समाज


विज्ञ भन्छन्ः उपत्यकामा कोरोना भित्रभित्रै फैलिसकेको छ, परीक्षण बढाए देखिन्छ

विज्ञ भन्छन्ः उपत्यकामा कोरोना भित्रभित्रै फैलिसकेको छ, परीक्षण बढाए देखिन्छ

सागर न्यौपाने
जेठ १६, २०७७ शुक्रबार १३:४४,

काठमाडौँ उपत्यकामा कोरोना संक्रमण भित्रभित्रै फैलिसकेको हुनसक्ने विज्ञहरुले चेतावनी दिएका छन्। जसले गर्दा काठमाडौं, भक्तपुर र ललितपुरमा महामारीको जोखिम बढेको उनीहरुको भनाइ छ।

उपत्यकामा हाल ३५ जना संक्रमितको उपचार भइरहेको छ भने दुई जनाको ज्यान गइसकेको छ। काठमाडौँको टोखामा बस्दै आएकी सिन्धुपाल्चोककी एक महिलाको १ जेठमा धुलिखेल अस्पतालमा मृत्यु भएको थियो भने १४ जेठमा ललितपुरको किस्ट अस्पतालमा अर्का एक ५७ वर्षीय व्यक्तिको ज्यान गएको छ।

संक्रमितमध्ये काठमाडौंका १८, भक्तपुरा ४ र ललितपुरका १ गरी २३ जना छन्। बाँकी अन्य जिल्लाका रहेका छन्।

काठमाडौंको टोखा नगरपालिका, बुढानीलकण्ठ नगरपालिका, काठमाडौं महानगरपालिकाको मैतीदेवी तथा भक्तपुर र ललितपुरमा कोरोना संक्रमित फेला परेका छन्।

ललितपुरका एक मात्र संक्रमितको मृत्यु भइसकेको छ। मृत्युलगत्तै उनमा कोरोना पुष्टि भएको थियो। लकडाउनको कारण घरबाट बाहिर ननिस्किएका उनलाई कहाँबाट कोरोना सर्‍यो, हालसम्म पत्ता लागेको छैन।

यस्तै १ जेठमा ज्यान गुमाएकी २९ वर्षीया महिलाले त्यसको ९ दिनअघि त्रिवि शिक्षण अस्पतालमा बच्चा जन्माएकी थिइन्। मृत्युपछि उनलाई कोरोना पुष्टि भएको थियो। उनलाई पनि कहाँबाट कोरोना सर्‍यो, अझै टुंगो लागेको छैन। उनको सम्पर्कमा आएका कसैमा पनि भाइरस देखिएको छैन।

यी केसहरुलाई नजिकैबाट विश्लेषण गरिरहेका जनस्वास्थ्य वैज्ञानिक डा. समीरमणि दीक्षितले काठमाडौं उपत्यकामा कोरोनाको जोखिम तीव्र रुपमा बढेको बताए।

‘उपत्यकामा ठाउँठाउँमा जति मात्रामा संक्रमित भेटिएका छन्, त्यो भनेको संक्रमण फैलिसकेको प्रमाण हो,’ नेपालखबरसँग डा. दीक्षितले भने, ‘परीक्षण बढाउने हो भने यो संख्या ह्वात्तै बढिसकेको देखिन्छ।’

उनले टिचिङ अस्पतालमा बच्चा जन्माएकी महिला र बुङमतीका व्यक्तिको मृत्युले पनि उपत्यकामा कोरोना संक्रमण फैलिसकेको देखिएको बताए।

संक्रामक रोग तथा जनस्वास्थ्य विज्ञ डा. अनुप सुवेदीले उपत्यकाको फरक–फरक र बाहिरबाट सम्पर्क नभएको ठाउँमा संक्रमित भेटिनु र केहीको मृत्यु हुनुले संक्रमण तीव्र रुपमा फैलिसकेको संकेत गर्ने बताए।

‘उपत्यकाका तीनै सहरमा कोरोना संक्रमण भित्रभित्रै फैलिसकेको छ’, डा. सुवेदीले भने, ‘समुदायमा संक्रमण फैलियो। यो डरलाग्दो अवस्था हो।’

उनले यसलाई ठूलो खतराको घण्टी भन्दै कहाँ कहाँ र कता कता फैलियो भनेर टे«सिङ गर्नुपर्नेमा त्यसो हुन नसकेको बताए।

काठमाडौंमा विगत दुई हप्ताभित्रमा व्यापक मात्रामा संक्रमण फैलिएको हुनसक्ने र यो संख्या अझै दुई तीन हप्तामा तीव्र रुपमा बढ्ने उनीहरु बताउँछन्।

‘अहिलेसम्म कतिमा फैलियो भन्ने थाहा पाउन तीव्र रुपमा परीक्षण गर्नुपर्छ,’ डा. दीक्षितले भने, ‘एक संक्रमितले औसतमा ३ जनालाई सार्ने मान्यताका आधारमा पनि उपत्यकाभित्र भाइरस कयौं बस्तीमा पुगेको हुनसक्छ।’

डा. सुवेदी पनि जोखिम भएको क्षेत्र पहिचान गरेर, दैनिक कार्यक्षेत्रमा खटिने प्रहरी, तरकारी व्यवसायी, किराना पसलेहरुको पीसीआर परीक्षण बढाउन सुझाव दिन्छन्।

डा. दीक्षित पनि परीक्षण बढाउनुको विकल्प नरहेको बताउँछन्।

‘जति देखियो त्यो केही मात्रा हो, संक्रमण भित्र व्यापक छ, कन्ट्याक्ट टे«सिङ र टेस्टिङ गरौं, संक्रमित पत्ता लाग्छ,’ उनले थपे।

अझै ३ हप्ता जोखिममा उपत्यका
लकडाउन खुकुलो भएसँगै काठमाडौं उपत्यका भित्रिने सवारी चाप बढ्ने र त्यसले संक्रमण झन् फैलाउने विज्ञहरुको चिन्ता छ।

उनीहरुले अबको तीन हप्ता काठमाडौंमा संक्रमितको संख्या तीव्र रुपमा बढ्ने र त्यसपछि कम हुँदै जाने बताए।

‘अबको ३ हप्ता अझै जोखिम छ, त्यही बेलामा तीव्र रुपमा संक्रमण फैलिन्छ, त्यसपछि क्रमशः कम हुँदै जान्छ,’ डा. दीक्षितले थपे।

संक्रमण भएको कहिलेकाहीँ तत्काल नदेखिने र त्यसले चापेपछि मात्र देखिने खतरामा पनि सचेत हुनुपर्ने डा. सुवेदीको जोड छ।

‘कसै–कसैलाई तत्काल लक्षण देखिँदैन। तर, कोरोना फैलिरहेको हुन्छ र अन्त्यमा कुनै लक्षण देखिएर मृत्यु पनि हुन्छ, अनि हतार हतार अस्पताल लगेर के गर्ने?’ डा. सुवेदीले प्रश्न गरे।

लक्षण नदेखिएपनि त्यस्ता व्यक्तिको पहिचान गरेर आइसोलेट गर्नुपर्ने उनीहरुको सुझाव छ।

‘कोरोना संक्रमण फैलिसकेको भएपनि केहीमा लक्षण नै देखिएको छैन,’ डा. दीक्षितले भने, ‘कडा खालको रुघा भनेर कतिपय घरमै आराम गरेर बसेका हुनसक्छन्।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .