समाज


जेनजी र प्रशासनबीच बाराको पथलैयामा वार्ता

जेनजी र प्रशासनबीच बाराको पथलैयामा वार्ता

नेपालखबर
मंसिर ५, २०८२ शुक्रबार १५:१०, काठमाडौँ

तीन दिनदेखि आन्दोलनमा उत्रिएका जेनजी र स्थानीय प्रशासनबीच वार्ता हुने भएको छ। बुधबार सिमरामा एमालेविरुद्ध प्रदर्शनमा उत्रिएका जेनजीलाई एमाले कार्यकर्ताले कुटपिट गरेको भन्दै जेनजीले प्रदर्शन गरिरहेका थिए। 

कुटपिटमा संलग्न रहेका मध्ये दुई जना वडाध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। कुटपिटमा संलग्न तीन जना पक्राउ परे पनि वार्ता कहाँ गर्ने भन्ने विषयमा दुई पक्षको यसअघि कुरा मिल्न सकेको थिएन।

प्रशासनले सदरमुकाम कलैयामा र जेनजीले सिमरामा वार्ता गर्नु पर्ने बताउँदै आएका थिए। दुवै ठाउँमा नगरी पथलैयाको सशस्त्र प्रहरीको ब्यारेकमा वार्ता गर्ने सहमती भएको हो।

वार्ता ३ बजेपछि सुरु हुने बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले नेपालखबरलाई बताए। भट्टराईका अनुसार वार्ताका लागि बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, नेपाल प्रहरीका एसपी सन्तोष तामाङ, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख पनि पथलैयातर्फ गएका छन्। 

जेनजीको तर्फबाट सम्राट भन्ने साइकुश उपाध्याय लगायत सहभागी छन्। यस्तै वार्ताका लागि सहजीकरण गरेका जीतपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल पनि सहभागी भएका छन्। 

बुधबार बारा जान लागेका एमाले महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेस बस्नेतलाई अवरोध गर्न पुगेका जेनजीहरुलाई एमालेका कार्यकर्ताले कुटपिट गरेका थिए। कुटपिटमा संलग्न जितपुर सिमरा २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, ६ का वडाध्यक्ष कैमद्विन अन्सारी र स्थानीय एमाले कार्यकर्ता अरबिन्द साहलाई प्रहरीले पक्राउ गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad