ad ad

समाज


शिक्षकको कुटपिटबाट कञ्चनपुरमा एक विद्यार्थीको मृत्यु, चार शिक्षक पक्राउ

 शिक्षकको कुटपिटबाट कञ्चनपुरमा एक विद्यार्थीको मृत्यु, चार शिक्षक पक्राउ

नेपालखबर
असार २५, २०७६ बुधबार ३:४४,

कञ्चनपुरमा शिक्षकको कुटपिटबाट एक विद्यार्थीको मृत्यु भएको छ।

भीमदत्त नगरपालिका–१७ माझगाउँस्थित महाकाली बाल विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्र माधव कलौनीको गयराती उपचारको क्रममा भारतको राममुर्ती अस्पतालमा मृत्यु भएको हो।

बालकको मृत्युपछि कुटपिटमा संलग्न चार शिक्षकलाई प्रहरीले आज (बुधबार) बिहान पक्राउ गरेको छ।

बालकको मृत्यु भएको घटना सार्वजनिक भएपछि विद्यालयका प्रिन्सिपल यशोदा जोशी, शिक्षकहरु दुर्गादत्त पाठक, लक्ष्मण भट्ट र हर्क जाग्रीलाई पक्राउ गरिएको कञ्चनपुरका प्रहरी प्रमुख एसपी जनकराज पाण्डेले जानकारी दिए।

१३ असारमै बालकलाई शिक्षकले कुटपिट गरेका थिए।

कुटपिटबाट गम्भीर घाइते भएका बालकलाई सुरुमा डडेल्धुराको उपक्षेत्रीय अस्पताल, नेपालगन्जको शिक्षण अस्पताल हुँदै तीनदिन अघि मात्रै उपचारका लागि भारत लगिएको मृतकका मामा पुष्पमणी जोशीले बताए।

विद्यालय बाहिर साथीभाईसँग झगडा गरेको विषयलाई लिएर शिक्षकहरुले उनीमाथि कुटपिट गरेका मृतक बालकका बुवा बृरस्पती कलौनीको भनाई छ।

बालकलाई शिक्षकहरुले कुटपिट गरेको विषयमा अभिभावकले १८ असारमै प्रहरीमा उजुरी दिएका थिए। तर, प्रहरीले आरोपी शिक्षकलाई पक्राउ गरेको थिएन।

‘उजुरीपछि पीडित पक्षका कोही पनि सम्पर्कमा नआएकाले आरोपी शिक्षकलाई त्यतिबेलै पक्राउ नगरेका हौँ,’ एसपी पाण्डेले नेपालखबरसँग भने, ‘घाइते बालकको उपचारका क्रममा मृत्यु भएको जानकारी पाउँने वित्तिकै आज बिहानै चार शिक्षकलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेका छौँ।’

कुटपिटबाट कलौनीको दायाँ खुट्टा भाँचिनुका साथै टाउको र छातीमासमेत गहिरो चोट लागेको थियो।

‘छोरालाई शिक्षकले विद्यालयमै सामुहिक रुपमा कुटपिट गरेका रहेछन्, मृतक बालकका बुवा बृहस्पतीले भने, ‘असार १५ गते प्रिन्सिपल जोशीले फोन गरेर विद्यालयमा बोलाएपछि मैले छोरालाई जिम्मा लिएर उपचारमा लगेको हुँ।’

बालकलाई डडेल्धुराको उपक्षेत्रीय अस्पतालमा खुट्टामा प्लास्टर गरेर थप उपचारका लागि भारत लगिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .