पशुपति क्षेत्रस्थित गौरीघाटबाट गु्ह्येश्वरीसम्मको वाग्मती किनारमा छठ पर्वको तयारी सुरु भएको छ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वका लागि यस क्षेत्रमा छठीघाट निर्माण सुरु गरिएको हो। गुह्येश्वरी छठ समितिले यस क्षेत्रमा करिब २०० वटा घाट निर्माण गर्न लागेको छ।
बाँस ल्याएर छठघाट निर्माणका लागि काम धमाधम भइरहेको छ। समितिले यस क्षेत्रको नदीलाई सफा बनाउन थालेको छ। यस वर्ष कात्तिक १० गते सोमबार छठ पर्वको मुख्य दिन हो। त्यस दिन अस्ताउँदो सूर्यलाई पूजा अराधनासहित अर्घदान गरिन्छ। कात्तिक ११ गते मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ अन्त्य हुन्छ।
गुह्येश्वरी मन्दिर अघिको बाग्मतीबाट गौरीघाटसम्मको नदी किनारमा सिँगारेर छठ घाट बनाइँदै छ। छठपर्वमा उखुको लाँक्रा र केराको घरीसहित पूजा सामग्री लिएर भक्तजन नदी किनारमा बस्छन्। रातभर नदी किनारमा हालिएको पालमुनि जाग्राम बसेर बिहान उदाउँदो सूर्यलाई अर्घ दिइने समिति सदस्य चन्द्रकान्त यादवले बताए।
सोमबार बिहान स्नान गरी चोखोनितो गरेर बस्ने वर्तालुले मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिई छठ मनाएमा मनोकाङ्क्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्वास छ।
Shares

प्रतिक्रिया