समाज


वीरगन्जको मुख्य सहरमा सुरु भयो सडक विस्तार, १३ वटा डोजरले भत्काउन थाले संरचना

वीरगन्जको मुख्य सहरमा सुरु भयो सडक विस्तार, १३ वटा डोजरले भत्काउन थाले संरचना

नेपालखबर
बैशाख ६, २०८३ आइतबार १०:४५, काठमाडौँ

सडक विभागले वीरगन्जमा सडक विस्तार कार्य सुरु गरेको छ। 

आइतबार बिहानैदेखि विभागले वीरगन्ज महानगरपालिका र स्थानीय प्रशासनको सहयोगमा वीरगन्जको मुख्य सडक क्षेत्रका संरचनामा डोजर चलाउन सुरु गरेको हो। 

बिहानैदेखि एकैसाथ १३ वटा डोजर लगाएर शहरको मुख्य मार्ग चौडा बनाउने काम भइरहेको छ। 

वीरगन्जको मुख्य सडकलाई दायाँबायाँ दुवैतर्फ २५–२५ मिटर फराकिलो बनाउने उद्देश्यले पावरहाउस, मुर्ली, घण्टाघर, माइस्थान, आदर्शनगर, मकालु होटल चोक, वीर्ता, छपकैया हुँदै भन्सार क्षेत्रसम्मका सडकका संरचना भत्काउन थालिएको हो।  

जिल्ला प्रशासन कार्यालय पर्साले शनिबार साँझ विज्ञप्ति जारी गर्दै आइतबार बिहानदेखि सडक विस्तारको कार्य सुरु हुने जानकारी दिएको थियो। 

सडकको मापदण्ड क्षेत्रमा पर्ने पसल तथा संरचना खाली गर्न पनि स्थानीय प्रशासनले आग्रह गरेको थियो। प्रशासनको आग्रहपछि कतिपय स्थानीयले सरसामान सारेर घर खाली गरेका थिए।

सडक विस्तार कार्यमा अवरोध नहोस् भनेर वीरगन्जमा बिहानैदेखि बाक्लो संख्यामा सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ।

सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख गुरु अधिकारीका अनुसार वीरगन्ज शहरको सडक विस्तार कार्यका लागि सडक डिभिजन कार्यालयको ९ वटा र वीरगन्ज महानगरको ४ वटा डोजर परिचालन गरिएको छ। 

सडक विस्तार सुरु गरिएको वीरगन्ज क्षेत्रमा २९ वटा सरकारी कार्यालय भवनसहित १२ सय भन्दा धेरै निजी संरचना पर्छन्।

वीरगन्जमा सडक विस्तार गर्न सर्वोच्च अदालतले २०८१ फागुन २८ गते नै सरकारको पक्षमा आदेश दिएको थियो। त्यतिबेला अदालतले घरजग्गाधनीहरूको रिट खारेज गर्दै सडक विस्तारको लागि कानुनी बाटो खोलिदिएको थियो। 

सडक डिभिजन कार्यालयका इन्जिनियर भोला साहले सर्वोच्च अदालतको फैसला र सङ्घीय सरकारको निर्देशनअनुसार नै अतिक्रमित संरचना भत्काउन सुरु गरिएको बताए। ‘मापदण्ड विपरितका घर टहरा भत्काउन पटक–पटक सूचना जारी गरेको थियौँ, तर अटेर गरेपछि एक्जाभेटर लगाएर भत्काउन थालेका हौँ’, उनले भने, ‘यसले सडक विस्तार अभियानलाई अघि बढाउन सहज हुनेछ।’ 

तर वीरगञ्जको मुख्य सडकमा घरटहरा रहेका घरधनी, व्यापारी तथा व्यवसायीले भने स्थानीय प्रशासनले १२ घण्टाभन्दा छोटो सूचना दिएर घरखाली गर्न निर्देशन दिँदा समस्या भएको गुनासो गरेका छन्। 

घन्टाघर निवासी कन्हैयालाल केशरीले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नका लागि भत्काउने विषयमा कुनै पनि गुनासो नभए पनि पर्याप्त समय नदिएकाले समस्या भएको बताए। ‘घर तथा पसल खाली गर्नका लागि कम्तीमा एक साताको समय दिएको हामी स्वस्फूर्त सरसमान हटाउने मौका पाउने थियौँ’, उनले भने। 

वीरगञ्ज महानगरका नगर प्रहरी प्रमुख हरि भुसालले आइतबार बिहानदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नगर प्रहरीको कडा सुरक्षा निगरानीमा अतिक्रमित संरचना भत्काइएको जानकारी दिए। 

बिहानैदेखि मुख्य सडक खण्डमा संरचना भत्काइएपछि आइतबार दिउँसो १२ः३० बजेसम्म वीरगन्जमा बिजुली तथा इन्टरनेट सेवा अवरुद्ध भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad