समाज


आजदेखि नर्सहरूले कालोपट्टी बाँधेर काम गर्ने

आजदेखि नर्सहरूले कालोपट्टी बाँधेर काम गर्ने

नेपालखबर
कात्तिक ४, २०८२ मंगलबार १०:५६, काठमाडौँ

नेपाल नर्सिङ संघले तिहारमा पनि आन्दोलन जारी राख्ने भएको छ। 

जसअन्तर्गत आजदेखि निजी तथा सरकारी स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूले कालोपट्टी बाँधेर काम गर्ने स‌ंघले जनाएको छ। 

नर्सहरूको न्यूनतम तलब तथा पेसागत हकहितसम्बन्धी विभिन्न माग राखेर आन्दोलनरत नर्सिङ संघले चरणबद्ध विरोधका कार्यक्रम बनाएको छ। 

‘आइतबारको औपचारिक वार्ता तत्कालै निष्कर्षमा नपुगे पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अतिरिक्त स्वास्थ्य सचिव प्राडा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन साथै सातै प्रदेशमा अनुगमन समिति गठन गरेको विषयलाई स्वागत गर्दै नेपाल नर्सिङ संघ आफ्नो योजनाअनुसार विरोधका चरणबद्ध कार्यक्रम घोषणा गर्दछ। यस आन्दोलनबाट सर्वसाधरणको स्वास्थ्य सेवामा पर्न जाने असुविधाप्रति हामी क्षमा याचना गर्दछौँ। आन्दोलनबाट उत्पन्न परिणामको सम्पूर्ण जिम्मेवारी सरकार तथा सरोकारवाला निकायले बेहोर्नुपर्नेछ’, स‌ंघले भनेको छ। 

संघका अनुसार आज कात्तिक ४ देखि ११ गतेसम्म देशभरिका सम्पूर्ण अस्पताल तथा स्वास्थ्य शैक्षिक संस्थाहरूमा नर्सहरूले कालोपट्टी बाँधेर काम गर्नेछन्। अनि १२ देखि १८ गतेसम्म दिनको २ घण्टा बिहान १० देखि १२ बजेसम्म अत्यावश्यक सेवाबाहेकका नर्सिङ सेवा बन्द गरिनेछ। 

यसपछि मन्त्रालयले गठन गरेको कार्यदलको प्रतिवेदनअनुसार थप कार्यतालिका प्रकाशन गरिने संघले जनाएको छ।
नेपाल नर्सिङ संघले निजी तथा सरकारी स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूको न्यूनतम तलब सुविधा साथै अन्य पेसागत हकहितसम्बन्धी विभिन्न मागहरू राखेर २०८२ वैशाख २५ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ज्ञापनपत्र पेस गरेको थियो। यस विषयमा २०८२ असोज ३१ गते मन्त्रालयको पहलमा पहिलोपटक सरोकारवाला पक्षसँग छलफल भएको थियो।

यसपछि यही कात्तिक २ गते आइतबार सम्पूर्ण सरोकारवालासहितको बृहत् बैठकमा संघले १५ बुँदे मागसहित आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad