गरेको छ। बिहीबार रातो मच्छिन्द्रनाथको रथ तान्न भेला भएकाहरुले ट्राफिक व्यवस्थापनमा खटिएका एक प्रहरीमाथि मंगलबजारमा कुटपिट गरेका थिए।
घटनामा संलग्नहरुको पहिचान गरी कारबाही गरिने महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ। घटनाको सीसीटीभी फुटेज र सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएका भिडियो हेरेर घटनामा संलग्नको पहिचान भइरहेको प्रहरीको भनाइ छ।
मंगलबजार प्रभागमा कार्यरत कुटाइ खाएका जवानको अहिले अल्का अस्पतालमा उपचार भइरहेको छ।
ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार सो झडपमा चार जना प्रहरी घाइते भएका छन्। अन्यलाई इट्टा, ढुंगाले लागेको हो। तर ट्राफिक प्रहरीलाई भने मोटरसाइकल नै लडाएर कुटपिट गरिएको थियो।
उनलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। मोटरसाइकलमा रहेका उनलाई भीडले एक्कासि घेरा हाल्छ र मुक्का, लात्ती वर्षाउन थाल्छ। कसैले इट्टा ढुंगाले हान्छन्। भीडले निर्घात कुटपिट गरिरहेका बेला केही व्यक्तिले उनलाई भगाउन सहयोग गरेको देख्न सकिन्छ।
प्रदर्शनकारीबाट फुत्किएर केही पर पुगेपछि पनि उनलाई फेरि केही व्यक्तिले लात्ताले हानेर लडाउँछन् र ढुंगाइट्टाले हान्छन्। त्यतिबेलै ठूलो संख्यामा जनपद र सशस्त्र प्रहरीले ती जवानको उद्धार गरेर लगेका थिए।
स्थानीयले उनको कपडा समेत च्यातिदिएका छन्। हेल्मेट लगाएका कारण टाउकोमा चोट लाग्न नपाएको जावलाखेलका ट्राफिक इन्चार्ज सुवास देउवाले बताए।
स्थानीय प्रशासन र ज्यापु समाजको अनुमतिबिनै भेला भएका स्थानीयले रथ तान्न थालेपछि प्रहरीले त्यसलाई रोक्ने क्रममा झडप भएको थियो। झडपका क्रममा प्रहरीको पानीको फोहोरसा हान्ने गाडी समेत तोडफोड भएको छ।
भीड तितरबितर पार्न प्रहरीले दर्जनौं सेल अश्रुग्यास र पानीको फोहोरा हानेको थियो। मच्छिन्द्रनाथको रथ यात्रा कसरी गर्ने भन्ने विषयमा ज्यापु समाज र प्रशासनबीच अहिले छलफल गरिरहेका छन्।

प्रतिक्रिया