पहिरो खसेपछि रातभर अवरुद्ध बनेको नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्डमा आज बिहानबाट गाडी चल्न थालेका छन्।
विभिन्न स्थानमा खसेको पहिरो पन्छाएपछि यस सडक खण्डमा शुक्रबार बिहानबाट दुईतर्फी नै गाडी चल्न थालेका हुन्।
बिहीबार साँझ धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला नजिक तिग्राङ खानी क्षेत्रमा पहिरो खसेपछि रातभर पृथ्वी राजमार्ग पूर्णरुपमा बन्द गरिएको थियो।
जिल्ला प्रशासन कार्यालय, धादिङले बिहीबार साँझ सूचना जारी गर्दै राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको जानकारी दिएको थियो।
रातभर रोकिएका सवारी साधन अहिले सुचारु भएका प्रहरीले जनाएको छ।
तर पहिरोका कारण सडक क्षेत्रमा जोखिम कायमै रहेकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाएर यात्रा गर्न पनि प्रहरीले अनुरोध गरेको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले यात्रु, सवारी चालक तथा सरोकारवालालाई आवश्यक सहयोग, समन्वय र जानकारीका लागि नेपाल प्रहरीको हटलाइन नम्बर १००, सशस्त्र प्रहरी बल नेपालको नम्बर १११४, जिल्ला आपत्कालीन सञ्चालन केन्द्रको नम्बर १२३४ मा सम्पर्क गर्न अनुरोध गरेको छ।
Shares

प्रतिक्रिया