ad ad

समाज


ढोरपाटनमा बाढी-पहिरो : तीन जनाको शव फेला, कम्तीमा १० जना बेपत्ता, २ दर्जन घरमा क्षति

ढोरपाटनमा बाढी-पहिरो : तीन जनाको शव फेला, कम्तीमा १० जना बेपत्ता, २ दर्जन घरमा क्षति

नेपालखबर
भदौ १८, २०७७ बिहिबार २:१४,

बागलुङको ढोरपाटन नगरपालिकाका विभिन्न वडामा बाढी र पहिरोमा परेर कम्तिमा पनि तीन जनाको मृत्यु भएको छ भने १० जनाभन्दा धेरै बेपत्ता भएका छन्।

बाढी र पहिरोले ढोरपाटन नगरपालिकाको १, ५, ६, ७, ८, र ९ नम्बर वडामा क्षति पुगेको छ।

बाढीले बगाएको अवस्थामा अहिलेसम्म तीन जनाको शव फेला परेको घटनास्थलमा रहेका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए।

‘स्थानीयले बताए अनुसार अझै कम्तिमा १० जना हराइरहेका छन्,’ उनले नेपालखबरसँग भने, ‘बाढी र पहिरोमा परेर कम्तिमा २५ वटा घरमा क्षति पुगेको प्रारम्भिक जानकारी हामीलाई आएको छ। क्षतिको बिस्तृत विरण प्राप्त भएको छैन।’ उनले धेरै ठाउँमा पहिरो गएको बताए। ‘धेरैलाई बाढीले बगाएको छ। केहीलाई पहिरोले पनि पुरेको होला,’ उनले भने। बाढीले स्थानीय बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो।

बुधबार दिउँसोदेखि परेको अविरल वर्षाको कारण स्थानीय सुकुर्दुङ, दोभानखोला र भुजीखोलामा आएको बाढी ठाउँ ठाउँमा खसेको पहिरोले थुनिँदा वरपरका बस्तीमा क्षति गरेको इन्सपेक्टर भण्डारीले बताए। ‘यी दुई ठाडा खोला हुन्। ठूलो वर्षापछि दुबै खोलामा आएको बाढीले मानविय क्षति गरेको हो,’ उनले भने।

खोलामा फेला परेका तीनवटा शव क्षतविच्छत अवस्थामा रहेकाले सनाखत हुन नसकेको भण्डारीले जानकारी दिए। बेपत्ता हुनेमा आठ पुरुष र दुई महिला छन्। बाढी र पहिरोमा परेर धेरै पशुचौपाया पनि मरेका छन्।

घटनास्थल सदरमुकामबाट गाडी र पैदल गरेर झण्डै आठ घण्टाको दुरीमा पर्छ। सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, एसपी शारदाप्रसाद चौधरीसहितको टोली पनि घटनास्थलतिर जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी राजेन्द्र रेग्मीले जानकारी दिए।

घटना बुधबार राति ११ बजेतिरको हो। राति करिब दुई बजे इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीको कमाण्डमा ११ जनाको टोली घटनास्थलतिर गएको छ। आफूहरुलाई अझै मुख्य घटनास्थलमा पुग्न समय लाग्ने इन्सपेक्टर भण्डारीले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .