मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई साधारण तारेखमा रिहा गर्न जिल्ला अदालत पर्साले आदेश दिएको छ।
विद्युतीय कारोबार र राज्यविरुद्धको कसुरमा मंगलबार थुनछेक आदेश भएको हो।
पर्साका जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले उनलाई साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो।
यसअघि सर्वोच्च अदालतले पनि प्रसाईंलाई अब थप हिरासतमा नराख्न र थपिएको म्यादभित्रै अनुसन्धान टुंग्याउन र नटुंगिए पनि हिरासत बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको थियो।
त्यो म्याद आइतबार सकिएको थियो। म्याद सकिएको भोलिपल्ट सोमबार प्रसाईंविरुद्ध मुद्दा दर्ता भएको हो।
नागरिक बचाउ अभियानका अध्यक्ष समेत रहेका प्रसाईंलाई कार्यक्रमका लागि पर्सा पुगेका बेला प्रहरीले जेठ ४ गते पक्राउ गरेको थियो।
आफूलाई गैरकानुनी थुनामा राखिएको भन्दै उनको तर्फबाट दायर बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासले प्रसाईंको रिट खारेज गर्दै अब म्याद थप नगर्न सरकारका नाममा परमादेश दिएका थिए।
वीरगञ्जको होटल सिद्धार्थ दियालोमा पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिलाई लिएर उनीमाथि साइबर अपराध र राज्यविरुद्धको कसुरमा जरुरी पक्राउ पुर्जी दिएर प्रसाईंलाई पक्राउ गरेको थियो। जेठ ५ गते पर्सा जिल्ला अदालतले पहिलो पटक ३ दिनको अनुमति दिएको थियो।
जेठ ७ गते दोस्रो पटक चार दिनको म्याद थप गरिएको थियो।
Shares

प्रतिक्रिया