समाज


मलेसियाबाट ८ सय श्रमिक सरकारी खर्चमा फर्काइने, अरु दूतावासले विवरण नै पठाएनन्

मलेसियाबाट ८ सय श्रमिक सरकारी खर्चमा फर्काइने, अरु दूतावासले विवरण नै पठाएनन्

उजिर कार्की
साउन २०, २०७७ मंगलबार १३:४३,

मलेसियाबाट ८ सय श्रमिकलाई सरकारी खर्चमा फर्काइने भएको छ। त्यहाँस्थित नेपाली दूतावासले तत्काल सरकारले फर्काउनु पर्ने अवस्थामा ८ सय जना श्रमिक रहेको विवरण परराष्ट्र मन्त्रालयलाई उपलब्ध गराएको हो।

उनीहरुलाई नेपाल फर्काउन करिब ४ करोड रुपैयाँ आवश्यक पर्ने दूतावासले पठाएको पत्रमा उल्लेख छ। मलेसियाका घरफिर्ती केन्द्रमा रहेका ३ सय जना र अरु ५ सय जना सरकारी खर्चमा फर्काउनु पर्ने अवस्थामा छन्।

उनीहरुमध्ये एक वर्षभित्र त्यहाँ पुगेका कति छन् भन्ने प्रस्ट्याइएको छैन। सरकारले एक वर्षभित्रै फर्किनु पर्ने अवस्थाका श्रमिकलाई मात्रै सबै खर्च कल्याणकारी कोषबाट बेहोर्ने निर्णय गरेको छ। रोजगारीमा गएको एक वर्षभन्दा बढी भएका श्रमिकलाई फर्काउन लाग्ने ७५ प्रतिशत खर्च सरकारले बेहोर्ने छ।

पुनः श्रम स्वीकृति लिएर गएका र आफ्नै खर्चमा फर्किन नसक्ने अवस्थाका श्रमिकलाई फर्किंदा लाग्ने ५० प्रतिशत खर्च सरकारले दिने छ। तर त्यसका लागि सरकारी खर्चमा फर्काउनु पर्ने अवस्था भनेर दूतावासले प्रमाणित गर्नुपर्नेछ।

मलेसियास्थित दूतावासलाई तीमध्ये कसलाई कति खर्च आवश्यक पर्छ भन्ने समेत उल्लेख गरेर विवरण पठाउन फेरि पत्राचार गरिसकिएको श्रम मन्त्रालय श्रोतले जनाएको छ।

यता वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले भने सबै विवरण उपलब्ध हुनासाथ पेश्की रकम पठाइने बताए। तर त्यसका लागि विवरण प्रस्ट रुपमा आउनु पर्ने बोर्डको सर्त छ।

वैदेशिक रोजगार बोर्डको बैठकले कल्याणकारी कोषको ७५ करोड रुपैयाँ श्रमिक उद्धारमा खर्च गर्न स्वीकृत गरिसकेको छ। नेपाली श्रमिक रहेका देशस्थित नेपाली नियोगहरुलाई श्रमिक उद्धारका लागि आवश्यक बजेट र विवरण माग गर्दै पत्राचार गरिएको थियो।

बोर्डले श्रमिक उद्धार गर्ने निर्देशिका समेत पठाउँदै सोही आधारमा उद्धारका लागि विवरण पठाउन भनेको थियो। तर, मलेसियास्थित दूतावासले बाहेक अन्य दूतावासले विवरण पठाउन ढिलाइ गरेका हुन्।

ती देशमा पनि परराष्ट्र मन्त्रालय मार्फत ताकेता गरिरहेको श्रम मन्त्रालय श्रोतले जनाएको छ। विवरण उपलब्ध भए श्रमिक उद्धारका लागि रकम पठाउन समस्या नरहेको बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले नेपालखबरलाई बताए।

आफ्नै खर्चमा फर्किए ४० हजार बढी श्रमिक
सरकारले महँगो भाडादर कायम गरेर चार्टर्ड उडान खुल्ला गरेपछि ४० हजार बढी नेपाली विभिन्न देशबाट फर्किएका छन्। कोरोना जोखिम व्यवस्थापन समिति (सीसीएमसी) को विवरण अनुसार हालसम्म ५८ देशबाट ४० हजार ७ सय ९९ जना फर्किएका छन्।

यसरी फर्किनेमा सबैभन्दा धेरै यूएईका छन्। युएईबाट मात्रै १० हजार ४ सय ८९ जना नेपाली फर्किएका छन्। कतारबाट ३ हजार ८ सय ५९ जना, कुवेतबाट ६ हजार ३ सय २० जना, साउदीबाट ५ हजार ८ सय ७१ जना र मलेसियाबाट ५ हजार ९ सय ५७ जना फर्किएका छन्।

उनीहरुमध्ये केहीलाई रोजगारदाता कम्पनीले फर्किने टिकट दिएको हो भने धेरैजसो आफ्नै खर्चमा फर्किएका हुन्। सर्वोच्च अदालतको आदेशपछि सरकारले विदेशमा अलपत्र परेका श्रमिकको उद्धार गर्ने निर्णय गरे पनि सरकारी खर्चमा कहिलेबाट श्रमिक फर्किन पाउने हुन् भन्ने अझै अनिश्चित छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .