ad ad

समाज


लापरवाहीकाे आराेप खेपेकाे अस्पताललाई प्रहरीकाे साथ, बलपूर्वक उठाइयाे शव

लापरवाहीकाे आराेप खेपेकाे अस्पताललाई प्रहरीकाे साथ, बलपूर्वक उठाइयाे शव

शैलेन्द्र महतो
साउन ३०, २०७७ शुक्रबार १६:१५,

जनकपुरको नवजीवन हस्पिटलमा उपचारका क्रममा मृत्यु भएकी ३५ वर्षीया रुकमणी सदाको लास प्रहरीले लाठीचार्ज गर्दै जवरजस्ती उठाएका छन्। मृतकका आफन्तले अस्पतालकाे लापरवाहीका कारण उनकाे मृत्यु भएकाे भन्दै शव उठाउन मानेका थिएनन्।

पित्त थैलीको अप्रेशन गर्ने क्रममा हस्पिटलले आन्द्रा काटेपछि जनकपुरधाम उपमहानगरपालिका १ धर्मवाणटोलकी रुकमणी सदाको बिहीबार साँझ ज्यान गएको थियो। लापरवाहीले बिरामीको ज्यान गएको भन्दै आफन्तजन र स्थानीयले दोषी हस्पिटलमाथि कारबाही, घटनाको छानबिन गर्न समिति गठन, क्षतिपुर्ति लगायतका चार सुत्रीय माग गर्दै शव उठाउन दिएका थिएनन्।

तर प्रहरीले शुक्रबार साँझ परिवारजनसहित स्थानीयमाथि लाठीचार्ज गर्दै अस्पतालबाट जवरजस्ती शव उठाएर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको स्थानीय लभ यादवले बताए। यसअघि बिहीबार राति पनि मृतकका आफन्त र स्थानीयले प्रदर्शन गर्दा प्रहरीले लाठी चार्ज गरी आधादर्जन बढीलाई घाइते बनाएका थिए।

घटनको मुचुल्का र आफूहरुको असहमति बिनै प्रहरीले जवरजस्ती शव उठाएको मृतक परिवारका इन्दल सदाले गुनासो गरे। शव उठाउने क्रममा मृतक परिवार र स्थानीयले प्रदर्शन गर्दै अवरोध गरेका थिए। तर प्रहरीले लाठीचार्ज गर्दै उठाएको स्थानीय लभ यादवले आराेप लगाए।

त्यसक्रममा समाचार संकलनमा गएका एकजना पत्रकार समेतलाई प्रहरीले कुटेको छ। थाहाखबरका पत्रकार सन्तोष यादवमाथि प्रहरीले कुटपिट गरेको हो।

यता धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले २४ घण्टा हुँदा समेत लास नउठाउँदा गन्हाउने अवस्था आएकाले उठाएको बताए।

‘मृत्युको २४ घण्टा बढी भयो। अस्पतालका अन्य बिरामीहरुलाई समस्या भइरहेको थियो। उनीहरु विभिन्न माग राख्दै अस्पतालसँग बार्गेनिंग गरिरहेका थिए। त्यसैले बलपूर्वक शव उठाएर पोस्टमार्टमको लागि प्रादेशिक अस्पतालमा राखिएको छ,’ डीएसपी मिश्रले नेपलखबरसँग भने ‘शवको पोस्टमार्टम भएपछि घटनाको अनुसन्धान गरेर कानुन अनुसार कारबाही हुन्छ।’

एकसाता अघि जनकपुरकै रामजानकी अस्पतालमा फरक समुहको रगत चढाउँदा मृत्यु भएकी एक सुत्केरीको शव उठाउन अस्पताल पक्षबाटै प्रहरीले पटक पटक दबाब दिएको आफन्तले गुनासो गरेका थिए। ओ को साटो बी पोजेटिभ रगत चढाउँदा महोत्तरीको गौशाला नगरपालिका ८ भरतपुरकी २३ वर्षीय सुत्केरीको मृत्यु भएको थियो।

पछिल्लो पटक जनकपुरमा अस्पतालको लापरवाहीले बिरामीको अकालमै मृत्यु हुने गरेको छ। तर प्रहरी प्रशासनले दोषीलाई कारबाही गर्नुको साटो उनीहरुकै संरक्षक बनेको सर्वसाधारणको गुनासो छ।

याे पनि: 
‘पत्थरीको अप्रेसन गर्दा आन्द्रा काटियो’, ३५ वर्षीया महिलाको मृत्यु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .