ad ad

समाज


हरेक नेपालीको घरमा बिजुली पुर्‍याउनु प्राधिकरणको मूल उद्देश्य : मन्त्री पुन

 हरेक नेपालीको घरमा बिजुली पुर्‍याउनु प्राधिकरणको मूल उद्देश्य : मन्त्री पुन

नेपालखबर
भदौ १, २०७७ सोमबार ४:५,

ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले नेपाल विद्युत् प्राधिकरण मुलुकले गर्व गर्न लायक सार्वजनिक संस्थाका रूपमा स्थापित भएको बताएका छन्।

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका मन्त्री पुनले पछिल्लो समय प्राधिकरणले आफूलाई नाफामुखी मात्र नभई सेवामुखी संस्थाका रूपमा स्थापित गर्न सकेकामा खुसी व्यक्त गरे।

प्राधिकरणको चुस्त र सुदृढ व्यवस्थापन एवं कार्यक्षमता सुधारका कारण इतिहासमै सबैभन्दा बढी सञ्चालन मुनाफा आर्जन गर्न,  घरेलु ग्राहकको विद्युत् महसुल घटाउन तथा मासिक १० युनटिभन्दा कम विद्युत् खपत गर्ने करिब ८ लाख विपन्न ग्राहकलाई पूर्ण रूपमा विद्युत् महसुलमा छुट दिन सफल भएकाे मन्त्री पुनले बताए।

सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेट तथा नीति कार्यक्रममार्फत मासिक १० युनिटभन्दा कम विद्युत् खपत गर्ने ग्राहकलाई निःशुल्क विद्युत् उपलब्ध गराउने घोषणा गरेको छ।

‘विद्युत् महसुल दरमा वृद्धि नगरीकनै चुस्त र सुदृढ व्यवस्थापन एवं कार्यक्षमतामा सुधार ल्याई प्राधिकरण आफ्नो इतिहासमा सबैभन्दा बढी सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ,’ प्राधिकरण स्थापनाको ३५औं वर्ष प्रारम्भ भएको अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै मन्त्री पुनले भनेका छन्, ‘प्राधिकरण आफ्नो इतिहासमा सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ। मासिक १० युनिटभन्दा कम विद्युत् खपत गर्ने विपन्न वर्गका करिब ८ लाख ग्राहकलाई पूर्ण रूपमा विद्युत् महसुल छुट दिएबाट प्राधिकरण आफूलाई नाफामुखी मात्र नभई सेवा मुखी संस्थाका रूपमा स्थापित भएको स्पष्ट छ, म गौरवान्वित छु।’

सन्देशमा मन्त्री पुनले प्राधिकरणले ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयको योजना तथा नीतिहरूलाई आफ्नो केन्द्रीय योजना तथा सञ्चालन प्रक्रियामा समावेश गरेर कार्यान्वयन गरी नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा सहयोग पुर्‍याएकाे उल्लेख गरेका छन्।

मन्त्रालय, विद्युत् नियमन आयोग र नेपाल विद्युत् प्राधिकरणबीचको एकता र समन्वयबाट विद्युत् आपूर्ति वृद्धि गर्न एवं स्वदेशमा उत्पादित विद्युत् हरेक घरधुरी र व्यापार व्यवसायका लागि सुलभ दरमा उपलब्ध गराउने प्रतिबद्धता मन्त्री पुनले व्यक्त गरेका छन्।

केही वर्ष अगाडिसम्म मुलुकले अत्यधिक विद्युत् अभावको समस्या झेल्नुपरेको स्मरण गर्दै मन्त्री पुनले विद्युत् अभावका कारण घरासयी तथा औद्योगिक ग्राहक १६ घण्टासम्म लोडसेडिङमा बस्न बाध्य भएको अवस्थाका कारण राष्ट्रिय अर्थतन्त्रमा हदैसम्मको नकारात्मक असर पार्नुका साथै सबैलाई एक प्रकारको पीडा दिए पनि स्वदेशी विद्युतकाे उत्पादन वृद्धि, माग र आपूर्तिको व्यवस्थापन, प्राविधिक तथा व्यापारिक चुहावट न्यूनीकरण र प्रसारण तथा वितरण प्रणालीमा सुधारका कारण हाल नियमित विद्युत् आपूर्ति सुनिश्चित गर्न सकिएको उल्लेख गरे।

स्वदेशमै विद्युत् उत्पादन वृद्धि गर्ने उद्देश्यले प्राधिकरणले निजीसहित विभिन्न प्रवर्द्धनसँग करिब ६ हजार मेगावाटको विद्युत् खरिद सम्झौतामा हस्ताक्षर गरेकोे र प्रसारण तथा वितरण संरचना सुधारमा समेत दत्तचित्त भई कार्य गरिरहेको मन्त्री पुनले बताए।

उनले ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको व्यापारिक उत्पादन तथा ढल्केवर सवस्टेसनको ४ सय केभीमा स्तरोन्नति कार्य ऊर्जा क्षेत्रको प्रमुख कोसेढुङ्गाका रूपमा रहने भन्दै त्यसबाट नेपालको ऊर्जा सुरक्षामा सुधार हुने र क्षेत्रीय विद्युत् व्यापारमा बढावा मिल्ने विश्वास व्यक्त गरेका छन्।

बढ्दो विद्युत् खपत राष्ट्र तथा नागरिकको वित्तीय आर्थिक सुधारको सूचक भएको उल्लेख गर्दै मन्त्री पुनले केन्द्रीय विद्युत् प्रणालीको विस्तार गरी तथा वैकल्पिक ऊर्जाका माध्यमबाट हरेक नेपालीको घरधुरीमा विद्युतकाे पहुँच पुर्‍याउने सरकारको लक्ष्य हासिल गर्नु प्राधिकरणको मूल उद्देश्य हुनुपर्नेमा जोड दिएका छन्।

प्रदेशको सीमांकनअनुसार प्राधिकरण क्षेत्रीय कार्यालय स्थापना गरी नामांकनसमेत गरिएको र विद्युत् नियमन आयोगको गठनमार्फत ऊर्जा क्षेत्र पुनर्संरचनाको काम सम्पन्न भएकाले त्यसले ऊर्जा क्षेत्रको समग्र कार्यक्षमता अभिवृद्धि गर्ने उनको भनाइ छ।

वित्तीय अवस्थामा सुधार आएको वर्तमान अवस्थाले प्राधिकरणलाई कुशल सार्वजनिक संस्थाका रूपमा रूपान्तरित भएको उल्लेख गर्दै मन्त्री पुनले देश र जनताको सेवामा समर्पित प्राधिकरणका सबै कर्मचारीमा बधाईका साथै प्राधिकरणका आगामी वर्ष अझ सफल होउन् भन्ने शुभकामना दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .