समाज


जेनजी आन्दोलनमा हिरासतबाट भागेपछि समूह बनाएरै लुटपाट, १० जना पक्राउ

जेनजी आन्दोलनमा हिरासतबाट भागेपछि समूह बनाएरै लुटपाट, १० जना पक्राउ

नेपालखबर
माघ १५, २०८२ बिहिबार १८:१, काठमाडौँ

प्रहरीले काठमाडौँमा रातको समयमा लुटपाट र आतंक मच्चाउने १० जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो।

प्रहरीले बुधबारदेखि सर्च अपरेसन चलाएर उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले जानकारी दिए। 

उनीहरूले जेन–जी आन्दोलनपछि राति १२ बजेपछि बिहान ४ बजेसम्मको समयमा हिँड्ने व्यक्तिहरूलाई लक्षित गरेर लुटपाट गर्ने गरेको थापाले बताए। लुटपाट गर्ने गिरोहको नाइके विनय तामाङ रहेको उनले जानकारी दिए। एसएसपी थापाका अनुसार तामाङ जेन–जी आन्दोलन अगाडी पनि बूढानीलकण्ठ क्षेत्रमा चोरी गरेको आरोपमा पक्राउ परी महाराजगञ्ज प्रहरीको हिरासतमा थिए। 

भदौ २४ मा उनी हिरासतबाट भागेका थिए। हिरासतबाट भागेपछि समूह बनाएर विभिन्न ठाउँमा लुटपाट गर्ने गिरोह गठन गरेर सक्रिय भएको उनले बताए। बुधबार साँझदेखि बिहीबार बिहानसम्म सञ्चालन गरेको सर्च अपरेसनमार्फत उनीहरूलाई पक्राउ गरी कारबाहीको प्रक्रिया अगाडी बढाएको एसएसपी जानकारी दिए। 

पक्राउको क्रममा दोहोरो झडप हुँदा प्रहरी र विनय तामाङ घाइते भएका छन्। हालसम्म उक्त गिरोहले स्वयम्भूमा ७ वटा, महाराजगञ्ज तथा बूढानिलकण्ठ क्षेत्र, बौद्ध क्षेत्र र गौशाला क्षेत्रमा ३/३ वटा र ठिमीको क्षेत्रमा १३ वटा लुटपाट गरेको अनुसन्धानबाट खुलेको उनले जानकारी दिए। उनीहरू विरुद्ध हालसम्म २७ वटा जाहेरी आएका छन्। 

पक्राउ पर्नेमा विनयसँगै आयन माझी, मनिस रसाईली, सविन माझी, पेमा तामाङ, सलोन तामाङ, राजीव भण्डारी, विशाल तामाङ, विदुर विश्वकर्मा, फुर्वा तामाङ रहेका छन्। उनीहरुबाट प्रहरीले ३ वटा मोटर साइकल, एउटा ट्याक्सी तथा सुनका गरगहना तथा नगद रुपैयाँ बरामद गरेको छ।

प्रहरीकाअनुसार पक्राउ परेका सबै जना विगतमा पनि चोरी र डाका मुद्दामा पक्राउ परेका व्यक्तिहरु रहेका छन्। महिलाहरूको कानको गहना लुस्ने र एकान्तमा मानिसहरूलाई लुटेर उनीहरू मोटरसाइकलमा भाग्ने गरेका थिए। लुटपाटमा संलग्नहरु काभ्रे, रामेछाप र सिन्धुली क्षेत्रका रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad