झन्डै ६० वर्षपछि नेपालमा सलह कीरा प्रवेश गरेसँगै विज्ञले किसानलाई धानको ब्याड जोगाउन सुझाव दिएका छन्। आज (शनिबार) बिहानदेखि सर्लाही, बारा, रूपन्देहीमा सलह देखिएका हुन्। सिन्धुलीमा पनि यो कीरा देखिएको सूचना आएका छन्।
कृषि अनुसन्धान परिषद् नार्कका वरिष्ठ वैज्ञानिक सुनील अर्याल धान रोप्न ठिक्क भएको ब्याड जोगाउनु पहिलो प्राथमिकता हुनुपर्ने बताउँछन्।
‘रोप्न ठिक्क पारेको धानको ब्याड जोगाउने कुरामा सबैले ध्यान दिनपर्छ। यसले सखाप बनायो भने हामीलाई ठूलो समस्या पर्छ,’ अर्यालले नेपालखबरसँग भने, ‘अहिले जे जति सूचना आएका छन्, त्यसबाट आत्तिइहाल्नपर्ने अवस्था छैन।’
उनले पछिल्लो २ दिन दक्षिण पश्चिमबाट उत्तर-पूर्व दिशामा हावा चलेका कारण सलह नेपाल आइपुगेको हुन सक्ने अनुमान गरेका छन्।
‘सामान्यता मनसुन सुरु भएपछि नेपालमा पूर्वबाट पश्चिततर्फ हावा चल्छ। तर विगत २ दिनदेखि दक्षिण-पश्चिम दिशाबाट उत्तर-पूर्वतर्फ हावा चलेको छ,’ कृषि अनुसन्धान परिषद् नार्कका वरिष्ठ वैज्ञानिक अर्यालले नेपालखबरसँग भने, ‘पछिल्ला केही दिनयता नेपालसँग सीमा जोडिएका उत्तर प्रदेश र बिहारमा सलह देखिएको कुनै सूचना थिएन।’
अर्यालले पछिल्लो समय सलह इलाहवाद आएको जानकारी प्राप्त भएकाे बताए। नेपालमा हावाको बहाव मनसुनका ४ महिना पूर्वबाट पश्चिमतर्फ र बाँकी ८ महिना पश्चिमबाट पूर्वतर्फ हुने गरेको छ।
सलहको प्रकोपबारे अध्ययन गर्ने संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ) का विज्ञले पनि उत्तरबाट दक्षिणतर्फ जाने क्रममा सलहको ठूलो समूह सानो-सानो झुन्डमा परिवर्तन भएको र नेपालमा आउने सम्भावना कम रहेको जानकारी गराएको सरकारी अधिकारीको दाबी छ। त्यसैका आधारमा कृषि मन्त्रालयले गठन गरेको कार्यदलले प्रतिवेदन दिएको थियो।
पूर्वी अफ्रिकाबाट मध्यपूर्व हुँदै इरान, पाकिस्तान भएर केही महिनाअघि सलह भारत आइपुगेको थियो। भारत-पाकिस्तान सीमा क्षेत्रमा रहेको मरुभूमि सलहका लागि प्रजननको उपयुक्त स्थल मानिन्छ।
‘नेपाल आएका सलह फूल पार्ने वयस्क पनि देखिन्छन्। तर पनि यसकाे प्रजननका लागि नेपाल उपयुक्त स्थान होइन,’ नार्कका कीट वैज्ञानिक नरेश डाँगीले भने, ‘किनकि निश्चित तापक्रम र चिस्यानयुक्त बलौटे भूभाग भए मात्र यसले धेरै सन्तान उत्पादन गर्न सक्छ।’
नेपाल आएका सलह परिपक्व भएर पहेंला भएका र हुन बाँकी रहेका गुलाबी दुवै रङका छन्। यसअघि पछिल्लो समय सन् १९६२ मा नेपालमा सलह आएका थिए। ‘सन् १९६२ यता सलह आएको जानकारी छैन,’ नार्कका वरिष्ठ वैज्ञानिक अर्यालले भने, ‘त्यस समय काठमाडौंमा समेत आइपुगेका थिए।’
अहिले नेपाल आइपुगेको सलहको समूह कति ठूलो हो भन्ने जानकारी भइसकेको छैन। एक वर्ग किलोमिटर क्षेत्रफल ढाक्नेलाई सानो समूह भन्ने गरिएको छ। एक वर्ग क्षेत्रमा ४ देखि ८ करोडसम्म सलह कीरा हुन्छन्। यसले एकै दिनमा ३५ हजार मानिसले खाने अन्न खान सक्छ।
‘भैरहवा, बुटवल र सैनामैनामा देखियो भन्ने सूचना आएको छ। तर त्यो पूरै क्षेत्र ढाक्ने गरी आएको एउटै समूह हो कि उही समूह उडेर त्यहाँ पुगेको हो, सूचना आइपुगेको छैन,’ डाँगीले भने, ‘पूरै क्षेत्र हो भने त्यसले ठूलो क्षति पुर्याउँछ।’ डाँगीले अब त्याे समूह कता जान्छ भन्ने कुरा हावाको बहावमा भरपर्ने बताए।
‘हावा कसरी, कुन दिशाबाट चल्छ भन्ने विषयले यो निर्धारण गर्छ। तर अहिले सबैको ध्यान धानको ब्याड र घोगा लाग्न थालेको मकै जोगाउने हुनुपर्छ,’ डाँगीले भने, ‘धानको ब्याड सानो क्षेत्रमा हुने भएकाले झुल राखेर पनि बचाउन सकिन्छ।’
किसानले समूह बनाएर काम गर्नुपर्ने डाँगीकाे सुझाव छ।यस्तै थाल ठटाउने, माइक छ भने बजाउने, धुवाँ लगाउने गरेर सलह भगाउन सकिने उनकाे भनाइ छ। ‘भारत र पाकिस्तानमा विषादीले खासै नियन्त्रण गर्न सकेको देखाएको छैन,’ उनले भने, ‘विषादी छर्ने हो भने बिहान ७ देखि ८ बजेसम्म छर्नुपर्छ।’
याे पनि: भारतबाट नेपाल छिर्यो सलह, कृषि मन्त्रालयले डाक्यो आकस्मिक बैठक
प्रतिक्रिया