समाज


खरिदारको जागिर छाडेर इन्सपेक्टर, ब्याचीको अवकाशपछि आईजीपी

पौडेलले २३ महिना सम्हाल्नेछन् सशस्त्रको कमान्ड
खरिदारको जागिर छाडेर इन्सपेक्टर, ब्याचीको अवकाशपछि आईजीपी

उजिर कार्की
बैशाख १४, २०८३ सोमबार १७:४३, काठमाडौँ

सरकारले सशस्त्र प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गरेका नारायणदत्त पौडेल प्रहरी सेवामा आउनुअघि खरिदारको जागिर खान्थे। 

२०५४ सालमा नेपाल प्रहरी निरीक्षक (इन्सपेक्टर) को भर्ना खुल्यो। सुर्खेत घर भएका पौडेल ५ वर्ष पहिलेदेखि वीरेन्द्रनगर नगरपालिकामा काम गरिरहेका थिए। त्यसपछि उनी इन्सपेक्टरको फाराम भर्न काठमाडौँ आए। खरिदारको जागिर छाडेर प्रहरी सेवामा प्रवेश गरेका पौडेललाई २८ वर्षको सेवापछि सोमबार मन्त्रिपरिषद् बैठकले आईजीपी बनाउने निर्णय गर्‍यो।

संगठनको सर्वोच्च पदमा पुग्ने भएपछि पौडेलले सम्झिए, ‘म प्रहरी बन्छु नै भनेर त आएको होइन। साथीहरूले इन्सपेक्टर भिडौँ न त भनेपछि आएको हो, पहिलो पल्टमै नाम निस्कियो। प्रहरी फोर्समा आउँछु होला भन्ने त मैले कल्पना पनि गरेको थिइनँ।’

कृषक परिवारमा जन्मिएका हुन् पौडेल। २०५४ साल चैत १८ गते पौडेल नेपाल प्रहरीको निरीक्षकमा भर्ना भए। जतिबेला देशमा सशस्त्र द्वन्द्व भइरहेको थियो। 

सुरक्षाकर्मीलाई सबैभन्दा जोखिम मानिन्थ्यो रुकुम, रोल्पा। तर पौडेलको तालिम सकिएपछिको पहिलो पोस्टिङ नै रोल्पामा भयो। त्यतिबेला स्ट्राइकिङ बेसहरू खडा गरिएका थिए। 

रोल्पाका दुई वटा इलाका प्रहरी कार्यालयमा खटिए पौडेल। ती दुवै ठाउँमा तत्कालीन माओवादीले आक्रमण पनि गर्‍यो। दोहोरो भिडन्त भयो। 

‘अहिले सम्झिँदा लाग्छ, यस्तो परिस्थिति फेरि सिर्जना होला र देशमा भन्ने लाग्थ्यो। तर जतिसुकै जोखिम भए पनि राज्यले सुम्पिएको जिम्मेवारी फौजले पूरा गर्नैपर्‍यो। त्यहाँ हुँदा पनि धेरै घटनाहरू भए। कति साथीहरू बाँचेर फर्किएनन्,’ पौडेलले सम्झिए। 

दुई वटा संगठनमा २८ वर्ष बिताएका पौडेल भने आफ्नै ब्याचीको अवकाशपछि आईजीपी बने। हाल दुवै संगठन (नेपाल प्रहरी र सशस्त्र प्रहरी) का आईजीपी उनकै ब्याची हुन्।

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की पनि उनकै ब्याची हुन्। सँगै सेवामा प्रवेश गरेका उनीहरू भने अवकाश पनि सँगै हुनेछन्। 

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल आगामी वैशाख १८ गते आईजीपीको चार वर्षे पदावधि पूरा गरेर अवकाश हुनेछन्। त्यसपछि सशस्त्र प्रहरीको नेतृत्व सम्हाल्नेछन् पौडेलले। अर्याल र पौडेल निरीक्षकदेखि डीआईजीसम्म एकसाथ बढुवा भएका थिए।

साथीको अवकाशपछि संगठनको नेतृत्व गर्ने अवसर उनले पाएका छन्। एउटै ब्याचका दुई जना आईजीपी बन्ने अवसर विरलै प्राप्त हुन्छ।

‘सरकारले जुन महत्वपूर्ण जिम्मेवारी दिएको छ, हामी अहिले नयाँ परिवेशमा छौँ। सरकार नयाँ सोचले अगाडि बढिरहेको अवस्था छ। सशस्त्र प्रहरीले अहिलेसम्म जुन किसिमका कामहरू गर्दै आइरहेको छ,’ पौडेलले भने, ‘यसअघिको नेतृत्वले गर्दै आएको राम्रो कुरालाई कायम गर्दै संगठनको छवि उँचो बनाउन र म्यान्डेट पूरा गर्नलाई प्रभावकारी भूमिका निर्वाह गर्छु। मेरो जुन अठोट छ, त्यही अनुसार अगाडि बढ्छु।’

संगठनको नेतृत्वसम्म पुग्न पौडेलको करिअरमा अर्को महत्वपूर्ण घुम्ती २०५८ सालमा आयो। जतिबेला उनले नेपाल प्रहरीबाट सशस्त्र प्रहरीमा जाने निर्णय लिए। त्यो ब्याचका (ब्याच नं १११) २९ जना प्रहरी निरीक्षकमा भर्ना भएका थिए। तीमध्ये ८ जना आन्तरिकतर्फ (पहिल्यै प्रहरीका तल्ला दर्जामा कार्यरत) थिए। खुल्लाबाट आएका २१ जनामध्ये पाँच जना २०५८ सालमा सशस्त्र प्रहरीमा स्थानान्तरण भए। 

नेपाल प्रहरीका जुनसुकै तहबाट पनि सशस्त्र प्रहरीमा जानेलाई सरकारले एक तह बढुवा गर्ने निर्णय गरेको थियो। तर अर्को संगठनमा जान बाध्यकारी थिएन। तर यो टोलीका राजु अर्याल र नारायणदत्त पौडेलसहित ५ जना सशस्त्र प्रहरीमा सरे। उनीहरू सशस्त्र प्रहरीमा जानासाथ डीएसपी भए। 

२०५८ वैशाख ४ गते सशस्त्र प्रहरीमा स्थानान्तरण हुनुपहिले उनी पनि नेपाल प्रहरीबाट रोल्पामा स्ट्राइकिङ टोलीको कमान्डर थिए। त्यतिबेला उत्कृष्ट काम गरेको भन्दै एक ग्रेड बढुवा गर्दै उनलाई पुरस्कृत गरिएको थियो।
 
इलाका प्रहरी कार्यालय विर्तामोड झापा, प्रहरी प्रशिक्षण प्रतिष्ठान, जिल्ला प्रहरी कार्यालय दाङमा खटिएका थिए। त्यसपछि सशस्त्र प्रहरीमा सरेका हुन्। 

सशस्त्र प्रहरीमा गएसँगै एक तह बढुवा भएर डीएसपी भएका थिए। २०५८ असार १८ गते कामु डीएसपी भएका पौडेलसहितको टोली चैत १८ गते डीएसपी भएको थियो। सशस्त्र प्रहरीमा गएपछि उनी सुरक्षा बेस तुल्सीपुरको प्रमुख भए। राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा पनि खटिएका थिए। 

२०६३ चैत २९ गते एसपीमा बढुवा भएपछि शान्ति प्रक्रियाका बेला अनमिन मातहत हतियार अनुगमनको सदस्यको रुपमा काम गरेका थिए। एसपीमै रहँदा सीमा सुरक्षा कार्यालय बर्दिया, निलबराही गण र बंगलामुखी विशेष कार्यदल गणको गणपति समेत भएका थिए। 

यस्तै पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय बराह बाहिनी पकली, सशस्त्र प्रहरी बल प्रधान कार्यालय कार्य विभाग र उपत्यका सशस्त्र प्रहरी बल मुख्यालय पशुपतिनाथ बाहिनीमा पनि खटिएका थिए। 

२०७० जेठ २ गते सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएपछि प्रधान कार्यालयमा प्रशासन विभाग, व्यावसायिकता तथा गुणस्तर निर्धारण निर्देशनालय, उपत्यका सुरक्षा कार्यालयमा रही नीतिगत तथा रणनीतिक योजना निर्माणमा पनि काम गरेको अनुभव पौडेलसँग छ। 

सशस्त्र प्रहरी बल प्रधान कार्यालय आर्थिक प्रशासन महाशाखा प्रमुख तथा यूएन शान्ति स्थापनार्थ तालिम शिक्षालय, ककनीका समादेशकको रुपमा काम गरेका पौडेलले एसएसपी हुँदै पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय बराह बाहिनी पकली र सुदूरपश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय वैद्यनाथ बाहिनीमा सहायक बाहिनीपतिका रुपमा जिम्मेवारी पाएका थिए। 

२०७५ कात्तिक १३ गते डीआईजीमा बढुवा भएपछि कार्य तथा सीमा सुरक्षा विभाग र मानवश्रोत विभागमा खटिएका थिए। यस्तै बाहिनीपतिको रुपमा लुम्बिनी तथा गण्डकी प्रदेशस्थित बाहिनी मुख्यालयहरूमा नेतृत्व गरेका थिए। 

२०७९ जेठ ६ गते अतिरिक्त महानिरीक्षकमा बढुवा भएपछि मानव स्रोत, सीमा तथा कार्य विभागको विभागीय प्रमुखका रुपमा काम गरेको अनुभव पनि उनीसँग छ। पौडेलले २८ वर्ष सेवामा रहँदा सुप्रबल जनसेवाश्री, प्रबल जनसेवाश्री (चौथो), गोरखा दक्षिणबाहु (चौथो), प्रदेश सेवा पदक र संयुक्त राष्ट्रसंघ पदक पनि प्राप्त गरेका छन्। उनले यूएन शान्ति मिसनमा लाइबेरियामा ६ महिना र कोसोभोमा २५ महिना काम गरेका छन्। 

अब २३ महिना सशस्त्रको कमान्ड उनैले गर्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad