समाज


आईसीयूको अभावमा ज्यान गुमाउँदै संक्रमित, कोरोना अस्पतालकै आईसीयू र भेन्टिलेटर प्रयोगविहीन

आईसीयूको अभावमा ज्यान गुमाउँदै संक्रमित, कोरोना अस्पतालकै आईसीयू र भेन्टिलेटर प्रयोगविहीन

प्रकाश न्यौपाने
भदौ ११, २०७७ बिहिबार ४:३१,

गत आइतबार गैडहवा गाउँपालिका–३, रुपन्देहीका ५३ वर्षीय कल्लु मुसलमान घर निर्माणको काम गरिरहेकै बेला छतबाट लडेर घाइते भए। उनको टाउकोमा गम्भीर चोट लाग्यो। उपचारका लागि उनलाई आफन्तले भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा ल्याए। उनको टाउकामा रगत जमेकाले शल्यक्रिया गर्नुपर्ने भयो। तर, शल्याक्रिया गर्नुअघि उनको स्वाब परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भयो। अस्पतालले सामान्य औषधि चलायो र शल्यक्रिया नै नगरी भैरहवास्थित कोभिड–१९ भीम अस्पतालमा रेफर गर्यो।

उनको सोहीदिन राति मृत्यु भयो। ‘कोरोना देखिएपछि आईसीयूमा राखेर शल्यक्रिया गर्नुपर्ने विरामीलाई एकाएक भीममा पठाइयो। भीममा टाउकाको शल्यक्रिया गर्ने चिकित्सक रहेनछन्। संक्रमित बिरामीलाई राख्ने आईसीयू भए पनि सञ्चालनमा आएको रहेनछ। त्यसैले गर्दा मेरो भाइको मृत्युभयो’, मृतक कल्लुका दाजु हसन मोहम्मदले भने, ‘समयमै आईसीयूमा राखेर उपचार भएको भए भाइ बाँच्थ्यो।’

कोरोना संक्रमितलाई उपचार गर्ने भनेर भीम अस्पतालमा ५ ओटा आईसीयू बेड, एउटा भेन्टिलेटर र २२ ओटा जनरल वार्ड तयार पारिएको छ। तर, आईसीयू र भेन्टिलेटर प्रयोगमा आएका छैनन्।

यहाँ आईसीयू बेड र भेन्टिलेटर बनाउन मात्रै प्रदेश पाँच सरकारले ७६ लाख ७६ हजार १२५ रुपैयाँ खर्चिएको थियो। यस्तै जनरल वार्डका लागि १५ लाख खर्च भएको छ। यत्रो खर्च गरेर बनाइएको संरचना महिनौंदेखि अलपत्र छ। ‘आईसीयू सञ्चालन गर्न क्रिटिकल केयर ‘सुपर स्पेसलिस्ट’को नेतृत्वको टिम चाहिन्छ। हामी कहाँ दक्ष एक जना पनि जनशक्ति छैन। त्यसैले प्रयोगविहीन बनेको हो’, अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. सुमित प्रजापतिले नेपालखबरसँग भने।

उनले लक्षणसहितका आईसीयूमा राख्नुपर्ने बिरामी आएमा बुटवल पठाउने गरेको बताए। भैरहवा मात्रै होइन, दाङको बेलझुण्डीमा प्रदेश सरकारले स्थापना गरेको कोरोना विशेष अस्पतालमा पाँच भेन्टिलेटर र पाँच आईसीयू, दाङकै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा रहेका १० आईसीयू र तीन भेन्टिलेटर जनशक्ति अभावमा प्रयोगमा आउन सकेका छैनन्। नेपालगन्जमा बनाइएका १० आईसीयू बेडको अवस्था पनि उस्तै छ।

 बुटवलस्थित धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालका १७ आईसीयू बेड लक्षणसहितका गम्भीर बिरामीले भरिएका छन्। यही अस्पतालमै जनरल वार्डमा उपचार गराइरहेका लक्षणसहितका गम्भीर ४ जना बिरामीलाई आईसीयूमा राख्नुपर्ने छ। तर, आईसीयू बेड अभाव छ। नजिक रहेको भैरहवामा आईसीयू सञ्चालनमै छैन। ‘लक्षणसहितका गम्भीर बिरामी आएमा जनरल वार्डमा राखेर उपचार गर्नुपर्ने अवस्था छ। बेड भरिँदा अरु विकल्पै छैन’, कोरोना विशेष अस्पताल धागो कारखानाका फोकल पर्सन डा. सुदर्शन थापाले भने।

दाङ र नेपालगन्जमा बनाइएका आईसीयू र भेन्टिलेटर सञ्चालनमा दक्ष जनशक्ति नहुँदा काम चलाउनका लागि अदक्ष चिकित्सकले सेवा दिइरहेका छन्। प्रदेश सरकारले स्थापना गरेका कोरोना विशेष अस्पतालका धेरै ठाउँका आईसीयू र भेन्टिलेटर प्रयोगविहीन छन्। प्रदेशमा पछिल्लो समय कोरोना भाइरसको लक्षणसहितका बिरामी बढे पनि उपचार पद्दतीमा सुधार हुनसकेको छैन्। निजी अस्पतालले कोरोना संक्रमित भएको थाहा पाएपछि उपचार गर्नै मान्दैनन्।

यता सरकारी अस्पतालमा सघन उपचार कक्षको अभाव छ, जहाँ जटिल खालका संक्रमित बिरामीको उपचार गर्न सम्भव छैन्। उपचार नपाएर संक्रमितहरुको ज्यान गइरहँदा समेत प्रदेश सरकारले बेवास्ता गर्दै आइरहेको छ। प्रदेशमा अहिलेसम्म कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भइसकेको छ। संक्रमण समुदायस्तरमै फलँदै जाँदा गम्भीर प्रकृतिका बिरामीले उपचार नपाएरै ज्यान जाने अवस्था आएको हो।

 लक्षणसहितका संक्रमितहरुको संख्या हरेक दिन बढ्दो छ। धेरैको अवस्था जटिल बनिरहेको छ। सरकारी अस्पतालले थेग्न सकिरहेका छैनन्। सुविधा सम्पन्न रहेका निजी अस्पताललाई सरकारले कोरोना विशेष अस्पताल बनाउन सकेको छैन।

प्रदेश ५ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले कतिपय ठाउँमा जनशक्ति अभावमा आईसीयू र भेन्टिलेटरहरु सञ्चालन गर्न नसकिएको यथार्थ भए पनि उपचार अभावमा बिरामीको मृत्यु हुने अवस्था भने नआएको दावी गरे।

‘दक्ष जनशक्ति नभएको ठाउँमा अब छिट्टै आपूर्ति हुन्छ, यस विषयमा मन्त्रालयले गृहकार्य गरिरहेको छ’, उनले भने। तर, पौडेलले कति समय लाग्छ भन्ने एकीन भने नभएको जनाए। उनले अन्य रोगका गम्भीर प्रकृतिका बिरामीलाई कोरोना देखिएपछि निजी अस्पतालहरुले उपचार नगर्ने समस्या बढेकोप्रति मन्त्रालय जानकार रहेको बताउँदै समन्वय गरिरहेको बताए।

‘संघ सरकारले निजी अस्पतालहरुसँग समन्वय गर्न सकेको छैन। यसले गर्दा हामीलाई समस्या परिरहेको छ। कोरोना देखिँदावित्तिकै अन्य रोगका गम्भीर बिरामीको पनि उपचार हुँदैन। यो जटिल समस्या हो। संघले तुरुन्त निजीलाई पनि उपचार गर्ने गरी कडाई गर्नुपर्छ’, उनले भने। पछिल्लो समय लक्षणसहितका संक्रमित देखिने क्रम बढेकाले दक्ष जनशिक्त र आईसीयू बेडहरु थप गर्ने गरी मन्त्रालयले काम अगाडि बढाएको उनले जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .