ad ad

समाज


सात संक्रमित भागेपछि नरैनापुरमा सेना तैनाथ, ५० बेडको आइसोलेसन बनाइँदै

सात संक्रमित भागेपछि नरैनापुरमा सेना तैनाथ, ५० बेडको आइसोलेसन बनाइँदै

उजिर कार्की
जेठ १२, २०७७ सोमबार १३:२२,

कोरोना संक्रमितको संख्या बढ्दै जाँदा स्थिति नियन्त्रणबाहिर जान नदिन बाँकेको नरैनापुर गाउँपालिकामा सेना परिचालन गरिएको छ।

कोरोना संक्रमण पुष्टि भएपछि ९ गते राति नरैनापुरको वडा नम्बर ५ स्थित क्वारेन्टिनबाट ७ जना संक्रमित भागेका थिए।

तीमध्ये ६ जनालाई त्यही राति भारतीय सिमानाबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। एक जनालाई भने भोलिपल्ट मात्रै फेला पारिएको गाउँपालिकाका एक अधिकारीले जानकारी दिए।

‘एउटै क्वारेन्टिनका १२ जनामा संक्रमण पुष्टि भएपछि नेपाली सेनाको टोली लिन आएको थियो, तर सेनाको टोली नपुग्दै ७ जना भागे,’ उनले भने, ‘त्यसपछि संक्रमित नलिई सेनाको टोली फर्कियो।’

राति भारतीय सीमा सुरक्षा बल एसएसबीले रोकेपछि उनीहरु पक्राउ परेका थिए। संक्रमण पुष्टि भएर अस्पताल लैजान लागेपछि उनीहरु भारततिर भाग्न खोजेका थिए। त्यसअघि भारतमै काम गरेर फर्किएका उनीहरुलाई गाउँकै विद्यालयमा तयार गरिएको क्वारेन्टिनमा राखिएको थियो।

उनीहरु पक्राउ परेपछि सेनाको टोली पुनः आएर उनीहरुलाई अस्पताल लगेको थियो।

त्यसअघि पनि संक्रमितलाई अस्पताल लैजान स्थानीयले अवरोध गर्दै आएका थिए।

‘गाउँमा बिरामी लिन टोली आउँदा स्थानीयले क्वारेन्टिन घेरेर लैजानै दिँदैनथे, हाम्रा मान्छेलाई केही भएको छैन। किन लैजानुपर्‍यो भन्दै अवरोध गर्थे,’ उनले भने।

शुक्रबार संक्रमित भागेपछि शनिबार नै गाउँपालिकाले सेना परिचालन गरिदिन माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरेको थियो। यस्तै नरैनापुरमा निषेधाज्ञा पनि जारी गरिएको थियो।

लकडाउनको समयमा सेना परिचालन गर्न नमिल्ने भएपनि निषेधाज्ञा जारी गरेपछि सेना परिचालन गर्न पाइने स्थानीय प्रशासन ऐनमा व्यवस्था छ।

नेपाल प्रहरीले क्वारेन्टिनमा र सशस्त्रले सीमा क्षेत्रमा गस्ती गर्दै आएका छन्। तर नेपाली प्रहरीका एक जना जवानमा पनि संक्रमण देखिएपछि प्रहरीको संख्या कम गरिएको थियो।

लकडाउनकै क्रममा पनि स्थानीय क्वारेन्टिनमा आउने र आफन्तसँग भेट गर्दै फर्किने गर्थे। लकडाउन कार्यान्वयन नै नभएपछि गाउँपालिकाले स्थिति नियन्त्रण बाहिर गएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई गुहारेको थियो।

नरैनापुरका मात्रै एक सय १४ जनामा संक्रमण देखिएको छ। एक युवाको क्वारेन्टिनमै ज्यान गइसकेको छ। उनको मृत्युपछि स्थानीयले गाउँपालिकाको विश्वास गर्न छाडेको ती अधिकारीले बताए।

अहिले गाउँपालिकाभित्र रहेका १६ वटा विद्यालयमा ६ सय १९ जना क्वारेन्टिनमा छन्। यसअघि ३४ जना घर फर्किएका छन्। आरडीटी र पीसीआर दुवै रिपोर्ट नेगेटिभ आएका ३४ जनालाई घर पठाइएको गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले बताए।

अझै एक सय ५० जनाको स्वाब संकलन गर्न बाँकी छ। कतिपयलाई भने सँगै रहेकामा संक्रमण देखिएपछि दोस्रो पटक परीक्षण गराउन क्वारेन्टिनमा राखिएको छ।

आइतबार रातिबाट नेपाली सेना पठाएसँगै गाउँको स्थिति सामान्य बनेको उनको भनाइ छ।

‘सेनाले बिहानैदेखि माइकिङ गरेर कसैलाई घर बाहिर ननिस्कन भनेको छ, गाउँ गाउँमा गस्ती गरिरहेको छ,’ मिश्राले भने, ‘सेना आयो अब उतपात गर्नुहुन्न भन्न थालेका छन्।’

नरैनापुरमै ५० बेडको आइसोलेसन
संक्रमितको संख्या धेरै भएपछि नरैनापुरमा आइसोलेसन वार्ड बनाउने तयारी भएको छ। बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार ५० बेडको आइसोलेसन नरैनापुरमै तयार गर्न अध्ययन थालिएको छ।

‘त्यहाँको स्वास्थ्यचौकीमा हुन्छ कि अन्य ठाउँमा हुन्छ टोलीले अध्ययन थालेको छ,’ सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले भने, ‘सामान्य अवस्थाका संक्रमितलाई त्यहीँ राख्छौं, गम्भीर बिरामी भए मात्रै अस्पताल ल्याउँछौं।’

यसअघिका संक्रमितलाई कोहलपुर, नेपालगन्ज र खजुरा गाउँपालिकास्थित अस्पतालमा लगिएको छ।

आइतबार राति त्यहाँ पुगेको ४५ जना नेपाली सेनाको टोलीले जयकिसन माविमा बसेर काम थालिसकेको छ। आवश्यकता अनुसार सेना थप गरिने जिल्ला सुरक्षा समितिको तयारी छ। अब थपको स्वाब संकलन गर्ने, लकडाउनलाई प्रभावकारी बनाउने काममा पनि सेनाले सहयोग गर्ने उपध्यायले बताए।

कोरोना फैलिन नदिन निषेधित क्षेत्र घोषणा गर्नु परेको उनको भनाइ छ। सेनासँगै जिल्लाबाट केही डाक्टर र अरु स्थानीय स्वास्थ्यकर्मी परिचालन गरिने भएको छ।

बाँकेले थप स्वास्थ्यकर्मी पठाउन केन्द्र सरकारसँग माग गरेको छ। क्वारेन्टिनमा भएकाको परीक्षण सकिएपछि भारतबाट आउनेहरुलाई क्वारेन्टिनमा राख्ने तयारी गरिएको छ। अहिले नरैनापुरमा प्रवेश निषेध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .