समाज


काठमाडौंसहित विभिन्न स्थानमा रातिदेखि नै वर्षा जारी, यी स्थानमा बाढी आउने सम्भावना

काठमाडौंसहित विभिन्न स्थानमा रातिदेखि नै वर्षा जारी, यी स्थानमा बाढी आउने सम्भावना

नेपालखबर
जेठ १६, २०७७ शुक्रबार १:४८,

काठमाडौं उपत्यकासहित मध्य तथा पश्चिम पहाडी भेगमा अहिले (शुक्रबार बिहान) वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।

यो वर्षा अझै केही घण्टा जारी रहने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले नेपालखबरसँग बताइन्।

नेपाल बाढी पूर्वानुमान शाखाले पनि शुक्रबार बिहान ६ः३० बजेतिर चेतावनी जारी गर्दै भनेको छः  ‘हाल कास्की गोरखा, तनहुँ, लमजुङ, धादिङ, नुवाकोट, काठमाडौं उपत्यका र आसपास मध्यम वर्षा भएको छ र अर्को ६ घण्टासम्म थप वर्षा हुन सक्ने, ससाना नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक बहावको सम्भावना, सतर्क रहौं।’

मौसम पूर्वानुमान महाशाखाले पनि शुक्रबार बिहान आफ्नो ट्विटमार्फत भनेको छः  हाल नेपालको सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती र प्रदेश ५ केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा भइरहेको छ, उक्त प्रणाली पूर्वतिर सर्दै गरेको हुँदा हुँदा सतर्कता अपनाउन अनुरोध छ।’

बिहीबार पनि वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बाढी तथा डुबानको समस्या देखिएको थियो।

मौसमविद् नगरकोटीका अनुसार पोखरालगायत पश्चिम पहाडमा मध्यरातिदेखि वर्षा सुरु भएको र त्यो प्रणाली पूर्व सर्दै काठमाडौं उपत्यकालगायत आसपासका क्षेत्रमा भने बिहान ३ बजेदेखि पानी परिरहेको हाे। 

‘अहिले काठमाडौं उपत्यकामा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ,’ उनले भनिन्, ‘तर कुनै ठाउँमा पानी पर्ने तथा कुनै ठाउँमा नपर्ने पनि भइरहेको छ।’

अरू एक-डेढ घण्टा यही क्रम जारी रहने देखिएको र त्यसपछि वर्षा रोकिने सम्भावना भए पनि पुनः दिउँसो ३ बजेपछि मौसम बदली भई वर्षा सुरु हुने सम्भावना रहेको मौसमविद् नगरकोटीले जानकारी दिइन्। 

‘पश्चिमी पहाडमा भने एकैचोटि राति मात्र वर्षा रोकिने सम्भावना छ,’ उनले भनिन्, ‘यो वर्षा एकोहोरो त हुँदैन, बीचबीचमा रोकिने, फेरि पानी पर्ने हुने देखिन्छ।’

अहिले प्रिमनसुन भएकाले वर्षाका साथ मेघगर्जन/चट्याङ र हावाहुरीको पनि उत्तिकै सम्भावना रहने उनले बताइन्।

उनका अनुसार अहिले पश्चिम तथा मध्य क्षेत्रको तराईमा भने पानी परेको छैन भने पूर्वी तराईमा भने बादल बनिरहेको छ।

मौसमविद् नगरकोटीका अनुसार अहिले नेपालमा पश्चिमी तथा स्थानीय वायु, पूर्वी भूभागनजिकै निम्न चापीय रेखाको प्रभाव छ भने बंगालको खाडीबाट जलवाष्पयुक्त हावासमेत भित्रिरहेकाले नेपालमा वर्षा हुने क्रम बढेको हो।

राति पनि पूर्वी र  मध्य भू-भागलगायत पश्चिमी पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित वर्षाको  सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad