ad ad

समाज


खरिपाटीको क्वारेन्टिन बन्यो दुई सय शय्याको आइसोलेसन

खरिपाटीको क्वारेन्टिन बन्यो दुई सय शय्याको आइसोलेसन

रमेश गिरी
भदौ ४, २०७७ बिहिबार ६:३१,

सरकारले कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट उद्धार गरेर ल्याएका नेपालीलाई राख्न गत फागुनमा तयार पारेको भक्तपुरको खरिपाटीस्थित क्वारेन्टिनलाई आइसोलेसनमा परिणत गरिएको छ। चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टिनलाई दुई सय शय्याको आइसोलेसन बनाएर सञ्चालनमा ल्याएको हो ।

सरकारले कोरोना हब अस्पतालको रुपमा राखेको भक्तपुर अस्पताललाई ५ सय शय्याको आइसोलेसन तयार पार्न भनेपछि प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको नेतृत्वमा वीरदल गण सूर्यविनायकको सहयोगमा खरिपाटी क्वारेन्टिन भवनलाई आइसोलेसनका रुपमा परिणत गरेको भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले बताइन्।

हाल २ सय शय्याको आइसोलेशन तयार भए पनि तत्काल १ सय शय्या सञ्चालनमा ल्याएको जानकारी दिँदै मेसु डा. गौतमले भनिन्, ‘सङ्घीय सरकार र वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र मन्त्री युवराज दुलालको अगुवाइमा खरिपाटीस्थित क्वारेन्टिनलाई आइसोलेसन सञ्चालन गरेका हौँ, उहाँबाट जनशक्ति पनि पठाइदिने आश्वासन प्राप्त भएको छ।’

आइसोलेसनमा रहेको ८ शय्या स्वास्थ्यकर्मीलाई छुट्याइएको छ भने २ सय शय्या कोरोना भाइरस सङ्क्रमितलाई राखिनेछ। भक्तपुर अस्पताल, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालको समन्वयमा चिकित्सकसहित ७ जनाको स्वास्थ्य टोली त्यहाँ खटाइएको डा. गौतमले जानकारी दिए। भक्तपुर अस्पताल, राष्ट्रिय प्रत्यारोपण केन्द्र र क्यान्सर अस्पतालले पाँचदेखि सात जनाको संयुक्त तीनवटा स्वास्थ्यकर्मीको टिम बनाएर भक्तपुर अस्पताल, यहाँको आईसीयू तथा आइसोलेसन र खरिपाटीस्थित आइसोलेसनमा टोली परिचालन गरिएको छ।

तीन अस्पतालले एक विशेषज्ञ चिकित्सक, अरु दुई चिकित्सक, दुई नर्स, एक ल्याब टेक्निसियन र एक हेल्परसहित एक टिममा सात जना रहने गरी तीनवटा टिम तयार पारेको छ। भक्तपुर अस्पतालमा तालिम प्राप्त जनशक्तिको अभाव भएकाले राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालसँग तालिम प्राप्त जनशक्ति राखेर टिम बनाएको हो। खरिपाटीस्थित आइसोलेसनमा लक्षण नभएका सङ्क्रमितलाई राखिने जानकारी दिँदै डा. गौतमले लक्षण भएका र जटिल खालका सङ्क्रमितलाई अन्य अस्पताल पठाइने भएको छ।

वीर दल गण सूर्यविनायकबाट खटिएको सेनाले आइसोलेसनको सुरक्षा गरेको छ। नेपाली सेना, स्वास्थ्यकर्मीसहितको ‘कन्ट्रोल रुम’बाट आइसोलेसनमा बसेकाहरुको निगरानी गर्ने गरिएको छ। गत सोमबार १ जना कोरोना सङ्क्रमित पुरुषलाई राखेर आइसोलेसन सुरु गरिएको छ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भक्तपुर अस्पतालको मेसुको नेतृत्वमा खरिपाटीस्थित आइसोलेशनमा सङ्क्रमितको व्यवस्था गर्ने, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका प्रमुखको नेतृत्वमा स्वास्थ्यकर्मीको टिम परिचालन गर्ने गरी जिम्मेवारी दिएको जानकारी दिइन्। तत्काल २ सय शय्याको आइसोलेसनको क्षमता रहे पनि सङ्क्रमितको सङ्ख्या बढ्दै गए १ सय शय्या थप गरेर ३ सय शय्यामा विस्तार गर्न सकिने उनले जानकारी दिइन्।

भक्तपुर अस्पतालमा आईसीयू र आइसोलेसन
सरकारले कोरोना हब अस्पतालको रुपमा तोकेको भक्तपुर अस्पतालले सघन उपचारकक्ष (आईसीयू) र आइसोलेसन शय्या सञ्चालनमा ल्याएको छ। कोरोना सङ्क्रमण फैलिँदै गएपछि बिरामीको सङ्ख्या पनि दिनानुदिन बढ्दै जाँदा समस्या सृजना भएपछि अस्पतालले पाँच शय्याको आईसीयू र तीनवटा भेन्टिलेटरसहितको १५ शय्याको आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको हो।

अस्पतालले एक महिनाअघि नै आईसीयू र आइसोलेसन सञ्चालन गर्ने गरी सबै तयारी पूरा गरे पनि जनशक्ति अभावका कारण सञ्चालन गर्न नसकेको अवस्थामा जिल्लाका तीन प्रमुख अस्पतालको संयुक्त समन्वयमा आईसीयूसहितको सेवा सञ्चालनमा ल्याएको हो। अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. गौतमका अनुसार भक्तपुर अस्पताल, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालको संयुक्त समन्वयमा सेवा सञ्चालनमा ल्याएको हो। डा. गौतमले भनिन्, ‘कोरोनाको सङ्क्रमण बढ्दै गएपछि स्वास्थ्य आपत्कालीन अवस्थामा केन्द्र र प्रदेश सरकारको मात्रै मुख ताकेर हुँदैन भनेर म, प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. प्रेम ज्ञवाली र क्यान्सर अस्पतालका निर्देशक डा. ऋषिकेश नारायण श्रेष्ठको छलफलबाट टिम बनाएर काम गर्नेगरी आर्इसीयू सञ्चालन गरेका हौँ।’

आपत्कालीन अवस्थामा तीनवटै अस्पतालले मिलेर आईसीयू सञ्चालन गर्ने र स्वास्थ्य जनशक्ति पनि तीनवटा टिम बनाएर परिचालन गर्ने गरी सेवा सुरु गरेको हो। सो आईसीयूमा कोरोना सङ्क्रमित मिर्गौलाका बिरामीलाई राखिएको छ। आईसीयू र आइसोलेसन वार्ड तयार पारेको महिनौँ बित्दा पनि आवश्यक जनशक्तिको व्यवस्था केन्द्र र प्रदेश सरकारबाट हुने आशामा बसेको अस्पतालमा जनशक्तिको व्यवस्थापन नभएपछि अस्पताल आफैँले रिक्त दरबन्दीमा करार नियुक्तिका लागि जनशक्ति मागसमेत गरेको छ।

कोभिड सूचना व्यवस्थापन केन्द्र सञ्चालन
जिल्ला प्रशासन कार्यालय परिसरमा कोभिड सूचना व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको छ। जिल्ला स्वास्थ्य कार्यालयको नेतृत्व रहने गरी केन्द्र सञ्चालन भएको प्रजिअ पाण्डेले जानकारी दिइन्।

जिप्रका अगाडिको भवनमा केन्द्र स्थापना गरिएको जानकारी दिँदै उनले भनिन्, ‘जिप्रका अगाडिकै भवनमा कोभिड सूचना व्यवस्थापन केन्द्र सञ्चालन ल्याएका छौँ, यसको सबै व्यवस्थापनको जिम्मेवारी जिल्ला स्वास्थ्य कार्यालयलाई दिइएको छ, अब कोभिड–१९ सम्बन्धी सबै सूचना त्यही सङ्कलन गर्ने र त्यहीबाट दिने गरी व्यवस्थापन गरेका छौँ।” रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .