आज (मंगलबार) देशका विभिन्न स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले बिहान भने कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भेगमा मौसम साधारणतया बदली छ भने कोसी प्रदेशलागायत बाँकी प्रदेशका पहाडी र हिमाली भूभागमा आंशिक बदली छ। अनि तराईका केही स्थान तथा उपत्यकाहरूमा हुस्सु/कुहिरो लागेको छ।
दिउँसो र राति मौसम कस्तो होला त?
हेर्नुहोस् मौसम महाशाखाले जारी गरेको प्रक्षेपण:
दिउँसो : देशका पहाडी र हिमाली भूभागमा मौसम साधारणतया बदली लाग्नेछ र बाँकी स्थानमा आंशिक बदली हुनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपात/वर्षा तथा बाँकी हिमाली भूभागका थोरै स्थानमा मध्यम हिमपात/वर्षाको सम्भावना छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा कोसी, बागमती र लुम्बिनी प्रदेशका उच्च पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
राति : देशका हिमाली भूभागमा साधारणतया बदली हुनेछ र गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुनेछ र बाँकी तराईका भूभागमा मौसम मुख्यतया सफा छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मध्यम हिमपात/वर्षाको सम्भावना छ।
योसँगै मौसम महाशाखाले चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ, ‘सबै हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेकाले ती भूभागमा चिसो बढ्ने तथा दैनिक जनजीवन, पर्यटन, पदयात्रा, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने देखिएकाले यस महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुन अनुरोध छ। ’
Shares

प्रतिक्रिया