राजनीति


नेकपामा कार्यदल : डेडलक अन्त्यको खाका कोर्ने यस्तो छ जिम्मेवारी

नेकपामा कार्यदल : डेडलक अन्त्यको खाका कोर्ने यस्तो छ जिम्मेवारी

मणि दाहाल
साउन ३०, २०७७ शुक्रबार १६:०,

सत्तारुढ नेकपाका दुई अध्यक्षले हाल पार्टीमा चुलिएको विवाद सुल्झाउने सम्बन्धमा आपसी समझदारी गर्नुका साथै त्यस आधारमा प्रस्ताव तयार गर्न एक कार्यदल पनि गठन गरेका छन्।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच केही दिनको संवादहीनता अन्त्य गर्दै शुक्रबार सो कार्यदल गठन गरिएको हो।

सो कार्यदलले पार्टीको महाधिवेशनसम्म पार्टी र सरकार सञ्चालनबारे खाका प्रस्तुत गर्नेछ।

त्यसैगरी पार्टीभित्र शीर्ष नेताहरुबीच शक्ति बाँडफाट के-कसरी गर्ने भन्नेबारेमा पनि दुई अध्यक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल समेतको समझदारीका आधारमा खाका निर्माण गर्ने छ।

प्रधानमन्त्री ओली र प्रचण्डबीच शुक्रबार बालुवाटारमा भएको सहमतिअनुसार महासचिव विष्णु पौडेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको छ। कार्यदलमा भीम रावल, पम्फा भुसाल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल र जनार्दन शर्मा सदस्य छन्।

‘कार्यदलले पार्टी एकताका लागि भन्दै उपाध्यक्ष वामदेव गौतमले केही दिनअघि प्रस्तुत गर्नु भएको ६ बुँदे प्रस्तावकै वरिपरि रहेर पार्टी तथा सरकार सञ्चालनको खाका निर्माण गर्नेछ,’ दुई अध्यक्षबीच भएको सहमतिबारे जानकार एक स्थायी कमिटी सदस्यले नेपालखबरसँग भने।

नेकपाभित्र विवाद उत्कर्षमा पुगेका बेला साउन १३ गते गौतमले एकतासम्बन्धी प्रस्ताव भन्दै ६ बुँदे खाका ल्याएका थिए।

त्यसमा ओलीले महाधिवेशनसम्म अध्यक्ष नछाड्ने र उनले पूरै कार्यकाल सरकार चलाउने उल्लेख छ भने महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित पार्टी अध्यक्षको जिम्मेवारी प्रचण्डको हुने प्रस्ताव गरिएको छ।

ती सदस्यले पौडेल नेतृत्वको कार्यदलले महाधिवेशन केन्द्रित गरी पार्टी सञ्चालनको खाका ल्याउने बताए।

‘महाधिवेशनसम्मकै खाका बनाउने जिम्मेवारी दिइएको हुनाले सो मस्यौदा तयार गर्दा कार्यदलभित्रै पनि आफू अनुुकूल हुनेगरी बनाउनका लागि तीव्र रस्साकसी हुनेछ,’ ती नेताले भने।

सोही आकलन गरेर हुनसक्छ सो कार्यदलमा पार्टीका तीनै खेमाका दुई–दुई जना प्रभावशाली स्थायी कमिटी सदस्यहरुलाई राखिएको छ।

संयोजक पौडेल र पोखरेल ओली निकट हुन् भने रावल र पाण्डे नेपाल निकट स्थायी कमिटी सदस्य हुन्।

त्यसैगरी भुसाल र शर्मा प्रचण्ड निकट हुन्। नेकपाको माघमा भएको केन्द्रीय कमिटी बैठकले चैत २५ देखि ३० गतेसम्म एकता महाधिवेशन गर्ने निर्णय गरेको थियो।

कार्यदलले वरिष्ठ नेता नेपालको पनि पार्टी र सरकार सञ्चालनमा भूमिका परिभाषित हुनेगरी प्रस्ताव तयार गर्ने छ।

‘कार्यदललले वरिष्ठ नेता माधवकुमार नेपालको भूमिका पनि परिभाषित गर्नेछ,’ अर्का एक स्थायी कमिटी सदस्यले भने। दुवै अध्यक्षबीच सरकार सञ्चालन गर्दा पार्टीसँग समन्वय गर्ने विधि समेत कार्यदलले निर्धारण गर्ने गरी सहमति भएको छ।

महासचिव पौडेलले दुई अध्यक्षबीचको सहमतिले पार्टीलाई विभाजनबाट रोकेको दाबी समेत गरे। पौडेलले यो कार्यदल गठन भएसँगै पार्टीका विवादलाई संस्थागत ढंगले समाधान गरेर अगाडि बढ्ने आधार तय भएको बताए।

‘कतिपय मानिसले नेकपामा विग्रहको कल्पना गरेका थिए तर आजका मितिदेखि नेपाल कम्युनिस्ट पार्टीमा विग्रह हुँदैन, एकता अक्षुण रहन्छ भन्ने सुनिश्चित भएको छ,’ पौडेलले भनेका छन्, ‘नेकपामा विग्रहको खोजी गर्ने तत्वहरुलाई पनि अब नेकपाभित्र खेल्ने त्यस्ता व्यर्थका कोसिस नगरे हुन्छ।’

कार्यदलले पार्टीका विवाद र समाधानका उपाय के हुन् भनेर छिटोभन्दा छिटो प्रतिवेदन पेस गर्ने बताए।

उनका अनुसार त्यो प्रतिवेदनलाई आधार बनाएर दुई अध्यक्षले विवाद समाधानको प्रस्ताव पार्टीको औपचारिक कमिटीमा पेस गर्नेछन्।

प्रधानमन्त्री ओलीबाट सरकार र पार्टी सञ्चालन राम्रोसँग हुन नसकेको भन्दै पार्टीभित्र असन्तुष्ट पक्षले ओलीले कम्तीमा एक पद छाड्नु पर्ने बताउँदै आएका थिए।

विवादको कारण असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठक राम्रोसँग सञ्चालन हुन सकेको छैन।

पौडेलले नेपालखबरसँग कुरा गर्दै कार्यदलले शनिबारबाटै काम सुरु गर्ने बताएका छन्।

उनले भने, ‘चाँडै नै सहमतिको मस्यौदा प्रस्तुत गर्नेछौं।’

तर नेपाल निकट एक स्थायी कमिटी सदस्यले भने कार्यदलमा विषयवस्तु कसरी प्रस्तुत हुन्छन् र कार्यदलको कार्यविधि कसरी निर्धारण हुन्छ, त्यसका आधारमा मात्र यो पछिल्लो घट्नाक्रमबारे धारणा प्रष्ट पारिने बताएका छन्।

‘कार्यदलले के निष्कर्ष दिन्छ भन्ने महत्वपूर्ण कुरा हो। हामीले पार्टी र सरकार विधिसम्मत् सञ्चालन हुनुपर्छ भनेर भन्दै आएका हौं,’ ती स्थायी कमिटी सदस्यले भने।

कार्यदलले अहिलेसम्म स्थायी कमिटीको बैठकमा उठेको विषयवस्तुहरुलाई समेटेर समेत प्रस्ताव तयार पार्ने बताइएको छ।

गत बुधबार एपीवन टेलिभिजनसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले पाँच दिनभित्रै नेकपाको विवाद समाधान गर्ने बताएका थिए।

त्यसको भोलिपल्टै ओली र अर्का अध्यक्ष प्रचण्डबीच चार घण्टा लामो छलफल भएको थियो। त्यसपछि कार्यदल गठन गर्ने वातावरण तयार भएको हो।

योसँगै झण्डै दुई महिनादेखिको नेकपाको विवादको ‘डेडलक’ अन्त्य हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .