समाज


वन संरक्षणमा २० वर्ष खर्चिएका खुमबहादुर

वन संरक्षणमा २० वर्ष खर्चिएका खुमबहादुर

नेपालखबर
कात्तिक ८, २०८२ शनिबार २१:०, घोडाघोडी (कैलाली)

कैलाली मुलुकभरि सबैभन्दा बढी वन क्षेत्र भएको जिल्लामध्ये एक हो। धेरै वन क्षेत्रमध्ये कैलालीको भजनी नगरपालिका–२ मा अवस्थित राधाकृष्ण सामुदायिक वन ४४६ हेक्टर क्षेत्रफलमा फैलिएको छ।

सुन्दर हरियाली, ताल तलैयासँगै स्वच्छ वातावरण रहेको वनले हरेकको मन तान्छ। यहाँ पिकनिक खान, बोटमा चढ्न र प्रकृतिसँगै रमाउन आन्तरिक तथा बाह्य पर्यटक आउँछन्। यही हरियालीबीचमा एउटा अनुहार छ, जसले वन संरक्षणमा दुई दशकभन्दा बढी समय बिताएका छन्।

राधाकृष्ण सामुदायिक वनका अध्यक्ष खुमबहादुर खड्काले दुई दशकभन्दा बढी समय वनको संरक्षण, वनजन्य स्रोतको दिगो व्यवस्थापन र समुदायमा सचेतना फैलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। गाउँ, सहरमा मात्र नभएर जिल्लाभरि उनले वन संरक्षणमा पुर्याएको भूमिकाको चर्चा हुने गरेको छ।

उमेरले ७० वर्ष पार गरिसकेका खुमबहादुरले आफ्नो जीवनलाई प्रकृतिसँगको अनन्त सम्बन्धमा समर्पित गरिसकेका छन्। उनले जीवनको सुरुवातमा ड्राइभरको पेसा अपनाए। करिब २८ वर्षसम्म गाडी चलाएका उनले एक पटक डडेलधुरामा डिभिजन वन कार्यालय प्रमुख (डिएफओ)सँगको यात्राले जीवनको मार्ग बदलेको बताए।

'यात्रा गरिरहँदा रेडियोमा सामुदायिक वनको चर्चा चलिरहेको थियो। त्यही क्षणमा सामुदायिक वन भनेको के हो ? भनेर प्रश्नमा आएको उत्तरले वन संरक्षणप्रति चासो जागाएको हो', खुमबहादुरले भने।

विसं २०५० मा भजनीमा गाउँ विकास समितिमा सामुदायिक वनका लागि सहपाठीलाई निवेदन दर्ता गर्न भनी खुमबहादुर आफ्नो पेसाका लागि भजनी घरबाट धनगढी फर्किए। उनलाई बोलाउन उनका सहपाठी धनगढी पुगेपछि फर्किए। सुरुमा सल्लाहकारका रूपमा संलग्न भए। भजनी क्षेत्रभरिका अन्य वनमा खटिएको अनुभवले उनलाई थप जिम्मेवार र तयार बनायो।

विसं २०५८ मा खुमबहादुरको पहलमा राधाकृष्ण, पशुपति, माहोन्याल, पूर्वखरौटी, प्रगतिशील र वनदेवी सामुदायिक वन दर्ता भएका थिए। उनी राधाकृष्ण सामुदायिक वनको अध्यक्ष भए, त्यसपछि सुरु भयो खुमबहादुरको वन संरक्षणको यात्रा।

'गाउँ, टोलटोलमा गएर मानिसलाई वन संरक्षणको महत्त्व बुझाउने काम सजिलो थिएन। धेरैले पहिलो पटक वन संरक्षणको कुरा सुन्ने हुँदा शङ्का देखाउँथे। तर धैर्यता, सरलता र लगनशीलताले विश्वास दिलाउन सके सफल भइँदो रहेछ', खुमबहादुरले भने।

विसं २०५६ मा राधाकृष्ण सामुदायिक वनको प्रस्तावित अध्यक्ष भएका उनी २०५८ सालमा वन दर्ता भएपछि हालसम्म अध्यक्ष छन्। 'बीचमा दुई जना अध्यक्ष आउनुभएको थियो', उनले भने, 'तर गाउँलेले फेरी मलाई नै अध्यक्ष बनाउनुभयो।'

खड्काको जीवनमा चुनौती कम थिएनन्। 'सङ्कटकालको समयमा, अतिक्रमण हटाएको भन्दै माओवादीले कुटे, मर्यो भनेर छोडिदिए। त्यो दिन मेरो शरीरले सक्दैन जस्तो लाग्यो। सबै भागे तर म भागिनँ। मेरो जिम्मामा वन थियो, त्यसलाई छोड्न सकिनँ', उनले सम्झिए।

खुमबहादुरको दिनचर्या घरमा बित्दैन। उनलाई खोज्न परे वनमा जानुपर्छ। बर्सेनि वृक्षारोपण गर्ने, वन क्षेत्रमा निगरानी गर्ने र स्थानीय समुदायलाई वन संरक्षणमा संलग्न गराउने काम उहाँका लागि जीवनको अभिन्न हिस्सा बनेको छ। उनले भने, 'म पैसा कमाउन आएको थिएन, मनको सन्तुष्टि पाउन वनसँग जोडिएको हुँ।'

उनको योगदान केवल राधाकृष्ण सामुदायिक वनमा सीमित छैन। भजनी, लालबोझि, खैलाड, थापापुर र जोशीपुरका गाउँ–टोलमा पनि उनका प्रयासले समुदायलाई वन संरक्षणको महत्त्व बुझाएको छ। अहिले भजनीमा ४३ वटा सामुदायिक वन दर्ता भइसकेका छन्। यसका लागि खुमबहादुरको भूमिका अमूल्य रहेको स्थानीय बताउँछन्। गाउँले उनीसँग धेरै समय जङ्गलमा भेट्छन्। अतिथि आउँदा पनि जङ्गलमै लगेर खुमबहादुर वृक्षारोपण गराएका छन्।

स्थानीय अर्जुन सोवले भने, 'हामीले वन संरक्षणको महत्त्व उहाँबाटै बुझ्यौँ। उहाँ हाम्रो गुरु हो। उहाँ नभए वन यति सुरक्षित हुदैनथ्यो।' खुमबहादुरले वन संरक्षण र व्यवस्थापनका लागि विभिन्न पाटो अपनाएको उनको बुझाइ छ।

पानीको स्रोत र माटो संरक्षणका लागि निर्माण गरिएका स–साना बाँध, ढलान र तालले वनलाई अधिक जीवन्त बनाएका छन्। वृक्षारोपणमा मात्र होइन, वन्यजन्तुको संरक्षणमा पनि उनी अघि बढेका छन्। वनमा लोहटिवा ताल छ। तालमा वन्यजन्तु पानी खानका लागि आउने गर्दछन्।

ताललाई पर्यापर्यटनसँग पनि जोडिएको छ। जसलाई व्यवस्थापन गरी पिकनिकस्थल, बोटिङ सञ्चालन गरिएको छ। अतिक्रमण हटाइ व्यवस्थापन गरिएको ताल अहिले पर्यटकको नयाँ गन्तव्य बनेको छ। संरक्षणसँगै पर्यापर्यटनलाई अघि बढाइरहेको खुमबहादुरले बताए।

संरक्षणमा बिताएको उनको जीवनले अन्तरराष्ट्रिय ध्यान पनि खिच्यो। निरन्तर प्रयास र योगदानका कारण उनलाई सन् २००३ मा ‘अब्राहम अवार्ड’ प्रदान गरियो। त्यो पुरस्कारले उनको नाम मात्र होइन, गाउँ र देशलाई पनि गौरवान्वित बनाएको छ। पुरस्कारको दिनको सम्झना गर्दै उनले भने, 'त्यो मेरो व्यक्तिगत जित होइन, त्यो त हाम्रो वनको जित हो।'

खुमबहादुरसँग कुरा गर्दा उनको आँखामा वनप्रतिको माया स्पष्ट देखिन्छ। आज पनि राधाकृष्ण वनमा वृक्षारोपण, वृक्षको सुरक्षा, माटो संरक्षण र वन्यजन्तुको संरक्षणका कार्यक्रम खुमबहादुरको नेतृत्वमा सम्पन्न हुन्छ। उनको उमेर आराम गर्ने भइसकेको छ। उनले भने, 'जिन्दगीले मलाई वनसँग बाँधिदियो। जबसम्म सास छ, यो बन्धन छुट्दैन।'

उनले वन देखाउँदै भने, 'पहिले यो ठाउँ रुखविहीन थियो। तर आज हेर्नुस्, सबै फिर्ता आएका छन्।' उहाँका आँखामा गर्व झल्किन्छ, तर त्यो गर्वमा अहङ्कार छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad