ad ad

समाज


लकडाउनमा भारतबाट आए २ लाख ६२ हजार नेपाली, १ लाख भारतीय बाहिरिए

लकडाउनमा भारतबाट आए २ लाख ६२ हजार नेपाली, १ लाख भारतीय बाहिरिए

उजिर कार्की
असार ८, २०७७ सोमबार ११:३७,

सरकारले लकडाउन घोषणा गरेपछि भारतबाट ठूलो संख्यामा नेपाली फर्किएका छन्।

नेपालमा सबैभन्दा धेरै भारतबाटै फर्किएकामा कोरोना संक्रमण देखिएको छ। नेपालमा कोरोनाको बढी जोखिम भारतबाटै आउने नागरिकका कारण रहेको सरकारी अधिकारीहरुको आकलन छ।

तर लकडाउनकै बीचमा भारतबाट २ लाख ६२ हजार ९ सय ६ जना नेपाली घर फर्केका छन्। कोरोना जोखिम व्यवस्थापन समिति (सीसीएमसी) का अनुसार लकडाउन सुरु भएपछि वैशाखसम्ममा ७ हजार ४ सय ७८ जना नेपाल प्रवेश गरेका थिए। यो संख्या असार ७ गतेसम्ममा २ लाख ५५ हजार ४ सय २८ पुगेको छ।

जेठ र असारमा दैनिक कम्तीमा १३ सयदेखि १५ हजारसम्म फर्किएका छन्। आइतबार सबैभन्दा कम १३ सय ४६ जना फर्किएका छन्। जेठ १५ गते सबैभन्दा धेरै १५ हजार १ सय ४४ जना फर्किएका थिए।

यसरी फर्किनेमा प्रायः चार वटा प्रदेशका नागरिक रहेको पाइएको छ। सबैभन्दा धेरै सूदुरपश्चिम प्रदेशबाट र कम प्रदेश १ बाट आएका छन्। प्रदेश १ बाट जेठयता १२ हजार १ सय ५५ जना नेपाल प्रवेश गरेका छन्। तर सोही समयमा सूदुरपश्चिम प्रदेशका नाकाबाट १ लाख १९ हजार ९ सय जना नेपाल प्रवेश गरेको सरकारको तथ्यांक छ।

यस्तै प्रदेश २ बाट ३० हजार ७ सय ८९ जना र प्रदेश ५ बाट ९२ हजार ५ सय ८४ जना नेपाल प्रवेश गरेका छन्।

सरकारले जेठ एक गतेबाट नेपाल प्रवेश गर्न दिन थालेको हो। त्यसअघि विभिन्न माध्यमबाट जम्मा ७ हजार ४ सय ७८ जना मात्रै नेपाल प्रवेश गरेको पाइएको छ।

एक लाखभन्दा बढी भारत गए
लकडाउन सुरु भएपछि एक लाख बढी भारत गएको पाइएको छ। नेपालमा कार्यरत भारतीय ठूलो संख्यामा फर्किएका हुन्। ढुवानीका चालक र सहचालक समेत गरी १ लाख ६ हजार ५ सय ४३ जना नेपालबाट भारत गएका छन्।

जेठ लागेपछि ठूलो संख्यामा भारत गएका छन्। लकडाउन सुरु भएपछि वैशाखसम्ममा ३ हजार ५ सय ७१ जना भारत गएकोमा असार ७ गतेसम्ममा १ लाख २ हजार ९ सय ७२ जना भारत गएका छन्। भारततर्फ भने प्रदेश ५ का नाकाबाट ४७ हजार ३ सय ४४ जना बाहिरिएका छन्। सबैभन्दा कम सूदुरपश्चिम प्रदेशबाट १४ हजार १ सय ३९ जना बाहिरिएका छन्।

यस्तै प्रदेश १ बाट २१ हजार ४ सय ११ जना, प्रदेश २ बाट २० हजार ७८ जना जेठ यता बाहिरिएका छन्। त्यसअघि देशभरका नाकाबाट ३ हजार ५ सय ७१ जना भारत गएका थिए।

लकडाउन सुरु भएपछि घर फर्किएका नेपाली ठूलो संख्यामा सिमानामा रोकिएपछि व्यवस्थापन गर्न समस्या भएको थियो। भारतमा यातायात चल्न थालेपछि नेपालीलाई नेपाल प्रवेश गर्न सरकारले नाका नै तोकेको थियो। जेठ दोस्रो साता सरकारले २० वटा नाका तय गरेको थियो। यी नाकाबाट प्रवेश गर्नेलाई प्रदेशको क्वारेन्टिनमा राख्ने र स्थानीय तहको जिम्मा लगाउने गरिएको छ।

भारतबाट आउनेको संख्या बढेसँगै नेपालमा कोरोना संक्रमितको संख्या पनि दिनदिनै बढ्दै गएको छ। भारतबाट नेपाल प्रवेश गर्नका लागि पशुपतिनगर, काकडभिट्टा, रानी, कुनौली, ठाडी, माडर, भित्तामोड, मलंगवा, गौर, वीरगञ्ज, महेशपुर, बेलहिया, तौलिहवा, कृष्णनगर, जमुनाह नाका तोकिएका छन्। यस्तै सुरजपुर, गौरीफन्टा, गड्डाचौकी, झुलाघाट र दार्चुला बाट पनि नेपाली प्रवेश गर्न पाउने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .