सिन्धुपाल्चोककी एक सुत्केरीको मृत्यु कोरोना संक्रमणका कारण भएको पुष्टि भएपछि त्रिवि शिक्षण अस्पतालका चिकित्सकसहित १ सय ६१ जनाको स्वाब संकलन गरिएको छ।
गत बिहीबार मृतक महिलाको मृत्युको कारण कोरोना संक्रमण भएको शनिबार पुष्टि भएपछि चिकित्सकको स्वाब संकलन गरिएको हो।
उनको सम्पर्कमा भएका चिकित्सकको स्वाब संकलन गरिएको अस्पतालले जनाएको छ। अस्पतालका डाक्टर, नर्स र अन्य कर्मचारी गरी १ सय ६१ को कोरोना परीक्षण गर्न लागिएको अस्पतालको कोरोना व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले बताए।
आइतबार १०१ जनाको र सोमबार ६० जनाको स्वाब संकलन गरिएको हो। उनीहरु कसैको पनि रिपोर्ट आइसकेको छैन।
यसअघि सोही अस्पतालमा उपचाररत एक बालिकामा कोरोना संक्रमण देखिएपछि अस्पतालका स्वास्थ्यकर्मी र बिरामीका आफन्तको स्वाब संकलन गरिएको थियो। कसैलाई पनि कोरोना संक्रमण देखिएको थिएन।
प्रतिक्रिया