ad ad

समाज


यी हुन् घरमै आइसोलेसनमा बस्दा अपनाउनुपर्ने नियम

यी हुन् घरमै आइसोलेसनमा बस्दा अपनाउनुपर्ने नियम

नेपालखबर
साउन २५, २०७७ आइतबार ०:४,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितले घरमै अर्थात् होम आइसोलेसनमा बस्दा अपनाउनु पर्ने नियमबारे जानकारी गराएको छ।

नियमित कोभिड-१९ प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.प्रा.जागेश्वर गौतमले कुनै संक्रमित घरमै आइसोलेसनमा बस्न चाहेमा पालना गर्नुपर्ने नियम जानकारी गराएका हुन्।

उनका अनुसार त्यसका लागि पर्याप्त प्रकाश आउने र हावा ओहोरदोहोर हुने छुट्टै कोठा हुनुपर्नेछ। उपचार अवधिभर आवश्यक पर्ने सामान परिवारका सदस्यबाट मगाउने, पर्याप्त मात्रामा पानी, झोलिलो र पोषिलो खानेकुरा खानुपर्नेछ।

संक्रमितले प्रयोग गरेका भाँडा सफा गरेर राम्रोसँग सुकेपछि मात्रै पुनः प्रयाग गर्नुपर्ने, स्नानघर वा शौचालय छुट्टै हुनुपर्नेछ।

प्रवक्ता डा. गौतमका अनुसार सामूहिक रूपमा शौचालय प्रयोग गर्नुपर्ने अवस्थामा संक्रमितले प्रयोग गरिसकेपछि राम्रोसँग निर्मलीकरण गरेर मात्रै परिवारका अन्य सदस्यले प्रयोग गर्नुपर्नेछ।

यस्तै दाँत माझ्ने ब्रसजस्ता सामान छुट्टै राखेर प्रयोग गर्ने, घरका ढोका, टेबललगायत धेरै व्यक्तिले चलाउने सामान समयसमयमा निर्मलीकरण गर्ने, भाँडा र कपडा धुँदा पञ्जा लगाएर धुने र राम्रोसँग सुकाएर मात्र प्रयोग गर्नुपर्ने उनले जानकारी दिए।

संक्रमितको हेरचाहमा खटिने व्यक्तिले अनिवार्य रूपमा मेडिकल मास्क प्रयोग गर्नुपर्ने तथा बढी जोखिममा रहने समूह (दीर्घ रोगी, ६० वर्षमाथिका, गर्भवती र सुत्केरी) लाई टाढा राख्नुपर्ने डा. गौतमले जानकारी दिए।

यस्तै संक्रमितको ज्वरो दिनमा तीन पटक जाँच गरी अभिलेख राख्ने र सम्बन्धित स्वास्थ्यकर्मीलाई जानकारी गराउनुपर्ने उनले बताए।

उनका अनुसार श्वास प्रश्वासमा कठिनाइ भएमा, छाती दुखेमा, ओठ अनुहार नीलो भएमा, होस हराएमा र अन्य जटिल अवस्था देखिएमा तत्काल स्वास्थ्यकर्मीलाई जानकारी गराइहाल्नुपर्छ।

स्थानीय स्वास्थ्यकर्मीले दिनमा कम्तीमा दुईपटक संक्रमितको स्वास्थ्यबारे जानकारी दिनुपर्ने उनले बताए।

हरेक स्थानीय तहले ५० संक्रमितका लागि १ स्वास्थ्यकर्मीको व्यवस्था गर्नुपर्नेछ। स्वास्थ्यकर्मी वा नर्सले एक बिरामी हेरेबाफत दिनको २ सय रुपैयाँका दरले पारिश्रमिक पाउने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .