कोरोना संक्रमणका कारण पश्चिम नवलपरासीका कांग्रेस जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको मृत्यु भएको छ।
ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान उनको मृत्यु भएको हो।
नवलपरासीको सुस्तापश्चिम घर भएका ३७ वर्षीय गिरीमा कोरोना संक्रमण पुष्टि भएपछि ३० साउनमा बुटवल कोरोना अस्पतालबाट पाटन ल्याइएको थियो।
मंगलबार बिहान ६ बजे उनको मृत्यु भएको पाटन अस्पतालका निर्देशक प्रा.डाक्टर रबि शाक्यले जानकारी दिए।
यसअघि गिरीको पथ्थरीको अप्रेसन भएको थियो। ‘छातीमा समस्या भएपछि उहाँ ३० साउनमा अस्पतालमा भर्ना हुनु भएको थियो,’ शाक्यले नेपालखबरसँग भने, ‘उहाँमा कोरोन पोजिटिभ थियो, भेन्टिलेटरमा उपचारकै क्रममा आज बिहान मृत्यु भयो।’
गिरीको केही समय अगाडि युनिभर्सल मेडिकल कलेज भैरहवामा पित्तथैलीको पत्थरीको शल्यक्रिया गरिएको पारिवारिक स्रोतले जनाएको छ।
अहिले गिरीको शव अस्पतालमै छ। नेपाली सेनाको टोलीले शव व्यवस्थापन गर्ने अस्पताल स्रोतले जनाएको छ।
प्रतिक्रिया