ad ad

समाज


शिक्षण अस्पतालका ३८ जना क्वारेन्टिनमा, १३ डाक्टर घरमै बस्ने

शिक्षण अस्पतालका ३८ जना क्वारेन्टिनमा, १३ डाक्टर घरमै बस्ने

नेपालखबर
जेठ १, २०७७ बिहिबार ८:३८,

अस्पतालमा भर्ना भएकी एक बालिकामा कोरोना संक्रमण देखिएपछि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका ३८ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखिएको छ। 

घाँटीको समस्याका कारण दुई दिनपहिले भर्ना भएकी कपिलवस्तुकी ६ वर्षीया बालिकामा बिहीबार कोरोना पुष्टि भएको हो।

उनलाई कोरोना देखिएसँगै उनको उपचारमा संलग्न र उनको सम्पर्कमा रहेका स्वास्थ्यकर्मी र त्यहाँस्थित कर्मचारीको पनि कोरोना परीक्षण गर्न लागिएको हो।

३८ जनामध्ये १३ जना डाक्टर भने आ–आफ्नै घरमै क्वारेन्टिनमा बस्ने भएका छन्।

‘१३ जना डाक्टरहरुले घरमै छुट्टै बस्छौं भन्नु भएको छ, उहाँहरु घरमा बस्नुहुन्छ, बाँकी नर्सहरु र कर्मचारीलाई अस्पतालकै क्वारेन्टिनमा राख्छौं,’ शिक्षण अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले नेपालखबरसँग भने।

सोही वार्डमा रहेका ४ जना बिरामी र उनीहरुका आफन्तको पनि कोरोना परीक्षण गरिने भएको छ। स्वास्थ्यकर्मीसहित ७८ जनाको स्वाब संकलन गरी परीक्षणको तयारी भएको डा. दासले बताए।

शिक्षण अस्पतालले गणेशमान भवनलाई कोरोना संक्रमितको उपचारका लागि छुट्याएको छ। अहिले बालिका रहेको वार्डका सबै बिरामीलाई त्यहीँ सारिएको छ।

शिक्षण अस्पतालमा ६० वटा वेड कोरोना संक्रमितको लागि छुट्याइएको छ। बिरामीहरुलाई अन्यत्र सारिए पनि अस्पताल सील गर्नु पर्ने अवस्था नरहेको डा. दासले नेपालखबरलाई बताए।

कपिलबस्तु जिल्लाको कपिलवस्तु वाणगंगाकी बालिकालाई स्वासनलीमा समस्या देखिएपछि उनकी आमा र हजुरवुवाले काठमाडौं ल्याएका थिए।

त्रिवि शिक्षण अस्पतालको नाक, कान, घाँटी विभागमा भर्ना भएकी उनको न्यूरोसर्जरी वार्डमा उपचार गरिएको थियो।

शिक्षण अस्पतालका अनुसार ती बालिकाको हाल आइसोलेसन क्याबिनमा उपचार भइरहेको छ। बालिकासँग सम्पर्कमा रहेका व्यक्तिहरु क्वारेन्टिन वा सेल्फआइसोलेसनमा बस्नुपर्ने र बाँकी स्वास्थ्यकर्मीहरुले आफ्नो नियमित कार्य गर्नुपर्ने अस्पतालले जनाएको छ।

‘यदि प्राथमिक कन्ट्याक्टमा संक्रमण देखिएमा सेकेन्डरी कन्ट्याक्टमा रहेका हरुको कन्ट्याक्ट ट्रेसिङ र पीसीआर परीक्षणको व्यवस्था गरिनेछ,’ शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाद्वारा जारी सूचनामा भनिएको छ। ‘हाललाई इलेक्टिभ सर्जरीहरु नगर्न पनि अनुरोध गर्दछौं तथा इमर्जेन्सी सर्जरी गर्दा आवश्यक पीपीई लगाएर मात्र गर्नुहुन अनुरोध गरिन्छ।’

बालिकाका बाबु रोजगारीका लागि भारतमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .