सदर चिडियाघरमा २०७४ असोजदेखि शरणार्थी जीवन बिताईरहेका एकजोडी चिम्पान्जी चिम्पु–चम्पालाई काठमाडौं जिल्ला अदालतले मुद्दा दर्ता भएको १९ महिनापछि लिखित रुपमा उनीहरु ‘चिम्पान्जी’ प्रजातीको भएको प्रमाणित गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरोकाे अनुसन्धान प्रतिवेदनपछि जिल्ला वन कार्यालय काठमाडाैंले सरकारी वकिल मार्फत २०७४ मंसिर २९ मा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।
ब्युरोले संगठित अपराधमा दुई महिना लामो अनुसन्धानमा चिम्पु–चम्पा नामाकरण गरेर दुबैको जन्मस्थान देखि तस्करीगरि काठमाडौं आईपुगेको प्रमाण पेश गरेको थियो।
न्यायाधीश अम्बरराज पौडेलले जेठ २९ मा विशेषज्ञ बुझ्ने आदेश गरेका थिए। उनको आदेश अनुसार नेपाली विज्ञहरुले चिम्पु–चम्पालाई चिम्पान्जी भएको लिखित गरेको अदालतका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले बताए। उनका अनुसार असार ३१ का लागि अर्को पेशी तोकिएको छ। यो चिम्पु–चम्पाको मुद्दामा तोकिएको १६ औं पेशी हुनेछ।
‘उनीहरु चिम्पान्जी हुन कि होइनन भनेर विशेषज्ञसँग बुझ्ने काम भयो,’ श्रेष्तेदार श्रेष्ठले मंगलबार नेपालखबरसँग भने ‘विज्ञहरुले चिम्पान्जी नै भएको प्रमाणित गरिदिनु भएको छ।’ उनका अनुसार अदालत अब फैसलाको चरणमा पुगेको छ।
तत्कालिन न्यायाधीश राजेन्द्र नेपालले २०७५ असार ३१ मा साक्षी बुझ्ने आदेश गरेका थिए। त्यसपछि न्यायाधीश अम्बरराज पौडेलको इजलासमा चिम्पु–चम्पाको मुद्दाको न्याय सम्पादन भइरहेको हो।
नाइजेरियाको जंगलबाट तस्करहरूले बलजफ्ती पक्रेर काठमाडौं ल्याएका चिम्पु र चम्पा घर फर्कने कि नर्फकने भन्ने बिषय समेत अदालतबाट फैसला नहुँदा रोकिएको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपाल भट्टराई वन मन्त्रालयको आदेशमा चिम्पु र चम्पालाई स्याहारका साथ सदर चिडियाघरमा राखिएको बताउछन्। उनले चिम्पु–चम्पा दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी नेपालखबरलाई दिए।
‘दुबै रमाएर सकुशल चिडियाघरमा बसिरहेका छन’ भट्टराईले नेपालखबरलाई भने ‘अन्तर्राष्ट्रिय निकायबाट पनि केही जानकारी आएको छैन।’
उपमहानिर्देशक भट्टराईले चिम्पु–चम्पालाई उनीहरुकै जन्मस्थानमा फिर्ता पठाउने कि नेपालमै राख्ने बिषय समेत अदालतको फैसलापछि निर्णय हुने बताए।
‘दुबैलाई यही राख्ने कि फिर्ता पठाउने बिषय फैसलापछि निर्णय हुनेछ,’ उनले भने ‘नाईजेरियाबाट माग भएमा फिर्ता पठाउने छौं, अन्यथा यही बस्नेछन्।’ उपमहानिर्देशक भट्टराईले नेपालमा राख्न सके यहाँ पनि चिम्पान्जी हेर्न र अध्ययन अनुसन्धानमा सजिलो हुनेछ।
नेपालको एकमात्र सदर चिडियाघरमा विक्रम संम्बत २०२८ मा चिम्पान्जीका एकजोडी राखिएको थियो। उनीहरुको मृत्यु पछि सदर चिडियाघरमा सर्वसाधारणले चिम्पान्जी हेर्न पाएका छैनन्।
चिडियाघरको वातानुकुलित वातावरणमा चिम्पु–चम्पा
चिडियाघरका वरिष्ठ क्युरेटरहरु गणेश कोइराला र रचना साहको प्रत्यक्ष निगरानीमा रहने क्वारेन्टाइनमा चिम्पु र चम्पालाई राखिएको छ। दुबैका लागि फराकिलो कोठामा खेल्ने र अर्को कोठामा एयर कन्डिसन जडान गरिएको छ।
दैनिक दुध र फलफुल खाने चिम्पु र चम्पाको तौल समेत बढेको छ। सदर चिडियाघरले १५ दिनअघि विभागमा पठाएको विवरण अनुसार चिम्पु १२ किलो र चम्पा १३ किलो तौलका भएका छन्।
विभागका अनुसार दुबैलाई दुध सहित स्याउ, केरा, सुन्तला र मौसमी लगायतका खाना नियमित दिने गरिएको छ।
दुधे अवस्थामै यसरी काठमाडौं आईपुगे चिम्पु–चम्पा
जंगलमा भर्खरै हुर्कंदै गरेका दुई अवोध बालक चिम्पान्जीलाई नाइजेरियाको जंगलमा तस्करहरुले समाते। बन्धक बनाए। काठको बाकसमा राखे। करिब ३० घन्टासम्म विमानमा उडाएर काठमाडौं ल्याए। यहाँसम्म आइपुग्दा उनीहरुले ८ हजार १ सय ६ किलोमिटर दुरी पार गरे। टर्किस एयरलाइन्सको विमानबाट काठमाडौं अवतरण गरेका उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कक्ष र पशु क्वारेन्टाइनका अधिकारीहरुले देखेन्न्। तस्करसँगको सेटिङगका कारण गैरकानुनी रूपमा नेपाल भित्राईएका दुर्लभ जनावर र पन्छी सजिलै भित्रिए।
विमानस्थलबाट बाहिरिएका बाकसहरु सोझै बाँसबारी सल्लाघारीमा रहेको सञ्जिव भारीको घरमा पुगे। बासकमा एकजोडी दुर्लभ चिम्पाञ्जीसहित, बाँदर, गोल्डेन फेजन चरा, रिङ्नेट फेजन चरा, परेवा र सुगा थिए।
जीवित बन्यजन्तुको अन्तर्राष्ट्रिय तस्कर समुह केही दिनमै काठमाडौंबाट स्थलमार्ग हुँदै ‘बाकस’ भारत पठाउने तयारीमा थियो। तर त्यसअघि केन्द«ीय अनुसन्धान ब्युरोले छापा मा¥यो। ब्युरोले २०७४ असोज ३१ मा भारीको घरमा छापा मार्दै तत्काल तस्कर समुहका ६ जना पक्राउ गरेको थियो।
ब्युरोको बयानमा आरोपीहरुले चिम्पान्जी र अन्य पशुपन्छी नाइजेरियाबाट पाकिस्तान हुँदै काठमाडौं ल्याइएको हो। नाइजेरिया, पाकिस्तान र नेपालका चेकजाँच अधिकारीसँगको सेटिङमा यो सम्भव भएको थियो।
ब्युरोले घरधनी भारीसहित भारत बिहार घरभई स्वयम्भु बस्ने मोहम्मद उष्मान, मोहम्मद फईमर, चांदबाबू मोहम्मद शरीफ सहीदलाई पक्राउ गरेको थियो। उनीहरुको बयानले भन्सार एजेन्ट राजकुमार तिवारी र पाकिस्तान कराँचीका जावेद अस्लाम खान ब्युरोको फन्दामा परेका थिए।
अदालतमा चलखेलको आशंका लन्डनबाट फोन
२०७४ पुसको पहिलो साता थुनछेक भएको मुद्दा २०७५ असार २१ देखि काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ। वनले बुझाएको मुद्दामा असार २१ बाट अदालती प्रक्रिया सुरु भएको थियो।
न्यायाधीश राजेन्द्र नेपालको इजलासले साक्षी बुझेको थियो। त्यसपछि तीनपटक विभिन्न मितिमा मुद्दा सरकारी वकिलबाट स्थगित भएको छ। एकपटक प्रतिवादीका कानून व्यवसायीले स्थगित गरेको मुद्दामा मंसिर १८ र १९ मा बहस भएको थियो।
काठमाडौं जिल्ला अदालतमा २०७४ पुस ६ गते भएको थुनछेक बहसले प्रतिवादीहरु सञ्जिव भारी, राजकुमार तिवारी, मोहम्मद उस्मान, चांदबाबू मोहम्मद शरीफ सहीद, मोहम्मद फईम र जावेद अस्लाम खानलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश गरेको थियो। उनीहरु जगन्नाथ देवल सुन्धारा कारागारमा छन्।
अन्य प्रतिवादीहरु चुडामणि दाहाल र धिरेन्द्रबहादुर शाहलाई जनही दुई लाख पचास हजार र आशुतोष राईलाई पाँच लाख धरौटी माग भएको थियो। यस्तै राज कुमार तिवारी उच्च अदालत पाटनको आदेशले ५ लाख धरौटी बुझाएर छुटेका थिए।
तीन देशका २० प्रतिवादी
ब्युरोले थालेको अनुसन्धानमा तत्काल सञ्जिव भारी, राजकुमार तिवारी, मोहम्मद उस्मान, चाँदबाबू मोहम्मद शरीफ सहीद, मोहम्मद फईम र जावेद अस्लाम खान पक्राउ परेका थिए। यी ६ जनाको बयानले २०७४ कार्तिक २९ चुडामणि दाहाल र सोही वर्ष मंसिर ६ मा धिरेन्द्रबहादुर शाह पक्राउ परे। दुवैजना भन्सार कर्मचारी हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा आएका सामानहरुको चेकजाँच गर्ने तथा चिम्पान्जी आएका बाकसको सतही रुपमा चेक गरी भन्सार एजेन्ट राजकुमार तिवारीसँग मिलेर सामान पास गर्ने काम चुडामणि दाहालको थियो। यस्तै पशु क्वारेन्टाइन कार्यालय काठमाडौंमा पशु स्वास्थ्य प्राविधिक धीरेन्द्रबहादुर शाहले चिम्पान्जी समेतका सामानहरु आएको समयमा ड्युटीमा रहे पनि पशु क्वारेन्टाइन चेकजाँच नगरी पशु क्वारेन्टाईनको पत्र भन्सार एजेन्ट राजकुमार तिवारीलाई उपलब्ध गराएका थिए। यसमा आशुतोष राईको भूमिका मुख्य थियो।
प्रहरी कारवाहीमा त्यसपछि एकपछि अर्को गर्दै भन्सार एजेन्ट र सरकारी अधिकारी तानिए। ब्युरोले भन्सार एजेन्टहरु राजेशकुमार बैद्य र उदयसिह बिष्ट पनि नियन्त्रणमा लियो।
त्रिभुवन बिमानस्थल भन्सार कार्यालय काठमाडौंमा कार्यरत भन्सार अधिकृत नवराज चौलागाईं र उदयसिंह बिष्ट कारवाहीमा तानिए। भन्सारकै नायव सुब्बा लिला देवी पनेरू, प्रकाश गौतम, पार्वता पोखरेल, तुलसीराम बस्याल, बसन्तराज ढकाल, कम्प्युटर अपरेटर विष्णुप्रसाद अर्याल र कार्यालय सहयोगी प्रल्हादबहादुर खड्का तस्करीमा प्रत्यक्ष सहयोगी देखिए। प्रहरीले नेपाल वायुसेवा निगममा स्थायी लोडर गणेश बहादुर खतिवडासहित २० जनालाई प्रतिवादी कायम गरेको छ।
याे पनि: चिम्पु–चम्पा तस्करी प्रकरणः लन्डनको कलपछि प्रधानमन्त्री कार्यालय ‘अलर्ट’
प्रतिक्रिया