युवा कथाकार सुरेश यक्सोद्वारा लिखित कथाकृति ‘पेनिबा’ आज एक समारोहबीच विमोचन गरिएको छ। मैयुङट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्र सभ्यता अन्वेषण केन्द्रद्वारा यहाँ आज आयोजित कार्यक्रममा उक्त कथासङ्ग्रह सार्वजनिक गरिएको हो।
सो अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तिलविक्रम नेम्बाङ (वैरागी काइँला) ले ‘पेनिबा’ आधुनिक नेपाली समाज र प्रवासी नेपालीको जीवन भोगाइको सशक्त प्रतिविम्ब भएको बताए। उनले भने, ‘सुरेश यक्सो केवल कथाकार मात्र होइनन्, उहाँ कवि र साहित्यिक अभियन्ता पनि हुनुहुन्छ। उहाँका कथाहरू सरल भाषामा लेखिएका छन्, तर ती कथाभित्र गहिरा भावना, संवेदना र मनोविज्ञान बगिरहेका हुन्छन्।’
पूर्वकुलपति नेम्वाङले धनकुटाको पहाडी भूगोल र जनजीवनसँग जोडिएको यक्सोको लेखन शैली नेपाली साहित्यमा मौलिक पहिचानका रूपमा स्थापित हुँदै गएको धारणा राखे।
उनले भने, ‘पेनिबा केवल कथासङ्ग्रह होइन, यो याकथुङ समुदायको सांस्कृतिक पहिचान बोकेको दस्तावेज पनि हो। यसमा गाउँको पुरानो जीवनशैली, मानवीय सम्बन्धको दूरी र आधुनिकताको प्रभावको चित्रण गरिएको छ।’
कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङले ‘पेनिबा’ नेपाली समाजको पहिचान र विविधताको दर्पण भएको बताए। उनले भने, ‘पेनिबाले नेपालीपनलाई पुनः अनुभूति गराउँछ। पेनिबा केवल मनोरञ्जनका लागि लेखिएको कथा होइन, यो हाम्रो समाजको आत्मपरक कथा हो।’
प्राज्ञ तथा वरिष्ठ कवि श्रवण मुकारुङले कथाकार सुरेश यक्सो नेपाली साहित्य क्षेत्रका उदीयमान र बहुप्रतिभाशाली युवा कथाकार भएको बताए। उनले भने, ‘पेनिबाले नेपाली साहित्यसहित देश विदेशको परिवेश झल्काएको छ।’
त्यसैगरी, लेखक तथा समालोचक डा तुलसी गौतम र कवि तथा कथाकार वीना थिङले उक्त कृतिको विषयवस्तु, शैली र संरचना सम्बन्धमा टिप्पणी गर्दै लेखकको सिर्जनशीलतालाई उच्च मूल्याङ्कन गरेका थिए। उनीहरूले ‘पेनिबा’ मा प्रेम, पीडा, सङ्घर्ष र पहिचानको खोजजस्ता विषयलाई सशक्त रूपमा प्रस्तुत गरिएको बताए।
सभ्यता अन्वेषण केन्द्रका अध्यक्ष शशी सुलुम्बुले कथाकार सुरेश यक्सोजस्ता नेपाली साहित्यमा नयाँ पुस्ताको योगदान महत्त्वपूर्ण रहेको बताइन्। उनले यस्ता सिर्जनात्मक प्रयासले नेपाली कथालेखनलाई नयाँ दिशातर्फ डो¥याउने विश्वास व्यक्त गरिन्।
कार्यक्रममा सांस्कृतिक विविधता झल्काउने च्याब्रुङ नृत्यसमेत प्रस्तुत गरिएको थियो। विमोचन समारोहमा साहित्य, कला, संस्कृति, शिक्षा र सुरक्षा क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो। रासस
Shares

प्रतिक्रिया