भक्तपुरमा स्कुटरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
चाँगुनारायणबाट भक्तपुरतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१५ प ७२६५ नंको स्कुटरले बुधबार दिउँसो भक्तपुर नगरपालिका १० भक्तपुर–चाँगु सडक वान्टीमा ठक्कर दिँदा घाइते पैदलयात्रीको बिहीबार बिहान मृत्यु भएको हो।
स्कुटरको ठक्करबाट घाइते भनपा–२ भोलाछें बस्ने ४१ वर्षीया सुन्दरी सुवालको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।
प्रहरीले घाइतेलाई उपचारका लागि भक्तपुर अस्पताल लगेकामा त्यहाँ उपचार हुन नसकेपछि वीर अस्पताल ट्रमा सेन्टर पठाइएको र त्यहाँ पनि उपचार हुन नसकेपछि राति न्यूरो अस्पताल बाँसबारी पठाइएकामा उपचारकै क्रममा बिहीबार बिहान ८ बजे मृत्यु भएको प्रनाउ गिरीले जानकारी र्दिए।
प्रहरीले स्कुटर चालक चाँगुनारायण नपा–६ छालिङका २२ वर्षीय आशीष कार्कीलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको जानकारी दिएको छ। रासस
Shares

प्रतिक्रिया