आज (बुधबार) पनि काठमाडौँ उपत्यकामा मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार अहिले काठमाडौँ उपत्यकाको आकाशमा साधारणतया बादल लागेको छ।
‘बिहान हल्का वर्षा भएको थियो, अहिले रोकिएको छ’ , उनले नेपालखबरसँग बुधबार बिहान ७ बजेतिर भने, ‘फेरि पर्ने सम्भावना छ। आज मध्यमसम्म वर्षा हुने देखिएको छ।’
मौसमविद् अधिकारीका अनुसार आज काठमाडौँ उपत्यकामा मौसम एकैछिन खुल्ने, फेरि बादल लाग्ने, पानी पर्ने, रोकिने, फेरि पर्ने क्रम चलिरहने सम्भावना छ।
देशभरको सम्भावित मौसम र वर्षाका सम्बन्धमा भने मौसम महाशाखाले अहिले बिहान ८ बजे बुलेटिन जारी गर्नेछ।
हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।
यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।
Shares

प्रतिक्रिया