समाज


मौसम महाशाखाले जारी गर्‍याे, २४ घण्टे यस्तो चेतावनी

मौसम महाशाखाले जारी गर्‍याे, २४ घण्टे यस्तो चेतावनी

नेपालखबर
असार ३०, २०७६ सोमबार १:१४,

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टा देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना औंल्याउँदै सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाले आज (साेमबार) बिहान ६ बजे सूचना जारी गर्दै देशका पूर्व, मध्य र पश्चिम क्षेत्रका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको हो।

उक्त वर्षाले देशका पहाडी भूभागमा पहिरो जाने तथा तराईमा बाढी आउन सक्ने उल्लेख गर्दै आगामी २४ घण्टासम्म प्रभावित क्षेत्रका बासिन्दालाई होसियारी अपनाउन महाशाखाले आग्रह गरेको छ।

साथै हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिबिलिटीका कारण अवरोध आउन सक्ने महाशाखाले उल्लेख गरेको छ।

महाशाखाका मौसमविद्का अनुसार मनसुन न्यून चापीय रेखा अहिले नेपालको तराई भूभागमा अवस्थित छ । जसका कारण मनसुनी गतिविधि देशभर सक्रिय अवस्थामा छ।

अहिले देशका मध्य तथा पूर्वी भूभागमा सामान्यदेखि पूर्णसम्म बदली छ। पश्चिमी भूभागमा आंशिकदेखि सामान्यसम्म बदली छ।

अहिले पश्चिमी तथा मध्य भूभागका केही स्थानमा तथा पूर्वी क्षेत्रका धेरै स्थानमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।

मौसमविद् समीर श्रेष्ठका अनुसार आज देशैभर वर्षा जारी रहने सम्भावना छ। देशका केही स्थानमा (जुन माथि उल्लेख छ) भारी वर्षा र बाँकी स्थानमा सामान्यदेखि हल्कासम्म वर्षा हुने सम्भावना रहेको उनले बताए।

‘पहिलेजस्तो लगातार झरी त पर्दैन, तर जमिन गलिसकेकाले थोरै वर्षाले पनि असर गर्ने जोखिम छ,’ मौसमविद् श्रेष्ठले भने, ‘पहाडमा पानी पर्नेबित्तिकै तराईका नदीखोलाको जलस्तर बढिहाल्छ, यसकारण सकर्तकता अपनाउन जरुरी छ।’

काठमाडौं उपत्यकामा पनि बिहानैदेखि सिमसिम पानी परिरहेको छ। बीचमा केही खुलेजस्तो गरे पनि यो क्रम दिनभर जारी रहने सम्भावना रहेको मौसमविद् श्रेष्ठको भनाइ छ।

भोलिबाट वर्षा घट्ने
मौसमविद् समीर श्रेष्ठका अनुसार अहिले नेपालमा मनसुनी न्यून चापीय रेखा र न्यून चापीय क्षेत्र दुई प्रणाली छन्। जसले भारी वर्षा गराएकाे हाे। 

तर हिजो आइतबारदेखि यी दुई प्रणालीमध्ये न्यून चापीय रेखा केही कमजोर बनेकाले वर्षाको मात्रा केही कम भएको हो। भोलि (मंगलबार) देखि भने न्यून चापीय रेखा केही दक्षिणतर्फ सर्ने सम्भावना छ। जसले वर्षा कम हुने उनको अनुमान छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .