समाज


दोलखा र जुम्लाको तापक्रम माइनसमा

दोलखा र जुम्लाको तापक्रम माइनसमा

नेपालखबर
मंसिर १७, २०८२ बुधबार २१:५६, काठमाडौँ

नेपालमा क्रमशः चिसो बढ्दै गइरहेका बेला आज दुई वटा जिल्लाको न्यूनतम तापक्रम माइनसमा झरेको छ। 
    
जल तथा मौसम विज्ञान विभागका अनुसार केही दिनदेखि जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेकामा आज दोलखास्थित जिरीको तापक्रम पनि माइनसमा झरेको छ। 

विभागमा आज साँझ रेकर्ड भएको अभिलेखअनुसार जुम्लामा न्यूनतम तापक्रम माइनस ५ दशमलव २ डिग्री र दोलखाको जिरीमा न्यूनतम तापक्रम माइनस शून्य दशमलव १ मा झरेको छ। जाडो सिजन लागिसकेको र चिसो बढ्ने क्रममा रहेको विभागले जानकारी दिएको छ। 

विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार हिजो अस्ती जुम्लाको न्यनतम तापक्रम माइनस २ देखि ३ सम्म रहेकामा आज तापक्रम घटेर माइनस ५ दशमलव २ मा पुगेको हो। 

पछिल्लो एक/दुई दिनमा राति बादल भएकाले बढी चिसो महसुस भएको छ। दिउँसोमा भने धेरैजसो स्थानमा घाम लाग्दा न्यानो महसुस हुने गरेको छ। आज पनि काठमाडौँ उपत्यकालगायत ठाउँमा बिहानभर बादल लागेर चिसो महसुस गराएको उनले बताए। 

‘रातिमा बदली हुँदै र दिन बढ्दै जाँदा खुल्दै गइरहेको छ । उपत्यका र तराईमा वायुप्रदूषण पनि रहेको छ’, मौसमविद् झाले भने, ‘जनवरीमा अझ तापक्रम घट्दै जानेछ, अहिले बङ्गलाको खाडीमा बनेको न्यूनचापीय प्रणालीले असर गरेको छ। अलीअली पाकिस्तान क्षेत्रमा पनि न्यूनचापीय क्षेत्रका कारण पश्चिमी वायु पनि बन्दैछ। त्यसले पनि असर गरिरहेको छ।’

विभागको विवरणमा काठमाडौँमा न्यूनतम तापक्रम ८ दशमलव ५ रहेको छ। नेपालगञ्जमा न्यूनतम तापक्रम १२ रहेको छ। पोखरामा न्यूनतम तापक्रम ११, भैरहवामा १३, जनकपुरमा न्यूनतम तापक्रम १२ डिग्री रहेको छ। यस्तै, ताप्लेजुङमा न्यूनतम तापक्रम ९ डिग्री रहेको छ भने जुम्लामा न्यूनतम तापक्रम माइनस ५ दशमलव २ डिग्री रहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad