आज (बुधबार) र भोलि (बिहीबार) तुलनात्मक रूपमा वर्षा केही कम हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
तर पर्सि (शुक्रबार) देखि भने वर्षा फेरि बढ्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए।
‘आज र भोलि वर्षा केही कम हुने सम्भावना देखिएको छ,’ बुधबार बिहान पौडेलले नेपालखबरसँग भने, ‘तर शुक्रबार वर्षा बढ्ने सम्भावना छ।’
उनका अनुसार मनसुनी प्रणाली कहिले सक्रिय हुन्छ भने कहिले केही निष्क्रियजस्तो बन्छ। सक्रिय भएका बेला धेरै वर्षा हुन्छ भने निष्क्रिय भएका बेला झरी रोकिन्छ र घाम पनि लाग्छ।
आज र भोलिलाई भने मनसुन सामान्य अवस्थामा रहने देखिएको मौसमविद् पौडेलले बताए।
उनका अनुसार आज दिउँसो देशका सबै प्रदेशमा तर केही स्थानमा मात्र हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ भने रातिचाहिँ प्रदेश १, २ र गण्डकीका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
‘काठमाडौं उपत्यकामा पनि केहीबेरपछि वर्षा हुने सम्भावना छ,’ मौसमविद् पौडेलले भने, ‘तर यहाँ भारी वर्षाको सम्भावना देखिएको छैन।’
बुधबार वर्षा हुने क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिम रहेकाले होसियारी अपनाउन मौसमविद् २४ घण्टे चेतावनी जारी गरेका छन्।
प्रतिक्रिया